१६ चैत २०८०, शुक्रबार

सवै स्थानीय तहसँग जोडिने गरी महिलामैत्री बस सञ्चालन गरिने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे ३ करोडमा सात बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।

प्याकुरेलका अनुसार उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना ३ बस १ करोड २९ लाख ७४ हजार ७ सय र ठूला ४ बस २  करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक महीनादेखि उपमहानगरपालिकामै थन्किएका छन । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिए । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उनले बताए ।

यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्