१६ चैत २०८०, शुक्रबार

फेरिएको तीज : संस्कृति कि विकृति ?

जेठीमा भाउजुले सुकाएको बिस्सुन 
भँगेरी चरीले मैदानमा लरी लरर...
जेठामा दाजीले टक्क बचन लाउँदा 
घर मेरो छैन र रुन्छ नि मन धरी धरर...

स्वामीजीले भन्नुभयो अंग्रेजीमा वाटर 
नबुझेर दिएँ मैले काँचो कटहर...
स्वामीजीले भन्नुभयो अंग्रेजीमा बनाना 
नबुझेर आँगनीमा नाँचे फनन...

हामी साना–साना छदाँ गाउँ घरमा आमा, दिदी, भाउजुहरुले तीजको समय यस्तै गीतहरु गाउनुहुन्थ्यो । जुन गीतहरुमा माइतीका गुनगान अनि गुनासो, बिहे गरेर श्रीमानको घर गएपछि भोग्नुपरेका बुहार्तन, दुःख कष्टलगायतका कुराहरु समेटिएको हुन्थ्यो । वर्षायामको झरीमा रुझ्दै घाँस काट्दा होस वा संगीसाथी मिलेर मेलापात गर्दा तीजको बेला यस्ता मौलिक गीतहरु गाइन्थे, सुनिन्थे र नाचिन्थे । 

दिनभरी घरको काम सकेर हप्तामा  एक/दुई रात जम्मा भएर यस्तै गीतमा नाच्ने गर्दा गाउँ नै रमाइलो हुन्थ्यो । नाचगान सकिएपछि काँक्राको अचार र अमिलो साँधेर खानुको छुट्टै आनन्द हुन्थ्यो । त्यसैगरी वर्षदिनसम्म भेट हुन नपाएका दिदीबहिनी, संगीसाथी जमघट हुने रमाइलो थलो हुन्थ्यो हरितालिका तीजको दिन ।

तीज हिन्दु धर्मावलम्बी महिलाहरुको लागि विशेष चाड मानिन्छ ।    यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको पुजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गरिन्छ । तीज नेपाललगायत भारतका विभिन्न स्थानहरुमा समेत मनाउने गरिन्छ । पछिल्लो समय यो चाड सबै जात र समुदायको लागि साझा चाडको रुपमा विकसित हुँदैछ । समग्रमा यसले हाम्रो सांस्कृतिक पहिचानलाई बोकेको छ । 

नेपाली समाजमा पछिल्लो समय तीज मनाउने शैलीहरु फेरिएका छन । हिजो थपडी, डम्फु, मादलमा गाइने सामान्य तीज गीतहरु अहिले आधुनिक बाजागाजामा लयबद्ध छन, यो सकारात्मक पक्ष हो । अर्कोतिर अहिले धेरैजसो तीजका गीतहरुमा मौलिकता छैन, कतिपय गीतहरु पुरानै गीतहरुलाई तोडमोड गरेर गाइएका छन त कतिपय गीतहरुमा तीजको आभास नै छैन । लोकगीत अनि रत्यौली पाराका छाडा गीतहरु छन । एकाद गीतहरु मौलिक छन, तीजको महत्व झल्काउने खालका छन ।  समग्रमा जुन प्रवृत्ति मौलाउँदै गइरहेको छ, यो सोचनीय छ । लेख पढ्दा लेखकले फेरिएको शैलीलाई समयअनुसार स्वीकार्न नसकेको पनि लाग्न सक्छ । भन्न खोजेको यत्ति होकि तीज गीतहरु कमसेकम  आफ्ना बाआमा, दाजुभाई र मान्यजनसँग सँगै बसेर सुन्न र हेर्न सक्ने त हुनुप¥यो । 

अर्को पक्ष तीज निकै भड्किलो बन्दैछ । विशेषत शहरी क्षेत्रमा तीज आउनुभन्दा एक डेढ महिना अगाडि नै होटल, रेष्टुरेण्टमा हुने भिडभाडले तीज निकै खर्चिलो बनिरहेको छ । जसको कारण सामान्य हैसियत भएका महिला दिदीबहिनी, आमाहरुसंग बिस्तारै टाढिंदै छ तीज । तीज फेसन र गहना प्रदर्शन गर्ने थलो बन्नुभएन । यो त महिला दिदीबहिनी, दाजुभाइ, संगीसाथी बीचको सम्बन्ध प्रगाढ बनाउने र हार्दिकता बढाउने माध्यम बन्नु जरुरी छ । यसको लागि महिलाहरु स्वयं मितब्ययी र सरल बन्न जरुरी छ ।

अर्कोपक्ष आजकाल तीजका जमघटहरु गहना र कपडा प्रदर्शन गर्ने थलो बनिरहेका छन । राम्रो आर्थिक हैसियत हुनेहरुका लागि यो कुरा सामान्य लाग्नसक्छ तर निम्नवर्गीय जीवन बाँच्ने धेरैजसो महिला दिदीबहिनीहरुका लागि यो जटिल कुरा हो, कठिन कुरा हो । यसकारण पनि तीज हुने खानेहरुको पर्व बन्दै गइरहेको छ । हुँदा खानेहरु पनि तीजमा उत्तिकै रमाउन सके बल्ल यो साझा पर्व   बन्छ ।

मलाई अनुभव छ, गाउँघरमा कत्ति धेरै दिदीबहिनीहरु त प्रशस्त गहना र महंगा कपडा नभएको कारण वर्षौँदेखि तीजको डाँडो कुच्नुभएको भएको छैन । यो सबै तीज मनाउने भड्किलो शैलीको उपज हो । हुन त समाजमा विद्यमान वर्गीय असमानता नै यसको मुख्य कारण होला । तर समानताका लागि सुरुवात यस्तै स–साना कुराबाट गर्नुपर्दछ । जसले गर्दा कसैलाई हिनताबोध र कसैलाई अहमता नहोस । 

अन्त्यमा आधुनिकताको नाममा  तीजमा उछृङखलता र छाडापन बढ्नुभएन । सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि तीजका गीतको मर्म र सार हराउनुभएन । सांस्कृतिक तथा धार्मिक महत्व राख्ने महान चाड तीजलाई सभ्य रुपमा अगाडि लैजान सकियो भने मात्र तीजले खास अर्थ राख्नेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्