नेपालले भारतलाई १० वर्षमा बेच्यो डेढ अर्बको बिजुलीे

यो वर्ष चमत्कारको आशा

काठमाडौं । गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले । 

यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात र्गयो । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले सोही प्रसंगलाई लिएर भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु भएको बताएका छन ।

वर्षामा बढी हुने बिजुली नेपालबाट भारतमा पठाएर हिउँदमा त्यति नै बिजुली भारतबाटै ल्याउने अवधारणा हो, ‘इनर्जी बैंकिङ’ । ‘पैँचो’ को रुपमा भारत र नेपालबीच हुने इनर्जी बैंकिङका विषयमा ऊर्जा सचिवस्तरीय समझदारी भइसकेको छ । तर, यसको लागि निर्देशिका बनेर अन्तिम सम्झौता भएको छैन भने नेपालले २ सय मेगावाटसम्म बिजुली भारतलाई कसरी बेच्यो त ?

हाल नेपालले दुई तरिकाले भारतबाट बिजुली आयात गर्दैछ । पहिलो ऊर्जा अदानप्रदान समितिमार्फत र दोस्रो विद्युत ब्यापारको लागि तय भएको नोडल एजेन्सीमार्फत । तर, फाटफुट रुपमा मात्रै नेपालले भारतमा बिजुली पठाउँछ । भारतबाट आउने विद्युतको तुलनामा जाने परिमाण नगण्य छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालले गत आर्थिक वर्षको असार १५ गतेसम्म करिब २३ अर्बको बिजुली भारतबाट नेपाल ल्याएको छ । तर, त्यो अवधिसम्म नेपालले करिब १२ करोडको मात्रै बिजुली भारत पठाएको छ ।

कति बिजुली बेच्छ नेपाल ?

दुई वर्ष अघिसम्म्म नेपाल ऊर्जा संकटमा फसेका कारण उल्लेख्य परिमाणमा विद्युत भारतमा पठाउन सकेको थिएन । १० वर्षदेखि लगातार घटिरहेको विद्युत निर्यात गत वर्षमा मात्रै बढेको थियो ।

सन २००९ मा नेपालले ४ करोड ६४ लाख युनिट विद्युत बेचेर २९ करोड ५५ लाख रुपैयाँको विलिङ गरेको थियो । अर्को वर्ष सन २०१० मा ६० करोड ४८ लाख रुपैयाँको ७ लाख ५१ हजार विद्युत भारत पठाइयो । यस्तै, सन २०११ मा २१ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ११ हजार युनिट बिजुली निर्यात गरिएकोमा सन् २०१२ मा एकैपटक झरेर २ करोड ४० लाख रुपैयाँमा सीमित हुनपुग्यो ।

त्यसपछि सन २०१३ मा ३ करोड २२ लाख, सन् २०१४ मा ३ करोड ९ लाख, सन २०१५ मा ३ करोड ९४ लाख, सन् २०१६ मा ३ करोड २१ लाख, सन २०१७ मा ४ करोड ५८ लाखको बिजुली भारतमा निर्यात भएको थियो । सन २०१८ मा भने ३ करोड २८ लाखको मात्र बिजुली भारत निर्यात भएकोमा यो वर्ष बढेर १२ करोड माथि पुगेको छ । यसरी १० वर्षयता कुल १ अर्ब ४७ करोडभन्दा बढिको बिजुली भारतमा निर्यात भएको छ ।

यो वर्ष चमत्कारको आशा

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी यसै वर्षबाट नेपालले ठूलो मात्रामा बिजुली भारत पठाउन सक्ने बताउँछन । उनले आगामी डिसेम्बरमा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी गरे ।

गत आर्थिक वर्षमा निजी क्षेत्रबाट बनेका आयोजनाको ४८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा जोडिएका छन । ८८ मेगावाट बिजुली साउन र भदौ भित्रमा नै थपिँदैछ ।त्यसैगरी गत आर्थिक वर्ष माथिल्लो त्रिशूली ३ एको एउटा युनिटले उत्पादन थालेको छ । यसअनुसार गत आर्थिक वर्षमा वर्ष ७८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा थपिएको छ ।

यो वर्ष लक्ष्यअनुसार काम भयो भने तामाकोसीको सहित १ हजार १ सय ५० मेगावाटका आयोजनाहरुले उत्पादन थाल्नेछन । यस्तो अवस्थामा आगामी वर्षातमा नेपालले ठूलो मात्रामा बिजुली भारत निर्यात गर्न सक्ने प्राधिकरणको ठहर छ ।

त्यसका लागि प्राधिकरणले आन्तरिक खपत बढाउनेदेखि भारतमा बिजुली निर्यातको विभिन्न विकल्पहरु अघि सारेको छ । देशभित्रै सार्वजनिक विद्युतीय बस चलाउन सरकारलाई अनुरोध गरिरहेको प्राधिरकरणले ग्यासको सट्टामा विद्युतीय चुल्हो प्रयोग गर्न पनि प्रोत्साहित गर्नुपर्ने अवधारणा अघि सारेको छ ।

यसैगरी आगामी ३ महिनाभित्र नेपाल भारतको पावर एक्सचेन्ज बजारमा आवद्ध हुन प्रयासरत रहेको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार यो भारतको बिजुली बेच्ने खुला अनलाइन बजार हो जहाँ, आफूलाई बढी हुने बिजुली बोलकबोलमा मुल्य बढाएर बेच्न सकिन्छ ।

यसैगरी भारतसँग इनर्जी बैंकिङ पनि यसै वर्षबाट सुरु गर्ने योजनामा प्राधिकरण छ । ढल्केबर–मुफ्फफरपुर प्रशारणलाइन अन्तरगतको निर्माणधीन ४ सय केभी स्टेसनलाई आगामी डिसेम्बरसम्म सकाएर बढी भएको समयममा तामाकोसीबाट उत्पादित बिजुली भारत निर्यात गर्ने सोच सरकारको छ ।

यो प्रसारणलाइनबाट नेपालले १ हजार मेगावाटसम्म बिजुली आयात निर्यात गर्न सक्छ । हाल २ सय ५० मेगावाट मात्रै आयात भइरहेको छ । यो प्रसारणलाइनमा नेपालले भारतलाई वार्षिक १ अर्ब ८ करोड प्रशारण शुल्क तिररहेको छ । अब सोही प्रसारणलाइनबाट भारतमा एकैपटक ठूलो मात्रामा बिजुली भारत पठाउन प्राधिकरण गृहकार्यमा छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय