८ बैशाख २०८१, शनिबार

गलकोटमा बन्यो आलु भण्डारण गृह

बाग्लुङ । गलकोट नगरपालिका १ स्थित दुदिलाभाटी, भण्डारवनमा आलु भण्डारण गृह निर्माण गरिएको छ । बीउ जोगाउन र उपभोग्य आलु सुरक्षित राख्न सो गृह बनाइएको हो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको आर्थिक सहयोगमा गृह निर्माण भएको हो ।

नगरपालिकाको २ लाख, केन्द्रको ५ लाख र १ लाख १४ हजार बराबरको जनश्रमदानमा गृह बनेको निर्माण समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताए । गृह निर्माणले आलुखेतीको प्रवद्र्धनसँगै बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । एकतले गृहमा १० टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ ।

भण्डारण गृह बनेपछि आलु किसान खुशी छन । घरमा राख्दा कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन । खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । दुदिलाभाटीको भण्डारवन, ज्यामिरे, टोड्केलगायतका ठाउँमा बढी आलुखेती हुन्छ ।

दुदिलाभाटीलाई आलुको ‘पकेट’ क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएर अहिले ५ सय रोपनीभन्दा बढी क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । जिल्लाको ताराखोला, ढोरपाटन, दमेक, धम्जालगायतका क्षेत्र आलुका लागि ‘पकेट’ मानिन्छन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्