१६ चैत २०८०, शुक्रबार

एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने ठुला तीन गुफा

रुकुम पूर्व । रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन् ।

गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ ।

अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ । यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेका छन । गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताए । उनका अनुसार जमीन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ । वडाध्यक्ष पुनले भने, “यो भन्दा अगाडि मैले पोखरा र रुकुमकोटलगायतका ठाउँमा रहेका गुफाहरु हेरेको छु, तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला आकर्षक र अनौठा खालका छन् ।” यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उनले बताए ।

त्यसैगरी नजिकै अर्को गुफा रहेको छ । त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन् । जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुने गर्दछ । जता हेरे पनि सुनजस्तै पहेँला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ ।

त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ । जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताए ।यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ । गुफाभित्र केही वस्तु राखियो भने केही वर्षभित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ । गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ ।

यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्फ त्यति चासो नदिएका कारण यसको बारेमा कसैले थाहा पाउन सकेका थिएनन् । तर, स्थानीय सरकार र अहिलेका युवाहरुले यी गुफाको बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरुको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन् ।

कोल गाउँभन्दा तलतिर गुफाहरु रहेका छन् । तर, ती गुफामा पुग्नका लागि धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ । कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाए । 

निमको अर्थ मगर खाम भाषामा भालु हो । यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताए । यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ ।

जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा

यी गुफाहरु जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ । गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन् । दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए ।

अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन । बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन् । थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन् । यस गुफाको पहिचानका लागि गत वर्ष वडाले १ लाख छुट्याएको वडाध्यक्ष पुनले बताए ।

त्यसैगरी रुकुम (पूर्व)का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताए । भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम (पूर्व)को पर्यटकीय गन्तव्यको रुपमा चिनाउने बताए । आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यको रुपमा चिनिने र स्थानीयवासीको लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उनको भनाइ छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्