८ बैशाख २०८१, शनिबार

ए ! माइकालाल !!

एक सिजन नमस्कार गरेर भिख माग्ने आयो । के गाउँ के शहर, सडक, स्कुलसम्मा चौतारा जहाँतहीं सुकिला मुकिला मगन्तेहरुको दौदा दौड थियो । सकसेका सन्तानहरु पसिना काडेर उचो ठाउँमा मञ्च बनाइदिने, पाखा पखेरामा फुलेका फूलका मुन्टा निमोठेर तिनमा गर्दनमा छिराइदिने, लाउराट आएको रातो धुलोले बैमानी अनुहार छेकिदिने, आसपासमा क्यास, गास र समरसका अनुयायीहरुको दलबल घुमाउने गरे ।  

दिनभरीको कोलहलले कान ट्टयाउँदै सकसे डेरा छिर्दै थियो । बेहोरा त जस्तो समाज सकसेको नी उस्तै हो । त्यही कोलहल सुन्दै हिंड्थ्यो सकसे । यत्तिकैमा सकसेको डेरा छेउँमा एउटा कर्कस आवाज आयो । त्यो आवाजले ‘माइकालाल !’ बोल्दै थियो । सकसेको गिदि पनि काँ गतिलो ‘माइकालाल !’ भन्ने कसैको साथी होला बोलाउँदै छ भन्ने लाग्यो । तर अबेरसम्म सकसेका कानाँ ‘माइकालाल !’ गुञ्जिरह्यो । सकसेको गिदिनै खलबलियो, कस्तो साथी यार यति बेरसम्म बोलाउँदा पनि नबोल्ने मूला साथी ! सकसे जरखरिदै त्यतैतिर हुत्तियो । बाबै नी ! ‘माइकालाल !’ बुलाम्ने मुन्छे त ! बुडेमानको भूँडि भएको, बिचरा ! सोमरसले साह्रै गलाएर सडकमै उत्तानो परेको पो हैच ! दिनभर विकासे पार्टिको प्रचार गरेच, साँझपख सोमसरले लल्याङलुलुङ भएपनि बोल्दो रहेछ, ‘माइकालाल !’ । हाम्लाई जित्ने कोही छ, अब ‘माइकालाल !’ ले जितियो जित्यो जित्यो । जनता ‘माइकालाल !’ जिताए, जिताए । ईस खाउ । जित कस्को ..... ‘माइकालाल !’

सकसेलाई त्यहाँ धेरैबेर बस्ने धोको रहेन । त्यहाँबाट फुत्कियो, डेरा छिर्यो । सुत्ने तरीखरीमा लाएको सकसेले फेरि मनमा कुरा खेलायो । त्यो उसकाँ उत्तानो परेकाले कल्लाई ‘माइकालाल !’ भन्या हो ? कुन चाही रहेछ त्यो जित्ने ‘माइकालाल !’, ? पार्टि हो ‘माइकालाल !’ कि ? त्यो पार्टिले उठाएको प्रतिनिधि होला ‘माइकालाल !’, ? कति धेरै प्रश्नसँग मन लडाएर थाकेन त्यसरात सकसे । विहान त्यो माइकालाल ! पत्तालाउन सकसे पनि बाटोतिर सोझियो । कोलाहल सुरु भयो । कोलाहलकै एक भिडमा हिजो सडकमा उत्तानो परेर माइकालालले जित्यो जित्यो भन्ने पनि लाम लायो । सकसेले बल्ल चिन्यो, ए ! माइकालाल पार्टि र त्यसको प्रतिनिधि त तो पो रैच ! उत्तिबेले सकसेले भन्यो, ‘यिनीहरु माइकालाल हुन ।’ सकसेको यो भनाई सुन्नहरु गललल्ल हाँसे । केहीले सकसे भाई ठीक भन्यो पनि बोलेर मलाई उचाले, केहीले नाम ठीक राख्यौं भाई उनीहरु ‘माइकालाल !’ हुन भने । फेरि सकसेलाई सकसमा पारे । अरे यार ! मैले सत्य कुरो बोल्दा कोही हाँस्नुपर्ने ? कोहीले गिज्याए झैँ गरेर ठीकै नाम राख्यौ भन्ने ? त्यहाँपनि सकसेको चित्त बुझेन पख न ‘माइकालाल !’ ले जितोस न बल्ल मैले भनेको के रै’च था हुन्छ । 

