सकसेको सकस

आज सकसेलाई आफ्ने गाउँको कथा सुनाउन मन लाग्यो । कुनै दिन थियो हाँडिको व्यापार गरेर सकसेको गाउँ सकसमै परेको पनि होईन । तर हाँडिका व्यापारी बस्ने थातथलो भएकाले नै मेरो गाउँको नाउँ हाडिगाउँ बस्यो रैछ । जहाँ साङ्गो हाँडिको व्यापार हुँदैन, टुटेफुटेका, थोत्रापात्रा र गए गुज्रेका हाँडि सकसेको गाउँलेले उहिल्यै यता बेच्दै आएका रछन् । त्यही कमाई देखाएर म जस्ता सकसेहरु सकस व्यहोर्दै आइ मरेका होछन् । सुन्ने र देख्नेहअरु जति हैरान हुन्छन् नी त्यत्ति हैरान यो सकसेको गाउँले भने छैनन् । यत्ति सारो सकसेको गाउँ दुर्गम ठानेर नहेप्नु, हाम्राकाँ त उता शहरका रहरहरु पनि किनबेच हुन्छन् ।

दिनभरीको मेहनतले बनाएको हाँडि, सकसेको गाउँसम्म ल्याउँदा सकसेको गाउँकै हल्लरेले छल अरेछन् । ट्वाङ्ङ दुलो परेको हाँडि विक्री हुने गाउँमा सिंगो हाँडि सजग्ग ल्याउनु हल्लरेको वास्तविक छल थियो । कुनै कालमा त सकसेका सिंगै हाँडिको व्यापार हुन्थ्यो । तर गाउँ एकाएक शहरमा परिणत भयो, जहाँ नयाँ जमाना अनुसार फाटेको लुवा लाउने देखि सउलो हाँडि चलाउनु सकसेको गाउँमा संस्कारले दिंदैन । कुरा पक्का हो । फुटेका, थोत्रा, काला, कच्रक्क परेका हाँडिहरु यो सकसेको सकसी शहरमा विक्रीका लागि स्थानीय मुखियाहरुले मेला आयोजना गरे । व्यापार पनि गज्जव भयो । कही कतैबाट आएका सग्लाहाँडिहरु फोड्ने, तोड्ने र सकसेको शहरमा विक्री गरेर मालामाल हुने जमाना पनि सिंधै नाका अघि मज्जाले उचाल्लियो  । देश अनुसारको भेष कपाल गुनाको केश भन्थे उपल्ला गाउँका ठेउले माइलादाईले हो रछ भन्ने आज सकेसेको घत लागेको छ ।

आज सकसेको शहर भनौं, अझ राज्यभाषमा त यस्तोलाई स्मार्ट शहर पो भन्दा रछन् । कस्तो गज्जब विकासे भाषा होला विना स्वादैको अझै नमूना शहर अरे पो त ।  जे सुकै भापनि सकसेका मुखमा आफ्नै पुरानो शैलीको बास छ । सकसे गाउँ । मेरो सकसे गाउँ मेरानामाट राख्या होईन साँची भन्दा यहाँ बेलाबेला सकसको खडेरी परिरन्चनी, हो त्यहीभर रहिआएको हो । मधेसीदाईले कुखुरा पालेर मुर्गी बेच्या जस्तो कुरा म फिटिक्कै गर्दिन । म जावो सकेसे यत्रो विकासे शहर के विगार्थे ? सग्लाहाँडिहरु फुटाउन समेत नजानेको मलाई यो त परैको कुरो हो । विगार्नेहरु मालखाएर चाल नपा जस्ता सकसेका आँखावरीपरि छन् । सकसेको गिदि कसम एकाएक नाम लिउँझै लाउँच तर क्यार्नु, हल्दारदेखि खरदारसम्मका, मालदारदेखि भाईभारदारसम्मका, ओडारदेखि दरवारसम्मका मुन्छे यत्नै छन् । तिनका कानाँ परो भनी । सब्बैका सब्बै सकसे गाउँमा राजकाज चलाउँछन् । हाँडिको व्यापारदेखि बीडिको व्यापारसम्म अरेको अरैछन् । सकसेलाई न कानको पीर न कानेगुजीको । तर सकसे यत्तिजावो कुरोमा चिन्ता गर्दैन, चिन्तन गर्च चिन्तन । विकासे शहरका रहरहरु कसैका पेवामा आएको सन्दुकको बन्दुक होईन । जो गुन्द्रुक भएर अमिलो हुनेगरी सडिजावस् । हल्लाखल्ला गरिराख्च । चाहे सकसेको सकसमाथि प्रश्न उठोस, चाहे विकासे शहरमा उछतल्लिएका रहरहरुमाथि किम्ला नपरोस् ।

सकसेको शहरमा आफ्नो छुट्टै संगतपनि छ । सकसे आज यो विकासे शहरमा कालो मोसो दलेको कागजमा सहीछाप गर्नेहरुदेखि, कालो मसी सेतो पारि धुनेहरुसम्म, रातो रगतले भविष्य लेख्न खोज्नेहरुदेखि, बोइलर कुखुरो मन्दिरमा बली चढाउँदै आशिष थाप्नेहरुसम्म, गंगाको बैतरणीदेखि, हिमालयपर्वतका खोंचमा भुँडि खोज्नेहरुसम्म सबैतिर सामान्य छ । सकसेका संगतीहरु, धाँदरमा स्याल लखेट्नेहरु, बाँदरको पुच्छरमा आगो लगाएर लंका जलाउनेहरु, महंगा महंगा सपनाका होलसेलरहरु, सडक छेउँमा गिट्टी कुट्दैगरेर भविष्यको बाटो देख्नेहरु, जीवनका सारा सुःखको महलबाट दर्दको शिलन्यास गर्नेहरु, चरचरी फुटेका पाइतला बोकेर भाषण सुन्नेहरु, रासनको आशामा गणतान्त्रिक शासन व्यवस्था सुँघेर भोकै रात काट्नेहरु सबै सकसेका दरसन्तानहरु हुन् । सकसेको शहरमा दर्द पनि छ । साथमा उपहार स्वरुप तीखो धारिलो कर्द पनि छ । सकसेको गाउँमा खेति अधर्मको असाध्यै मौलाएको छ । धर्मकर्म ठेक्कामा लगाइएकाले बौलाएको छ । मानौं जीन्दगीका कुकर्मपनि जन्मकुण्डीको दशामा सजिव छन् । रात गुज्रै अग्राक यही पलाउँछ, अमृत बोक्नेले विष पिलाउँछ । काला, गोरा हुने र राता, पहेंला हुने अर्गानिक स्वतन्त्रता सकसेको गाउँको पुरानो प्रजातन्त्र हो ।

विदेशी सुईदेखि, कन्धाको बुई सकसे शहरको ज्वजल्यमान विकास हो । चाइनाको स्याउ देखि, बंगालको लेउसम्म, सकसेको शहरमा भान्सा छुन्छ । खाडिको तेल, थाईल्याण्डको चिप्लो जेल र सकसेका सन्तानले चुहाउने बेहिसावको पसिनाको भेल सकसेका सन्तानकालागि रोजीरोटि हो । पाखुरेहरुको कालिपारे यात्रा, पढ्ने लेख्नेहरुको पुराना राजा नामको विमानस्थल जात्रा, सकसेका सन्तानलाई लाएको सदियौंको सराप जस्तै हो ।  जीन्दगीको सपनाहरु मस्तिष्कमा चाँङपारेर, आँखाका नुनिला पानी दुईओंठले चिरिप्प पार्दै, ज्यान रसाएर चुहिएका आँखामा चाईनिज चस्मा भिजाउने सकसेका शहरमा चलन हो । ईण्डिएन रुमालले परेलीका डिल पुछ्दै, पुछुदै साउदी अरबका बालुवा सिंचाउदै, उदाँगो शरीर भएकी आमाको लाजढाक्ने सकसेका शहरमा विख्यात मामिला हो । यस्मा हस्तक्षेप गर्नेहरु नत भारतीय विस्तारबाद भए नत अमेरिकी साम्राज्यवाद ।  राम्मरी आँखा नखुलेको सन्तानलाई सुत्केरी अर्धाङ्गीनीको शरिरमा टाँसिएको हेरेर हवाईजहाजको यात्रामा लागेको कालिपारे जीन्दगीले कलकलाउँदे जीवन संगीनीको गालामा लोट्दैगरेको आँशु थोपा पुच्ने हिम्मतसम्म नभएका सकसेहरु, आफ्नै शहरका रहरहरु हुन् ।

यो देसाँ, समाजवादी व्यवस्थाले समेत टाल्न नसकेको म जस्ता सकसेका दर्दका भ्वाङहरु, जावा दुईचार थान खरवारिया र दरवारियाले टाल्ने कुरै हुँदैन ।  उनी त म जस्ता सुधा सकसेका नङमा नीलो दाग लगाएर, मेरै खुन पसिनाको रङमाथि, मामाको धनमा फूपुको रजाई गर्नेहरु हुन् ।  सकसेको नाँङ्गो जिउ र भोको पेटले यिनले गनगनाएको साम्यवादी राज्य व्यवस्था, ईष्र्याले कुँदेको मुरकुटुवा मूर्ति जस्तो हो ।  यो रंगमञ्च यो सकसेको पुच्चे आँखालाई जात्राको विचित्रता बाहेक केही होईन । जात्रा हेरेर अव के लाज मान्नु । निला मान्छेहरुका कसिला वर्तमानदेखि, पौरखीहरुको बेमौसमको पसिनालेको सकसेको शहरमा अर्थ राखेन झै लाग्याछ । जल्लो जेबेचेर ज्यान बचाएपनि, जस्ले जे खाएर पचाएपनि, जस्को ज्यान सुकेर मुरली भएपनि, जस्ले च्या अड्याउने घ्याम्पे भूँडि बनाएपनि सकसेको उनीसँग गोरुबेचेको साइनो रहनेवाला छैन ।  राज्यवालाहरु राजगद्धि नै चोरी हिंडेपनि, यिनकापछि पछि बेइजिङका चुच्चा रेलगाडि खुईकेपनि, चट्टानको पहाडमा बन्दरगाहको सपना देखाएर म जस्ता सकसेहरुलाई गोरखपुरहुँदै कार्गिलमा मिसाईल मेलासम्म पु¥याएपनि कन्नै सितले परेको बोहोरिएकै छ । बिना स्वादैको केही भनिएको छैन ।

गोठको साँढे बहर बेचेर, नयाँ शहर च्याप्ने रहर सकसेको शहरमा जस्तो कहाँ फलिफाप होला र ? सकसेको झुप्रो छेउँमा कलकल बग्ने छहरे खोलाको चिसोपानी हातथापेर खान नपाएपनि, शहरमा फ्रिजले चिस्याएरको मिनिरल नामको बोतल हातमा च्याँपेर शान लगाउन पाइएकै छ । घरघरमा पानीविनाको धारो, पाढि र गोरुविनाको भकारो मेरो देशको समाजवाद उन्मुख सरकारको नारा क्यावात छ । आजका बग्रेल्ती समाचारहरु फलाक्ने रेडियो टेलिभिजनमा, मेरा गाउँका मुन्द्रेहरुले उद्घाटन र सिलन्यास नामका रोजगारहरु पाएको पाएैछन् । म जस्ता सकसेहरु खाडिबाट रेमिट फ्याँकेको फ्याँकै छौं । महंगो टेलिफोनमा मधुरोबोलीले बाको टोपी फाटेर टुप्पी देखिएको थियो भन्ने श्रीमतिले, आफ्नो लाज ढाक्ने लुँगी च्यातिएको भन्न नसक्ने, म अरबे लाहुरेलाई, समाजवाद उन्मुख, विकास उन्मुख र गरिबी हटाउने, फ्याउने कथाहरु भाषणबाजहरु फलाकेको देख्तापनि सकसेको शालिनता उत्तिकै गज्जव अडिग छ ।  म जस्ता गरिबको खाडिको चर्कोघाममा ज्यान  निचोरेर चिप्लागाडिको शयर, चिल्ला, गुलिया तर विषालु बोली बोल्नेहरुको बेलाबेलामा  मुखौडो देखिएकै छु ।

सत्ययुग मान्नेहरु पाप धर्म र कर्मका कुरा गर्थे, कलियुगमा त्यस्ता मान्छेहरु पातलिएर सकसेको शहर खाली भएको यथार्थ हो । कसैलाई थिचेर, मिचेर, अन्याय अत्याचार गरेर नरकको जिन्दगी नदेखिने भएपनि, सतमार्ग, न्याय र समानताका कुरामाथि बलात गरेर फाल्देपनि, त्यो कुचेष्ठाका विरुद्ध बोल्ने साहास सकसेको शहरमा आज मरेकै छ । सास फेर्नसम्म जिउँदो भनिएपनि मर्नेदिन कुरेर बसेकालाई तँ कहिले मर्छस भनेर प्रश्न गर्नु आफै मर्नेहरुले हो । यो सकसेको शहरमा रहरको कथा होइन । व्यथा जो जस्ले भोगेपनि, विकासे बाटो जो जस्ले रोजेपनि, सकसेकाँ राजकाज जो जस्ले थामे थमाएपनि, सकसेहरुलाई खास मतलव रहेन । जीउभरी दुःख भिरेर, सुःखको नारा लगाएपनि, भोको कोखबाट खीरको सपना जन्मेपनि, सकसेहरुले जे जस्ता सकसहरु पोलेर बसेपनि, कालिपारेको सिन्दुर पहिरेर आएका कल्पनाका शब्दहरुलाई दोष नदिनु । वास्तविकतालाई जहाँको त्यहीं थाति राखेर एकपटक सकसेको शहरको बाटो फर्किनु छन् ।  आफ्ना कर्मप्रतिको भावनाले बालेका शब्दले कसैलाई होच्याएको होईन । बाध्यता र विवसताको खेतिमा लाग्ने खेतलाहरुलाई टकटक्याएको मात्र हो । कतिपय अपमानलाई वास्तविकताको स्वाभिमानमा तुलना गरे हुन्छ । सकसे त सकसमा छैन, यहाँलाई सकस पर्ने कुरै भएन । जय स्वाभिमान । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय