७ बैशाख २०८१, शुक्रबार

सडक दस्तुरमा मनपरी

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको औद्योगिक क्षेत्रमा रहेको सडक बोर्डले अवैधानिक रूपमा सडक दस्तुर उठाउने गरेको खुलेको छ । देवदहका बासिन्दाहरूको आन्दोलनपछि सार्वजनिक गरिएको सम्झौतापत्रमा स्थानीय बासिन्दालाई मोटरसाइकलमा लिने शुल्क मिनाहा गर्ने उल्लेख गरेको पाइएको छ ।

सडक दस्तुरको लागि गरिएको ठेक्कामा ठेकेदारले सडक बोर्डसँग गरेको सम्झौता लुकाएर स्थानीयसँग सम्झौताविपरीत रकम असुल्दै आएका थिए । सडक दस्तुर उठाउने गरी ठेक्का लिएको सुनकोशी कन्स्ट्रक्सन नेपालले सम्झौता पत्र लुकाएर स्थानीयसँग रकम असुल्ने गरेपछि देवदहवासीले आन्दोलन गरेका थिए ।

सरकारी जागिर तथा पेशा व्यवसायको लागि दैनिक रूपमा देवदह(बुटवल गर्नुपर्ने भए पनि आवतजावत गर्दा चर्को सडक दस्तुर बुझाउनु परेको भन्दै उनीहरूले आन्दोलन गरेका थिए ।आफूहरूले पटक पटक सम्झौताको प्रति माग गर्दा व्यवसायीले सम्झौता पत्र नदिएका कारण जिल्ला प्रशासन कार्यालयमार्फत सम्झौतापत्र माग गरेर अध्ययन गरेको उक्त आन्दोलनका अभियान्ता सिद्धिचरण भट्टराईले बताए ।

‘हामीले सम्झौतापत्र हेर्न माग गर्दा दिइएन पछि जालझेल गरेर सर्तबिनाका सम्झौतापत्र देखाउने प्रयत्न भयो, हामीले सम्झौताका सबै पृष्ठ नहेरी नमानेपछि बल्ल सम्झौतापत्र दिइयो’, उनले भने ।

सडक बोर्ड र सुनकोशी कन्स्ट्रक्सन नेपालबीचको सम्झौतामा रुपन्देहीका बासिन्दालाई मोटरसाइकलमा कुनै पनि शुल्क लिन नपाउने कार, जीप र सार्वजनिक भाडाका सवारी साधनमा ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरिएको भट्टराईले बताए । सडक बोर्डसँग शुल्क नलिने सम्झौता गरिए पनि ठेकेदारले भने विगतदेखि नै मोटरसाइकल चालकहरूसँग जबर्जस्ती धम्क्याएर सडक दस्तुर उठाउँदै आएका थिए ।

उक्त स्थानमा व्यवसायीले युवा परिचालन गरेर जबर्जस्ती रकम असुल्दा पनि स्थानीय प्रशासन मौन बस्नुको कारण अहिले पत्ता लागेको भट्टराईले संकेत गरे । ‘पटक पटक ज्यादती भएको गुनासो गर्दा पनि स्थानीय प्रशासन मौन बस्नुको कारण मोटरसाइकलबाट उठ्ने रकममा हिस्सेदारी हुनसक्छ भन्ने देखियो’, उनले भने ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्