६ बैशाख २०८१, बिहीबार

टी-२० विश्वकप छनोट : नेपाललाई पहिलो खेलमै लाग्यो झट्का 

काठमाडौं । सिंगापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यर्होयो ।

६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्न पुग्योे । नेपालले केवल १ सय २२ रनको स्कोर बनाएर कतारका लागि पेश र्गयो ।

कप्तान र उपकप्तानले ५.६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे । त्यसपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।

जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो ।

एक समय २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो । तर, त्यतिबेलासम्म नेपाललाई निकै ढिला भइसकेको थियो । मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई ४ बल बाँकी छँदा जित दिलाए ।नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो ।

यो संगै प्रतियोगितामा सहभागीहरुमध्ये एक दिवसीय मान्यताप्राप्त एकमात्र राष्ट्र नेपाललाई पहिलो खेलमै झट्का लागेको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्