१५ चैत २०८०, बिहीबार

अपरिचित प्रेमिका [भाग–४]

त्यो बेलुकी पनि मलाई अबेरसम्म निद्रा परेन । निद्रा नपर्नुको कारण र त्यो बेलाको परिवेश नै अरु बेला भन्दा निकै बेग्लै थियो । उसको मोबाइल नम्बर माग्दा उसले लेखेको यहि एउटा वाक्य ‘आखिर सबै केटाहरु उस्तै हुन्, सिवाय तिमी’ ले ओठहरु दुबै गालालाई दायाँ बायाँ धकेल्ने गरी फैलाईदियो । पटक पटकका मुस्कुराहतले आँखाका भावहरु पनि परिवर्तित थिए । आखिर म पनि उसको लागि केहि/कोहि त रैछु नि ? भन्ने आभासले मनलाई हलुङ्गो बनाइदियो । हलुङ्गो पनि यति हलुङ्गो कि, ऊ भएको ठाउँमा पुग्न मेरो यो मनलाई पिको सेकेण्ड पनि लागेन होला । काल्पनिक संसारमा म उसकै र ऊ मेरै भएको कल्पना गर्न थालेँ । अरु बेला उसको अभावमा राती अबेरसम्म बैचैन हुँदा जोडिनलाई अटेरी गर्ने यि परेलीहरुलाई आज मन र मस्तिष्कले नै छुट्टिन दबाव दिइरहेको थियो । नितान्त सुनसान रातमा सिर्फ दुई चिजले मलाई डिस्टर्व गरिरहेको थियो—भित्तामा झुण्डिएको घडीको सुइको टिक—टिक आवाज अनि आफ्नै दिलको धड्कन । यि दुई चिजको प्रतिस्पर्धामा मेरो दिलको धड्कन दुई गुणाले तिब्र थियो । त्यो बेला मलाई यि दुईको आवाज र प्रतिस्पर्धा निकै प्यारो लाग्यो, कारण उहि थिई— ‘बर्षा’ । 

अघिल्लो बेलुकी साथीको ट्रिटमा पिएको भोड्काको नसा र अबेरसम्मको अनिद्राले म बिहान ढिला बिउँझिएँ । भित्ताको घडीमा साढे आठ बजेको थियो । भोड्काको ह्याङ ओभर बाँकी नै थियो । टाउको र जिउ पुरै भारी भएजस्तो भएको थियो । फ्रेस हुनलाई बाथरुम छिरेर शरीर नुहाएँ । रुम फर्किदा ९ बजेको थियो । शरीर केहि हलुका भएजस्तो भयो । राइस कुकरमा भात र प्रेसर कुकरमा दाल बसालेँ । अनि फेसबुक खोलेँ । बेलुकि उसले म्यासेन्जरमा आफ्नो नम्बर पठाएपछि मैले उसलाई लेखेको जवाफ ‘थ्याङ्कस’ लाई उसले हेरेकी थिइन । यो भन्दा अघि पनि कहिलेकाहीँ ऊ अफलाइन भैसकेपछि मैले बेलुकी लेखेको कुराको जवाफ उसले बिहान दिन्थी । तर, आज त उसले त मेरो रिप्लाई हेरेकी सम्म थिइन । उसलाई फोन गरम् कि नगरम्को दोधारमा केहि बेर अल्झिएँ । त्यति बेलै मनमा साहस जुटाएँ अनि मोबाइलको फोनबुकमा गएर उसको नामलाई डायल गरेँ ।

मोबाइलको स्क्रिनमा जव ‘कलिङ बर्षा’ देखायो, मेरो मुटु गति डरले तिब्र हुन थाल्यो । उसको नम्बर पाएपछिको यो मेरो पहिलो प्रयास थियो । फोन लागेकै थिएन तर उसले फोन उठाइहाली भने के भनेर कुरा सुरु गर्ने होला ? यहि एउटा डरले फोन तत्कालै काँटे । त्यतिबेला म आफुलाई सबैभन्दा कायर सम्झिएँ । म अन्तर्मुखी पनि कति धेरै के ? चाहिने भन्दा बेसी । अक्सर मेरो जस्तो स्वाभाव भएकाहरु अरुले के सोच्लान भन्ने मै ज्यादा समय खर्चिन्छन् । कहिलेकाहीँ मेरा केहि साथीहरुले ‘फेसबुकमा नम्बर मागेर पट्याएको यार यो केटीलाई’ भनेर केटीहरुको फोटो देखाउँथे । मनमा झल्याँस्स त्यहि कुरा याद आयो । म त्यतिबेला उनीहरुलाई साहसी सम्झिएँ । तर म उनीहरुभन्दा आफुलाई धेरै इमान्दार पनि ठानेँ । कारण थियो, उनीहरु टाइम पास र फिजिकल रिलेसनसिपको लागि नयाँ—नयाँ केटीहरुसँग सम्पर्कमा रहन्थे तर म त बर्षालाई हृदयदेखि नै साँचो प्रेम गरेको थिएँ । 
    
केहिबेरमा फेरी अर्को आत्मबल जुटाएर दोस्रो पटक फोन डायल गरेँ । कानमा इयरफोन लगाएर दायाँ हातमा मोबाइल राखेर हेरेँ । मोबाइलको स्क्रिनमा देखिएको ‘कलिङ बर्षा’ ले यो पटक पनि मुटु जोडले धड्किरहेको थियो । डरले हात पनि काँमिरहेको थियो । जसै मुटुको तिब्रता बढिरहेको थियो, त्यहिबेलामा कानमा कम्प्युटर सिस्टमबाट केटीको आवाज गुञ्जियो—‘माफ गर्नुहोला, तपाईँले डायल गर्नुभएको नम्बर अहिले उपलब्ध हुन सकेन, कृपया केहि समयपछि पुनः प्रयास गर्नुहोला ।’ 

कम्प्युटर सिस्टमको यो रिप्लाईपछि मनमा केहि राहतको अनुभूति भयो । केहि गरी फोन लागेको भए, उसले फोन रिसिभ गरेको भए, मैले के भनेर जवाफ दिन्थेँ होला ? यहि कुराले मन हलुका भएको भान भयो । तर अर्कोतर्फ चिन्ता झन बढेर पनि गयो । कतै उसले मलाई झुक्याउनलाई गलत नम्बर पो दिएकी हो कि ? नेटवर्कको समस्याले पनि फोन नलागेको हुन सक्छ भन्ने झिनो आशा पनि थियो मनमा । त्यहि झिनो आशा बोकेर अरु दुई पटक फेरी पनि फोन लगाउने प्रयास गरेँ तर कम्प्युटर सिस्टमको उहि आवाज उसै गरी दोहोरिरह्यो । फोन नलाग्ने निश्चित भएपछि म्यासेन्जरमा गएर अफलाइन म्यासेज छोडेँ—“लाबारिस गर्लको मोबाइल नम्बर पनि लाबारिस नै भएछ त, फोनै नलाग्ने ।”

अफलाईन म्यासेज छोडेपछि मोबाइल चार्जमा राखेर दाल र तरकारी तयार गरेँ । राइस कुकरमा भात पाकिसकेको थियो । खाना खाएँ अनि बजारतिर निस्किएँ । फ्रान्स प्रोसेस सफल भएपछि अघिल्लो साँझ ट्रिट दिने विश्वास नाम गरेको साथीले चिप्लेढुङ्गा भेट्न आउन भनेको थियो । पर्सिपल्ट उसको फ्रान्स फ्लाइट भएकोले भोलीपल्ट उसलाई काठमाडौ पुग्नै पर्ने थियो । त्यसैले पनि उसलाई केहि सपिङ गर्नु थियो । ११ बजेतिर ऊसँग भेट भएपछि चिप्लेढुङ्गा, महेन्द्रपुल, अन्नपूर्ण सुपर मार्केट र विशाल बजारभरी डुल्यौँ । उसले १५ हजारभन्दा धेरैको सपिङ ग¥यो । त्यहि मौका पारेर मलाई पनि एउटा निलो टिसर्ट किनिदियो । सपिङपछि साँझतिर अरु दुई जना साथीहरुलाई बोलाएर फेरी पनि भोड्का पियौँ । 

बेलुकी साथीहरुसँग छुट्टिएर कोठा पुग्ने बेलामा पौने नौ भएको थियो । भोड्काको नसाले हिजो जस्तै आज पनि छोएको थियो । भोड्कासँग धेरै स्न्याक आइटमहरु खाएकोले पेट ढुस्स थियो । खाना नखाने सोच गरेर बेडमा पल्टिएँ र फेसबुक खोलेँ । उसले मलाई म्यासेन्जरमा म्यासेज गरेकी थिर्ई—“तिम्रो नम्बर देऊ, म कल गर्छु ।” 

म आफैलाई फोन गर्ने हिम्मत जुटिरहेको थिएन, त्यसमाथि ऊ आफैले मेरो नम्बर मागेपछि मैले तत्कालै नम्मर पठाएँ । ‘हस्, म एक छिनमा कल गर्छु’ लेखेर ऊ अफलाइन भई । मैले केहि बेर युट्युवमा भिडियोहरु हेरेँ । साढे ९ भयो, तर उसको फोन आएन । फेरी एकछिन फेसबुक हेरेँ । केहि साथीहरुको स्टाटस र फोटोहरुमा लाइक÷कमेन्ट गरेँ, उसको फोन अझै पनि आएन । अब भने भोड्काको नसाले दिएको हिम्मत जुटाएर उसलाई फोन डायल गरेँ । यो पटक भने फोन लाग्यो तर उठेन । मैले दोस्रो पटक डायल गरेँ, फेरी पनि उसको फोन उठेन । 

अब भने मलाई ऊसँग रिस उठिरहेको थियो । भलै यो कुरा उसलाई थाहा थिएन, तर त्यो रिसभित्र पनि ऊप्रतिको मेरो प्रेमभाव थियो । संवेदनाको दृष्टिकोणमा रिस र प्रेम फरक कुरा होलान्, तर, कमसेकम त्यो बेलामा म भित्रको रिसले परोक्ष रुपमा उप्रतिको प्रेमभावलाई रिभिल गरेको थियो । सायद, प्रेममा पर्नेहरु हर कोहि निदाउनै पाउँदैनन्, कहिले ऊसँगको संवादले त कहिले उसको यादले । म पनि त्यो बेलामा त्यहि अवस्थामा गुज्रिरहेको थिएँ । 

१० बज्नै लागेको थियो । अब, सुत्नुपर्छ भन्ने लागेर मोबाइल सिरानी निरै राखेँ अनि खुट्टातिर दोब्रिएको सिरकलाई खुट्टाले नै माथि सारेर शरीर ढाक्न खोज्दै थिएँ । त्यहि बेलामा मोबाइलको रिङ्टोन बज्यो । कतै उसैको फोन त हैन ? भनेर हतार हतार मोबाइल हेरेँ । फोन उसैको थियो । पहिलो पटक उसको नाम ‘बर्षा’ ले मेरो मोबाइलमा रिङ्टोन बजाएको थियो । म त्यतिखेर फेरी एकपटक सबैभन्दा बढी खुसी थिएँ । तर हामी सबैसँग इगो हुन्छ भन्छन् नी ? हो, त्यतिबेला मैले पनि इगो देखाएँ । मैले मोबाइलको रिङटोन केहिबेर बज्न दिएँ अनि बल्ल उसको फोन रिरिभ गरेर ‘हेलो’ भनेँ । उसले उताबाट भनी—“ममिसँग बसेर सिरियल हेर्दै थिएँ, फोन आरैछ, थाहा पाएन, सरी ल ?” हामी बीचमा खास अरु कुरा भएन । खाना खाएको, नखाएको, दिउँसोका कुराहरु नै भए । भोड्काको नसा अझै थियो । त्यसैले म बोल्ने क्रममा सकेसम्म सजक भएर बोल्न खोजेँ । तर बीचैमा उसले सोधी— “रक्सी खाको हो ?” 

