अर्घाखाँचीकी कस्मिराको सफलता : १३ हजारको लगानीबाट तीन करोडको उद्योग

नेपालगन्ज । कुनै बेला १३ हजार रुपियाँको लगानीमा घरमै सुरु गरिएको कस्मिरा खातुनको सिलाइकटाइ व्यवसाय अहिले तीन करोड रुपियाँ पुँजीको गार्मेन्ट उद्योगमा परिणत भएको छ । एक जना मुस्लिम महिलाले हासिल गर्नुभएको यो सफलताका लागि १८ वर्ष कठोर परिश्रम भने गर्नु प¥यो । 

कस्मिराको सफलताबाट जस्तोसुकै अवस्था आए पनि हरेश नखाई निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य प्राप्त हुने शिक्षा लिन सकिन्छ । नेपालगन्ज घरबारी टोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कस्मिराले घरमै पेटिकोट सिलाएर व्यवसाय सुरु गरेकी हुन ।

व्यापारको सिलसिलामा अर्घाखाँचीबाट नेपालगन्ज पुगेकी खातुनसँग १८ वर्षअघि साथमा एक कौडी पनि थिएन । उनले बल्लतल्ल ऋण काढेर १३ हजार रुपियाँ लगानीमा घरमै व्यवसाय सुरु गरिन । त्यही व्यवसाय फस्टाउँदै अहिले तीन करोड रुपियाँको लगानीमा विस्तार भएको उनले बताईन ।

कस्मिराको लुम्बिनी गार्मेन्टले उत्पादन गरेका तयारी कपडा काठमाडौँ, पोखरा, बुटवल, धनगढी, महेन्द्रनगरलगायत साविकको मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा पुगिरहेका छन । उद्योगमा अहिले धेरैले रोजगारी पाएका छन । “म आफैँले पेटिकोट सिलाएर व्यवसाय सुरु गरेँ, अहिले ७० जनाले काम पाएका छन” उनले भनिन, “उद्योगले उत्पादन गरेको कपडाको माग बढिरहेकाले थप कामदार राख्नुपर्ने अवस्था छ ।”

कस्मिराले व्यवसाय आरम्भ गरेको सम्झँदै भन्छिन, ‘त्यति बेला एउटा पेटिकोट सिएबापत पाँच रुपियाँ र म्याक्सी सिएको १० रुपियाँ लिन्थेँ । दिनमा पाँच सय रुपियाँ कमाउन दर्जनौँ पेटिकोट सिलाउनुपथ्र्यो । त्यसका लागि दिनरात मेहनत गरेँ ।’  कपडा बनाउन चाहिने कच्चा पदार्थ, धागो पहिले भारतबाट ल्याउनुपथ्र्यो । व्यवसाय बढ्दै गएपछि उनले नेपालगन्जमै कच्चा पदार्थ उत्पादन सुरु गरिन। नेपालगन्जमै कच्चा पदार्थबाट कपडा उत्पादन गर्ने लुम्बिनी गार्मेन्ट पहिलोे भएको उनको दाबी छ ।

ग्राहकले लुगाको फिनिसिङ र डिजाइन मन पराएपछि अहिले देशभर लुगाको माग बढेको कस्मिराले बताईन । दैनिक करिब डेढ लाख रुपियाँ बराबरका कपडा उत्पादन हुने यहाँ जिन्सबाहेक स्कुल पोसाक, सबै तयारी कपडा र महिलाका लामा सुइट, अलादिन टप्स लगायतका सामग्री तयार हुन्छन् ।  गोरखापत्र दैनिकमा सिराजुद्दिन खानरले समाचार लेखेका छन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय