जंगली च्याउ : पखालेर वा उमालेर विष जाँदैन, विषालु च्याउ खाँदा के हुन्छ ?

बुटवल । मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको संख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेल बताउँछन । वर्षा सुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको ज्यानै जाने पौडेलले बताए । 

अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले सबै च्याउ सामान्य नभएर विषालु हुने बताए । विशेषगरी वनको च्याउ बढी विषालु हुने र तिनमा विष देखिने गर्दछन । त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाइ छ । च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने उनको भनाई छ ।

जानकारीको अभावमा कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ । अधिकारीले भने, “यिनीहरुमा पहिलेनै तयारी विष हुन्छ, ती कीटाणु होइनन ।” यिनीहरुले सोझै शरीरको कलेजो, मिर्गौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखिने उनको भनाइ छ ।

विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अङ्गमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने उनले बताए । विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अङ्गलाई असर गरेको छ त्यही अङ्गको उपचार गर्नुपर्ने उनको भनाइ छ । अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन सुझाव दिए । 

च्याउलाई उमाल्दैमा विष नजाने उनको भनाइ छ । पहिले हल्का हल्का विष लाग्यो भने अरु केहीले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उनको सुझाव छ । अधिकारीले एउटै ढुसीमा पछि पनि विष कडा खालको बन्ने गरेको बताए । वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारले बताए । उनका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन भने दुई दिनपछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय