६ बैशाख २०८१, बिहीबार

‘मायालु डाँडा’ मा बढ्न थाल्यो युवा पुस्ताको भिड

म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि लोभलाग्दो गन्तव्यस्थल बन्दै गएको म्याग्दीको ‘मायाँलु डाँडा’ मा ‘हरियाली पार्क’  निर्माण भएको छ । सरदरमुकाम बेनी बजारसंगै जोडिएको बेनी नगरपालिका २ खबराको लभ्लिहिल (मायालु डाँडा) मा डिभिजन बन कार्यालय म्याग्दीको १२ लाखको लगानीमा हरियाली पार्क निर्माण गरिएको पार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए ।

पार्कमा कपुर,पोनोकस्ताम,लण्डन धुपी र गोल्डेन धुपी गरी ४ प्रजातीका ५४ ओटा विरुवाहरु रोपिएको छ । गत माघदेखि लभ्लीहिल (मायालु डाँडा)  मा पार्क निर्माण शुरु गरिएको थियो  । डेढ रोपनी भन्दा बढि क्षेत्रफलको जग्गामा निर्माण गरिएको सो पार्क यस क्षेत्रकै सवैभन्दा सुन्दर र बालबालिका, युवायुवती र वृद्धवृद्धाका लागि अलग अलग विश्राम स्थल रहेको निर्माण समितिका अध्यक्ष घिमिरेले बताए । घिमिरेका अनुसार पार्कको सुरक्षाका लागि वरीपरी ३० मिटर लम्वाइको पक्की पर्खाल समेत निर्माण गरिएको छ ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको मायाँलु डाँडामा पार्क निर्माण भएपछि पर्यटकको संख्यामा उल्लेख्य बृद्धिहुने निश्चित रहेको स्थानीय बुद्धिजीवि धु्रबलाल कार्कीले बताए । सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्लीहिल) मा हिजोआज म्याग्दीका मात्रै होइन देशका विभिन्न जिल्लाबाटका आएका व्यक्तिहरुका साथै विदेशीहरुको समेत भीड लाग्न थालेको छ ।

लभ्लीहिलमा रेलिङ, गोलघर, खाजाघर लगाएतका पूर्वाधारहरु निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढ्दै गएको हो ।  साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

स–साना बालबालिकादेखि पाका उमेरका मानिसहरु लभ्लीहिलमा पुग्ने गरेका छन्। । लभ्लीहिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई नियाल्दै फोटो खिच्न, चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा खासगरी तन्नेरीहरु पुग्ने गर्छन्। ।

पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह–समूह बनाएर दैनिक रुपमा युवा पुस्ताहरु पुग्ने गरेका छन्।  सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने विदाको समय र शनिबारको दिन बढि भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवतीहरु लभ्लीहिलमा देखिन्छन्।

प्रवासी म्याग्देलीहरुलाई साझेदार बनाएर नयाँ अवधारणा अनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताए ।

लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।

बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ । केही वर्षयता लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरुले माग गरेका छन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्