१६ चैत २०८०, शुक्रबार

खै लालपुर्जा ?

कपिलवस्तु । २०५९ सालमा विस्तार भएको जिल्लाको शिवराज नगरपालिका ८ देविपुर गाउँ २०६४ सालमा भएको कपिलवस्तु द्धन्द्धमा उजाड बन्यो । द्धन्द्धमा छ जनाको हत्या भयो भने सयौँ घाईते भए, गाउँ पुरै खरानीमा परिणत भयो । द्धन्द्धका कारण यहाँका करिब एक सय बिस परिवार घरबारविहिन बने ।

‘आँखा अगाडी हत्या गरेको त्यो दृष्य अहिले झलझली आउँछ’ स्थानिय खेतुलाल रानाले भने, ‘कति दिन खुल्ला आकाश मुनी बितायाँै, परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने पिरलो ।’ २०६० सालमै प्रतिकार समुहले घर जलाएको स्मरण गर्दै उनले त्यसपछी २०६४ सालसम्म निरन्तर घटना घटेको बताए । उनी थप्छन, ‘कतिपयमा छोराहरुको हत्या भयो, कतिपयको लुटपाट घटना सारै हिंसात्मक थियो ।’

घटनामा देविपुरका शोभाराम सुनार, विर वहादुर सुनार, झविन्द्र खनाल, हरि वस्नेत र रमुवादह र हल्लानगरका एक÷एक जनाको हत्या भएको थियो । द्धन्द्धपछि कतिपय गाउँ नै छाडेर अन्यत्र गए भने कतिपयलाई यही गाउँमा स्थापित गर्नको लागी प्रयास गरियो । घटना पश्चात चन्द्रौटामा रहेको सहज नेपालले करिब ५५ लाखको लागतमा १ सय २३ घर निर्माण गरेको थियो । घर पाएपछी स्थानियहरुमा केही राहतको महशुस भएपनि जिविकोपार्जनमा निकै कठिनाई थियो ।

वस्ती बस्दा ७ सय ५० जनसंख्या रहेको यो बस्तीको जनसंख्या अहिले करिब १३ सयको हाराहारीमा रहेको छ । द्धन्द्धपिडित परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै स्थानीयले दुख व्यक्त गरे । बस्नका लागि देविपुरवासीले घर त पाए तर उनीहरुको आफ्नो जग्गा छैन । लालपुर्जा पाउनुपर्ने देविपुरवासीको माग छ । आफुहरुलाई सरकारले लालपुर्जा दिई न्याय गर्नुपर्ने स्थानीय सुनिता पासीले बताईन । 
             
नगरपालिकाले पनि स्थानीयको न्यायको लागी कुनै काम नगरेको भन्दै पहल गर्न स्थानीयहरुले आग्रह गरे । ‘वडाध्यक्षलाई पटक–पटक भन्यो हाम्रो माग कसले सुन्छ ?’ स्थानीय राम बहादुर विकले भने ।

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रकै पिडितहरुको वस्ती देविपुर रहेकोले विकासको लागि नगरले प्रयास गरिरहेको बताए । ‘पहिले त्यहाँ पुग्न बाटो थिएन’ उनले भने, ‘अब सडक कालोपत्रे बन्दै छ, खानेपानिको लागि काम भइरहेको छ ।’ लालपुर्जा वितरण आफ्नो क्षेत्राधिकार भित्र नरहेको बताउँदै उनले प्रदेश र केन्द्रमा पटक–पटक आग्रह गरिरहेको बताए । जिल्लाकै कतिपय बस्तीमा लालपुर्जा वितरणको काम भइरहेकोले देवीपुरमा पनि लालपुर्जा वितरण हुने अधिकारीले बताए ।

संर्घष समितिका अध्यक्ष महादेव पोख्रेलले राज्यले आफुहरुलाई न्याय दिन नसकेको बताए । छानविन समितिको प्रतिवेदन नै सार्वजनिक नगर्नु सरकारको कमजोरी रहेकोले न्यायको लागि आफुहरु लागि परेको उनले बताए । 

२०६५ मा पुर्ननिर्माण भएको देविपुर वस्तीका घरहरु अहिले जीर्ण बन्दै गएका छन । बस्ती छाडेर अन्यत्रै बसाई सर्ने क्रम बढ्दो छ । सहज नेपालको सहयोगमा निमार्ण भएका एक सय तेईस घरहरुमध्ये अहिले अधिंकाश घरहरु खाली छन । घरको पर्खाल (दिवार) भत्किएका छन भने ढोकाहरु यत्रतत्र फालिएको छ । 

गाउँमा अहिले कतिपयले आफै घर बनाएका छन भने करिब ५० घरहरु खालि छन । त्रासका कारण गाउँमा कोही पनि बस्न नचाहने स्थानीय पासीको भनाई छ । यहाँ घर निमार्ण भएको एक दशक वितिसकेको छ । स्थानियहरु अहिले गाउँमा बस्न छोड्ने क्रम बढेको र घरहरु मर्मत नहुँदा जीर्ण बन्दै जान थालेको वडाध्यक्ष शंकर अहिले बताए ।

सहज नेपालले त्यो समयमा ५५ लाखको लागतमा विस्थापितहरुलाई उद्धार गर्नको लागी घरहरु बनाएको सहज नेपालका तत्कालिन अध्यक्ष शरद अधिकारीले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्