उसको यो प्रश्नले आज पनि रक्सीको नसा उत्रेजस्तो भो । सायद, बोल्ने क्रममा मेरो जिब्रो लट्पटिएको थियो । उसलाई कतै रक्सी खाने मान्छे मनै पर्दैन कि जस्तो लाग्यो । मैले स्पष्टिकरण दिनु जरुरी ठानेँ र नढाँटेर सबै कुरा बेलीबिस्तार लगाउन थालेँ । तर उसले बिचैमा रोकेर भनी—“ह्या तिमीलाई रक्सी किन खायौ, कसले भनेको छ ? बोली स्पष्ट छैन, त्यहि भएर सोधेको मात्र । गाह्रो मान्नै पर्दैन ।” उसको यो जवाफपछि मन फेरी हलुका भयो । हामी करिब आधा घण्टा जति फोनमा बोल्यौँ । यो मेरो उसँगको पहिलो फोन कल थियो । 

त्यो दिनदेखि हाम्रो संवाद फोन र फेसबुक दुवैमा बढेर गयो । खाना खाने बेलामा होस् या नास्ता खाने बेलामा हामी कमसेकम एक कल भएपनि फोनमा बोलेका हुन्थ्यौँ । हामी राती पनि अबेरसम्म फोनमा बोल्थ्यौँ । ऊ त साइन्सकी विद्यार्थी थिई । यसै पनि कम प्रयासले पास गर्ने विषय थिएन । कहिलेकाहीँ मेरो कारणले गर्दा उसको पढाइ नै बिग्रने त होइन भन्ने लाग्थ्यो । अनि मैले यहि कुरा उसलाई भन्थेँ । तर उसले मान्दैनथी । उसले भन्थी—“तिमी सँग बोलेन भने बरु पढाई बिग्रन्छ । त्यसमाथि, मैले मेरो स्टडीको लागि समय त छुट्याएकै छु नी ।”

एकदिन मैले उसलाई पहिलो डेटिङको लागि अनुरोध गरेँ । हामी फोनमा बोल्न लागेको एक महिनाभन्दा धेरै भएको थियो । त्यसमाथि पनि हामी एउटै शहरमा थियौँ । तर उसले मेरो अनुरोधलाई मानिन । उसले भनी—“नरिसाउ है, म यसको लागि मानसिक रुपमा तयार भइसकेको छैन ।” उसको जवाफको मतलब यहि थियो भनेर मैले ठ्याक्कै बुझ्नै सकिन । मानसिक रुपमा तयार नुहुनुको अर्थ सायद उसको दिलमा मेरो लागि फिलिङ नहुनु नै होला । बेलाबखतका मेरा भनाइका आसयहरुले म उसको प्रेममा छु भन्ने आभास त उसलाई हुन्थ्यो या हुन्थेन, तर मेरो इन्टेन्सन उसलाई मेरो गर्लफ्रेण्ड नै बनेर डेटमा आउ भन्नु थिएन । क्याजुअल्ली ऊसँग भेट गरेर उसलाई एकपटक प्रत्यक्ष देख्न मन थियो मलाई । उसको यो जवाफले मन खिन्न त भयो तर ऊ मसँग फोनमा जसरी खुसी भएर बोल्थी, त्यसले मेरा सबै तनावहरु रिलिफ हुन्थे । 

एक बेलुकी उसले मलाई फोनमा सोधी—“सजल ! तिम्रो नामको मिनिङ के हो र ?” उसको यो जिज्ञासाले मलाई फेरी पुरानो दिनतिर धकेलिदियो, जुन बेला मैले उसको वास्तविक नाम जान्न निकै कसरत गर्नु परेको थियो । जसरी उसको नाम म आफै पत्ता लगाउनु परेको थियो, त्यसरी नै मैले पनि मेरो नामको अर्थ पत्ता लगाउने जिम्मा उसैलाई सुम्पिएँ । उसले केहि बेर मेरो नाम मन्द स्वरमा उच्चारण गरे जस्तो गरेर अर्थ पत्ता लगाउने प्रयास गरी तर सकिन । उसले मलाई जसरी पनि नामको अर्थ भन्न ढिपी कसी । अब त मैले जवाफ दिनै पथ्र्यो । मैले जवाफ दिएँ—“धेरै पानीले भरिएको ।” मेरो जवाफपछि ऊ यसरी उत्साहित भई कि उसको मुखबाट निस्किएको ‘वाउ’ शब्द नै काफि थियो, उसको एक्साइटमेन्टको मापन गर्न । उसले ‘वाउ’ शब्दपछि तत्कालै थपेकी थिई—“हामी दुवैको नाम पानीसँग जोडिने रहेछ त ? कस्तो संयोग है ?” 

कहिलेकाहीँ हामी एक अर्काको फेवरेट हिरो, हिरोइन, कलर आदीको कुरा गरेर पनि घण्टौँ बिताउँथ्यौँ । उसले नेपाली फिल्म खासै नहेर्ने कुरा गर्थी । उसको फेवरेट बलिउड हिरो भने रनबिर सिंह र हिरोइन दिपिका पाडुकोन थिए । बलिउडमा मेरो फेवरेट हिरो हिरोइन यहि भन्ने थिएन । तर म नेपाली अभिनेता दयाहाङ राइको भने निकै ठूलो फ्यान । हिरो÷हिरोइनको सबालमा हाम्रो च्वाइस फरक भएपनि फेवरेट कलर भने साझा थियो । हामी दुवै जनालाई निलो रङ मन पथ्र्यो । त्यसैले उसको स्कुटरको रङ पनि निलो थियो । कहिलेकाहीँ उसले खिचेका फोटोहरु मलाई म्यासेन्जरमा पठाइदिन्थी, ति प्राय निलै कपडामा खिचिएका हुन्थे ।  

कहिलेकाहीँ उसले मलाई फोनमा भन्ने गर्थी—“तिमी त मेरो आदत बनिसक्यौ, सजल । कम्तीमा पनि दिनमा एक पटक तिमीसँग बोल्नैपर्छ मलाई ।” उसले बोलेको यो वाक्यसँगै मन खुसीले भरिएर आउँथ्यो र मैले जिस्काएर हाँस्दै भन्थेँ—“मसँग लव प¥यो के हो ?” मेरो यो जिज्ञासापछि उसले भन्थी—“केटा न प¥यौ, फ्लर्ट गर्न त आउँछ है, बुद्धु ?” उसको यो जवाफले ऊ पनि म जस्तै प्रेम गर्छे कि गर्दिन होलाको भूमरीमा बेस्सरी फस्थेँ म । तर उसलाई सत्य कुरा बोल न भन्ने हिम्मत जुट्दैनथ्यो । 

यसरी मसँग बोल्ने आदत परेको ऊ फेरी बेला–बेलामा एकाएक गायब हुन्थी । मैले पहिले पनि भनेँ नि ? ऊ साँच्चिकै बुझिनसक्नुकी थिई । उसलाई मन लाग्दा घण्टौँसम्म फोनमा र म्यासेन्जरमा बोल्थी । फेरी बीचमा उसलाई के पथ्र्यो खोई ? एकाएक सम्पर्क बिहिन भएर बस्थी । यो पटक पनि उसले फेरी त्यहि गरी । उसलाई अफलाइन म्यासेज छोडेँ, फेसबुकमा एक्टिभ थिइन । मोबाइलमा म्यासेज गरेँ, रिप्लाई आएन । हरेक दिन जसो फोन गरेँ । तर उसको मोबाइलमा फोन लागेन । पाँच दिन भैसकेको थियो, ऊसँग कम्प्युनिकेसन ग्याप भएको । ऊ त मेरो लागि ड्रग्स बनेकी थिई । उसको उपस्थितिमा म ड्रग्स एडिक्टेड जस्तै मानसिक रोगि बनिसकेको थिएँ । उसले भनेजस्तै उसको लागि म आदत बनेको थिएँ या थिएन तर मेरो लागि त ऊ नभइ नहुने ड्रग्स बनि सकेकी थिई । 

