भ्रमण वर्ष २०२० का लागि सरकारसँग थप ५० करोड माग

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले सरकारले छुट्याएको २० करोड बजेट कम भएको बताउँदै थप ५० करोड मागेको छ ।  सरकारले छुट्याएको रकम भ्रमण वर्षको तयारीका लागि अपुग भएको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । ‘नेपाल भ्रमण वर्ष २०११ का लागि सरकारले ३० करोड छुट्याएको थियो । अहिलेको बजेटबाट काम गर्न कठिन छ,’ वैद्यले भने, ‘त्यसैले कम्तीमा ५० करोड थप बजेट माग गरिएको हो ।’

गत आर्थिक वर्षमा विनियोजन गरिएको बजेटबाट चीनको ठूलोमध्येको एक ट्राभल एडभाइजरी अनलाइन ‘सीट्रिप’ र बेलायतको ‘लोन्ली प्लानेट’सँग पर्यटन प्रवद्र्धनका लागि सम्झौता गरिएको वैद्यले जानकारी दिए ।

‘सीट्रिप’ का ३ करोडभन्दा बढी ‘फलोअर’ छन । ‘लोन्ली प्लानेट’ले नेपालको सांस्कृतिक, आध्यात्मिक, साहसिक र ‘वाइल्डलाइफ’ पर्यटनसँग सम्बद्ध चार पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त संस्था विश्वको ठूलो ‘ट्राभल गाइड’ पुस्तक प्रकाशक हो । दुई विदेशी संस्थासँगको सम्झौता तथा कर्मचारी र सचिवालय व्यवस्थापनमै गत आवको १० करोड सकिएको वैद्यले बताए ।

सरकारसँग थप बजेट मागिरहँदा सचिवालयसँग नेपाल भ्रमण वर्षका लागि उल्लेख्य योजनाको कमी देखिएको छ । राष्ट्रिय कार्यक्रम संयोजक वैद्य भने योजनाहरू तयार पारेर सरकारलाई जानकारी गराइएको दाबी गर्छन । भन्छन्, ‘हामीले कम बजेटमा पनि काम गरिरहेका छौं ।’

भ्रमण वर्षमा पाँच पक्षलाई प्राथमिकता दिइएको छ– सांस्कृतिक, आध्यात्मिक, साहसिक, ‘वाइल्डलाइफ’ र ‘माइस’ (बैठक, सम्मेलन, प्रदर्शनी आदि) पर्यटन । यस्तै, विदेशी लगानी भित्र्याउन ‘पर्यटन लगानी सम्मेलन’, बिमस्टेक पर्यटन मन्त्रिस्तरीय बैठक, कर्णाली नदीमा ¥याप्mटिङ, कालीगण्डकी कोरिडोरमा माउन्टेन बाइक प्रतियोगिता लगायत कार्यक्रम तय गरिएको वैद्यले जानकारी दिए ।

त्यसबाहेक पर्यटकीय पूर्वाधार र सेवाको गुणस्तर अभिवृद्धि जस्ता कामलाई पनि अगाडि बढाइएको उनी बताउँछन्न । तथापि, राष्ट्रिय संयोजक वैद्यले सीधा प्रधानमन्त्रीसँग सम्पर्क गरेर काम गर्दा सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग सम्बद्ध संस्थाहरू भने सन्तुष्ट देखिँदैनन ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्रप्रसाद सापकोटा पनि अहिलेको गति र तयारीमा भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक भित्र्याउन कठिन हुने बताउँछन । भन्छन्, ‘भ्रमण वर्षका लागि हुनुपर्ने तयारी, पूर्वाधार विकास र निजीक्षेत्रसँग समन्वयको अभाव देखिन्छ । राम्रो तयारी गरेर भ्रमण वर्षलाई सन २०२१ मा  सार्दा प्रतिफल राम्रो आउन सक्छ ।’

सरकारले २०७५ चैत २९ मा पोखराबाट भ्रमण वर्ष–२०२० को पूर्वशुरुआत गरेको थियो । सन २०२० मा २० लाख पर्यटक भि¥याउने सरकारी लक्ष्य लिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय