१६ चैत २०८०, शुक्रबार

विस्थापित परिवारको कन्तविजोग : खाद्य संकटसँगै महामारीको जोखिम !

पहिलो माग गास, बाससंगै सुरक्षित स्थान

गुल्मी । जिल्लाको सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकमा गत साउन ७ गतेको बर्षासंगैको पहिरोले ठुलो धनजनको क्षति गरेको छ । पाँच जनाको ज्यान गयो । घाइते दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । झण्डै चार सय परिवार बिस्थापित भएका छन् । 

पहिरोले गाउँ घेरेको छ । बर्षासंगै पहिरो जाने क्रम अझै रोकिएको छैन् । बर्खे बिदाका कारण तत्काल विस्थापित परिवारलाई विभिन्न बिद्यालयमा व्यवस्थापन गरिएको छ । बिद्यालय सञ्चालन गर्ने समय नजिकएकाले विस्थापित परिवारलाई व्यवस्थापन गर्ने नै अबको चुनौति रहेको वडा नं ३ का वडाध्यक्ष रुक बहादुर रानाले बताए ।

जोखिम मोलेरै घर फर्कने अवस्था

अहिले ठुलोलुम्पेकको पहिलो चुनौति पहिरो प्रभावितको सुरक्षित व्यवस्थान हो । पीडित व्यक्तिहरुले लुम्पेकको भुगर्भबिद्हरुले अध्ययन गरेर सुरक्षित स्थान पत्ता लगाए आफुहरुले टेण्ट लगाएर बस्ने बताउँछन् । 

‘चारै तिरबाट पहिरोले घेरेको छ, घर गए बाँचेर फर्किने सम्भावना छैन कति दिन बिद्यालय कव्जा गर्ने ?’ सबैभन्दा बढि पहिरो प्रभावित सिङदी गाउँका प्रकाश विकले धरातल अनलाईसँग भने, ‘राज्यले बस्ने ठाउँ बताउनु प¥यो ।’ उनले छिटोभन्दा छिटो आफुहरु बस्ने स्थानको टुङ्गो लगाउन माग गरे । गाउँ घर पनि जान नदिने र सहि व्यवस्थापन पनि नगर्दा थुप्रै परिवारको बिचल्ली भएको विकले बताए । 

सिङदीकै टीका तरामुले १५ दिनमै चार सय परिवारको व्यवस्थापन गर्न बिद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको बताए । साथै उनले घर, सम्पती, दुहुना भैसी र बाख्रा वेवारिसे छोडेर आएका स्थानीयलाई सहि समयमा सुरक्षित बनाउन नसके जोखिम मोलेरै घर फर्कने स्थिती रहेको बताए ।

गर्भवतिदेखि बृद्धबृद्धा बढि प्रभावित

यममाया गाहा । सात महिनाकी सुत्केरी हुन् । पाँच दिनदेखि धर्मपुर शिविरमा छन् । पहिरोले घरगोठ घे¥यो । फेरि ठुलो पानी परे त्यो पनि रहँदैन् । बच्चा कोखिलामा च्यापेर यममायाले त्यसैदिन परिवारसंगै घर छोडिन् । आठ जनाको परिवार धर्मपुर माविमा बस्दै आएको छ । ‘सुत्केरी भनेर अर्को बिकल्प छैन दैनिक दाल भातनै खाएका छौँ बरु कहिलेकाहिँ पुग्दैन’ विकले गुनासो गरिन, ‘चिसो भुइँमा एक सरो कपडा ओढेर बच्चासँग रात काटेकी छु ।’ लेकमा चिसो मौसम र प्राप्त कपडाहरु नभएकाले आफु र बच्चालाई निकै समस्या परेको विकले बताइन् । 

उनीसंगै ११ महिनाकी बच्चाकी आमा सुष्मा सुनार पनि शिविरमै छन् । उनले सानो बाबुसंगै शिविरमा खानपान गर्न र सुत्न निकै मुस्किल परेको गुनासो गरिन् । पहिरोले घर जोखिममा परेपछि शिविर आएका ९० बर्षीय धनसिहं विकलाई दिन कटाउन मुस्किल परेको छ । विकले धर्मपुर माविको बेन्चमै बसेर पछिल्ला दिन कटाएका छन् । ‘मर्ने बेलामा दैव लाग्यो घरमा बस्न दिदैनन, स्कुलमा के खाएर कसरी बच्ने ?’ धनसिंहले भने, ‘घरको न घाटको भएर मर्ने भएँ ।’

पहिरो प्रभावित क्षेत्रमा खाद्य संकट

ठुलोलुम्पेकमा खाद्य संकट देखिएको छ । असार मसान्त नजिकएकाले पहिरो जानुभन्दा धेरै पहिलेबाट गाउँले व्यापारीको पसलमा स्टक सामान थिएन् । त्यसपछि लगत्तै ट्रक आन्दोलन र पहिरोका कारण सडक अवरुद्ध हुँदा गाउँमा किनेर खाने एक बोरा चामल र दाल छैन् । लुम्पेककमा दैनिक चार सय विस्थापित परिवारलाई बिहान साँझ खुवाउनुपर्ने बाध्यता छ । ‘मन्त्री ज्यूले हेलिकप्टरमा नल्याएको भए भोकले मरिन्थ्यो अहिले त्यो पनि भ्याए’ वडा सदस्य अर्जुन तरामु मगरले भने, ‘गाडीबाट ल्याउन बाटोको नाम निशान छैन् ।’

उनले अहिलेसम्म केन्द्रबाट आएको २० क्विन्टल चामल, दाल र चिउरा बाहेक केहि राहत गाउँ नआएको बताए । अब विस्थापित परिवारसंगै गाउँमै खाद्य सामग्री संकट रहेको बताए । बाटो अवरुद्ध भएका कारण राहत अस्लेवामै थन्किएको छ । दुई वटा डोजरको प्रयोग गरेर सडक सञ्चालनको पहल भएकाले खाद्य संकट समाधान हुने सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।

महामारी फैलने जोखिम बढ्दै

पहिरो प्रभावित क्षेत्रमा महामारी फैलने सभ्भावना बढेको छ । पहिरोले बगाएका पशु चौपायको सहि व्यवस्थान नहुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धसंगै धेरै संख्यामा विस्थापित पानी तथा अन्य खानेकुराबाट स्वास्थ्य समस्या आउने सम्भावना रहेको सिद्ध आधारभुत प्राविको प्रध्यानाध्यापक ज्ञानमाया तरामुले धरातलसँग बताइन् । 

त्यस्तै राम्रो खानपान नभएकाले सुत्केरी, गर्भवति, बालबालिका र बृद्धबृद्धालाई स्वास्थ्य समस्या देखिन थालेको बताइन् । ‘धर्मपुर माविका साढे दुई सय विस्थापित एउटा चर्पी, बिहान कति जना लाइन लाग्ने ?’ उनले धरातल अनलाईनसँग भनिन, ‘बारीबारी दिसापिसाब गरेर बेहाल छ ।’ उनले पोष्टमार्टम गर्न आएदेखि स्वाथ्यकर्मी गाउँमा नआएका गुनासो गरिन् । हात धुने साबुन समेत नभएकाले औषधीको कुरा परै रहेको तरामुले बताइन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्