तर छैटौँ दिनमा ऊ नयाँ प्रोफाइल पिक्चरसहित फेसबुकमा उपस्थित भई । अफ्सोच, प्रोफाइल पिक्चरमा ऊ अरु कसैसँग देखिएकी थिई । उसको जस्तै गोरो अनुहार, त्यसमाथि कालो पातलो दारी, अग्लो कदको शरीर, केहि चुच्चो नाक, कालो जिन्स र कालै कमिज लगाएको एउटा आर्यन फेसको केटासँग खिचिएको तस्बिर थियो त्यो । उसले आफ्ना दुवै हातले त्यो केटाको पाखुरा बेरिने गरी समाएकी थिई भने टाउको त्यहि केटाको काँधतिर ढल्काएर डिम्पल देखिने गरी हाँसेकी थिई । साथमा लभ रियक्ट सहित क्याप्सन राखेकी थिई— ‘तिम्रो एक उपस्थितिले पनि जीवन मुस्कुराउन थाल्छ, डियर !!’

उसको यो क्याप्सन र क्याप्चरले छाती पुरापुर जाम भएजस्तो, मुटुको धड्कन रोकिए जस्तो भो । त्यतिखेरको मेरो हविगत कसरी वर्णन गरुँ ? म बसेको जमिन पनि भासिए जस्तो अनि पृथ्वीले तिब्र गतिमा चक्कर लगाए जस्तो । म भित्र त्यतिखेर एकैपटक सबै थोक भएजस्तै भो । केहि सोँच्नै नसकेजस्तो, मस्तिष्क नितान्त शून्य भएजस्तो । 

जति गहिरो पीडामा पनि मनभित्र झिनो आशा भने पलाउने रहेछ । त्यो झिनो आशा के हुनु र ? त्यो केटा उसको व्वाइफ्रेण्ड नभएर आफ्नो कुनै नातेदार भैदिएहुन्थ्यो भन्नु त हो । यो सक (पीडा) को नसा थोरै भएपनि मत्थर पार्ने एउटा झिनो आशा यहि नै थियो । अब, मैले उसैलाई फोन गरेर सोध्ने हिम्मत जुटाउनु थियो ।  प्रयास पनि गरेँ तर सकिन । अरु बेला पो रक्सीको नसामा थिएँ र जोस दिएको थियो, त्यो बेला त पीडाको नसामा थिएँ, बरु मेरो होस लिएको थियो । 

अब भने मैले उसको प्रोफाइल पिक्चरमा पोष्ट भएका कमेन्टहरु हेरेर पत्ता लगाउनु थियो । मैले फेसबुक खोल्नुभन्दा २ घण्टा अगाडि राखिएको उसको यो प्रोफाइल पिक्चरमा ५२ जनाको कमेन्टहरु देखिएको थियो । ति कमेन्टहरु पढ्न पनि हिम्मत जुटाउनुपर्ने अवस्थामा पुगेको थिएँ म । कमेन्ट पढ्नलाई औँलाले मोबाइलको स्क्रिन स्पर्श गर्न खोज्दा मेरो मुटुको तेज तिब्र थियो, आखाँहरु तिरमिराएका थिए भने औँलाहरु थरथराएका थिए । 

जब कमेन्ट बक्सहरु धमाधम खुल्न थाले, मुस्किलले १० वटा भन्दा बढी कमेन्टहरु पढ्ने सामथ्र्य पनि भएन मसँग । कमेन्ट बक्समा बधाईका शब्दहरुको ओइरो थियो । ऊ प्रतिको आशक्तिले मलाई कति लाचार र कमजोर बनाइसकेको रहेछ के । उसलाई पाउने सपनाले रातभर जागाराम बस्ने यि आँखाहरु कमेन्ट बक्समा राखिएका बधाईका दुइ शब्द पनि पढ्न नसकेर आँखा चिम्लनु पर्ने अवस्थामा पो पुगिसकेको रहेछु म । म हैसियत बिर्सेर कल्पनाको आसमानमा पुगेको रहेछु, वास्तविकताको जमिनमा पछारिदा पो बिउँझिएँ । 