नमस्ते भिखारीहरुले गाउँगाउँमा मागजोग पनि सके । ठाउँ ठाउँमा बासक थापियो । क्यास गास र समरसका सिपाहीहरु एकै महिनामा ठूलौ गर्दन हालेका देखिन्थे । घरमा साइकल नहुनेले मोटरसाइकलको कान बटार्थे, बाउआमा साहुको निमेक गर्नेहरुका छोराहरु भट्टीमा पाडाको त्यान्द्रो र सोमसर साँधेर हसुर्थे, बाटोभरी अंग्रेजी बोल्थे । सकसेलाई लाग्थ्यो उनीहरुको अंग्रेजी बोलीले तिनै माइकालालको बखान गाउँथ्यो होला । अंग्रेजीको बिचाबिच माइकालाल जस्तो सुन्दा सकसेको अनुमान झ्वाम्मै मिल्थ्यो । यस्तैमा गरिब जनताले गरेको दान गनियो । नभन्दै माइकालालले जित्यो । 

आज कतै सदनमा ‘माइकालाल !’, कतै सडकमा ‘माइकालाल !’, कतै सरकारमा ‘माइकालाल !’, कतै सरकारको विपक्षीमा ‘माइकालाल !’ बाटो बनाउनेमा ‘माइकालाल !’, भत्काउनेमा ‘माइकालाल !’, मन्दिर बनाउने ‘माइकालाल !’, भत्काउने ‘माइकालाल !’, हिजो तास खेल्नेलाई पानीमा भिजाएर खुवाउने ‘माइकालाल !’ आज आफै तासको मुठो अठ्याउने ‘माइकालाल !’ हिजो माइलालामा बनाउने ‘माइकालाल !’ आज माइलालामा समाउने ‘माइकालाल !’ हिजो बलात्कार भयो सरकारले छेकेर यल्लाई हुत्याउनुपर्छ भन्ने पनि ‘माइकालाल !’ आज निर्मला पन्तको जस्तो घटना अझै हुनसक्छ यो अनौठो होईन भन्ने पनि ‘माइकालाल !’ हिजो धनकमाउनेलाई धरपकड गर्ने पनि ‘माइकालाल !’ आज अलिशानको दरबारमा थन्किने पनि ‘माइकालाल !’, ए ! ‘माइकालाल !’?? तेरो सन्तानको नाम पनि ‘माइकालाल !’ हो र तेरा सन्तानले काम पनि ‘माइकालाल !’ गर्ने ? सकसेको सकस बढ्दै गएको छ । 

केही दिनयता सकसेको पसिना खाने ‘माइकालाल !’ देखि कन्सिरी तातेको छ । विकासका नाममा जनताको भोट मागेमा मगन्तेहरुले सकसेको पसिना खाए । प्रशासन सञ्चालनका नाममा कर्मचारीहरुले मै सकसेका खुन पिएर जुका ढाडिएझै ढाडिए । जनताको नाममा नेताका अघिपछि लाग्ने भातमारादेखि, राज्य चलाउने नकचराहरु ! सकसेको नजरमा खास माइकालाल ! हुन् । यिनै माइकालालसँग हिसाब किताब माग्न मन छ । मेरो पसिना खाने र रगत चुस्ने चुस्याहा, घुस्यहा र भुस्याहाहरु साराका सारा माइकालालहरु हुन् । यिनले मलाई निचोरेर, थिचोरे, घिसारेर, अघि सारेर, पछिपारेर, स्वाङ पारेर ढोंग रचेर, लुट्नु लुटे, भुट्नु भुटे । 

ए माइकालाल हो ? लाजपचेका नर्कमुखी । भोटको भिकमाग्नेहरु, जनभिखारी गाउँ कुनाको विकास गर्छु भन्दै राज्यकोषको पैसामा मनपरि सकसेले सहनुपर्ने ? राज्यकोषको दोहन गर्दा पनि सकसेले सहनुपर्ने ? भ्रष्ट्राचार विरोधी आन्दोलन गर्नेहरु त्यसकै आरोपमा समातिदा पनि सकसेले रमिता हेर्ने पर्ने, लाउडाबाजे मुर्दाबाद भन्दा सकसेले वाइडबडी जिन्दावाद भनेको पनि सुन्नैपर्ने ? दरबारका सामन्तहरु मुर्दावाद भनेको सकसेले नयाँ दरबार बनाउँदा स्वावास भन्नुपर्ने ? सकसेले देख्यो देख्यो गाउँगाउँमा सिंहदरबार होईन स्यालदरबार आएच । घर घरमा रोजगार होईन भ्रष्ट्राचार छिरेच । भुँडिप्रतिनिधिलाई जनप्रतिनिधि भनेर छाप ठोकिएच । सुशासन होईन कुशासनका मतियारहरु नौटंकी गरेर जनता गरिब राख्दा रैचन भन्ने सकसे जान्ने बुझ्ने पनि भएको थहा लाग्दैछ । आजकल सकसेले ठाडै भन्च, ए ! माइकालाल देश खाइस् ? जवाफ कसैले दिन्न । सकसेले फेरि प्रश्न गर्च खाइस ए ! माइकालाल !!

#सकसे


सकसेको कलम धरातल अनलाईनको व्यङग्यात्मक साप्ताहिक स्तम्भ हो । यो स्तम्भ पढिसकेपछि जस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । Email : [email protected]

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्