गुल्मी । जिल्लाको सत्यवति गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पहिरोमा परेर पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।
पहिरोमा सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पुरिएको वडाध्यक्ष दान बहादुर रानाले धरातललाई बताए । दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । तीन घरमा नौ जना बस्दै आएका थिए ।
पहिरोमा पुरिएर लिम्घामा ६५ वर्षीय छलि विक, २८ वर्षीय पम्फा विक, १२ वर्षीय अञ्जली विक र १० वर्षीय हेमन्त विकको मृत्यु भएको प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले धरातल अनलाईनलाई जानकारी दिए । तीन घरबाट चार जनाको शव निकालिएको रानाले बताए । बाँकी पाँच जना बेपत्ता भएका छन् ।
त्यस्तै सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको छ । लुम्पेकका ३२ वर्षीय तिल कुमारी तरामु र ९ वर्षीय दर्शन तरामुको पहिरोमा पुरिएर ज्यान गएको वडाध्यक्ष रुक बहादुर रानाले बताए । १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ ।
राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु बगाएर करिब ५० मिटर तल पु¥याएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले धरातललाई बताए ।
प्रहरीको टोली घटनास्थलमा पुग्न सकेको छैन । विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएकाले पुग्न निकै समस्या परिरहेको सशस्त्र प्रहरी बल गुल्मीमा डिएसपी दिनेश रायमाझीले बताए । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेतृत्वमा प्रहरीको टोली गएको छ ।
गुल्मी जिल्लाका प्रजिअ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोलीसंगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको छ । जिल्लाबाट तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीको टोली पनि घटनास्थल पुग्न थालेको प्रजिअ पौडेलले बताए ।
यो पनि
प्रतिक्रिया थप्नुहोस्