यो पाँच दिनको बेचैन र छट्पटी त छैटौँ दिनको उसको एक उपस्थितिले पो हराइदियो, त्यो पनि एक पल मै । तर उसको उपस्थिति यस्तो थियो कि त्यो उपस्थिति ऊसँग बोल्न नपाएको पीडालाई मत्थर पार्ने कुनै औषधी थिएन, थियो त बरु निको नहुने गरी दिइएको जहर । साँच्चिकै ! जब हामी एउटा पीडामा रुमलिएका हुन्छौँ अनि त्यसैमाथि झन ठूलो पीडा हामीसँग सात्क्षात्कार हुन्छ नि, तब हामी पुरानो पीडा बिर्सन्छौँ अनि नयाँ पीडाको गहिरो खाडलमा पर्छौँ, निस्कनै नसक्ने गरी । म पनि त्यहि हालतमा पुगेँ । अझ भनौँ, उसले पु¥याइदिई । अरु बेला लामो समयको ग्यापमा आउँदा ऊ ‘सरप्राइज’ लिएर आउँथी तर यो पटक भने मेरो लागि ‘सक’ लिएर आई । 

चाहे सपनाले हुन् या आँसुले, रित्तिन समय लाग्ने यि आँखाहरु, भरिन चाहिँ कति छिटो सकेको के ? हिजो सपना भर्न पनि समय लागेन, आज आँसु भरिन पनि समय लागेन । यो मन र नयनको सम्बन्ध नि कति निकट छ है ? मनलाई दुख्नु छ त एक्लै लुकेर दुखोस् न, तर यसको आदत नै खराब, नयनमा देखाउनै पर्ने । 

उसको मिङ्गल तस्बिर हेर्दा हेर्दै आँखामा पानी जम्न थालिसेको थियो । जसले गर्दा उसको तस्बिर पनि बिस्तारै धमिलो र अस्पष्ट बन्दै गयो । भलै आँखामा जमेको पानीले उसको तस्बिर धमिलो र अस्पष्ट देखिएको थियो, तर मन मस्तिष्कमा कोरिएको उसको सफा र सुन्दर तस्बिर भने ताजै थियो । सान्त्वनाको लागि दुवै आँखालाई बल लगाएर चिम्म पारेँ । लगत्तै जमेको आँसु दुबै गालाको बाटो हुँदै बगेर गयो । उसको प्रोफाइल पिक्चरमा मैले पनि ‘हार्दिक बधाइ’ लेखेर कमेन्टलाई ५२ बाट ५३ पु¥याउन मन थियो, तर हिम्मत आएन । उसले सोधेको मेरो नाम ‘सजल’ को अर्थलाई अझ प्रष्ट पार्न मन लाग्यो । अनि आफ्नै प्रोफाइलमा गएर वायो चेन्ज गरिदिएँ— सजल : Filled with tear (आँसुले भरिएको)

क्रमश...

प्राप्त प्रतिकृयाहरू

रबिन्द्र कडेल लेख्नुहुन्छ (२०७६ श्रावण १३ सोमबार ७:४१ pm )

यसरी मसँग बोल्ने आदत परेको ऊ फेरी बेला–बेलामा एकाएक गायब हुन्थी । मैले पहिले पनि भनेँ नि ? ऊ साँच्चिकै बुझिनसक्नुकी थिई । उसलाई मन लाग्दा घण्टौँसम्म फोनमा र म्यासेन्जरमा बोल्थी । फेरी बीचमा उसलाई के पथ्र्यो खोई ? एकाएक सम्पर्क बिहिन भएर बस्थी .... कथा जस्को होस हरेक प्रेमिल हरु लाई यी हरप ले छ्न्छ छुन्छ । ।।।।।

BIJAYA GARTI MAGAR लेख्नुहुन्छ (२०७६ श्रावण ८ बुधबार ३:१६ pm )

Man ta xoyana. tarw aasu tw rukena. .

jeet लेख्नुहुन्छ (२०७६ श्रावण ८ बुधबार ०१:१० am )

धेरै राम्रो छ भाई

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्