८ बैशाख २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जर्मनीले देखायो चासो 

काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ ।

विमानस्थल सञ्चालनको इच्छा दर्साउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ ।

नेपालस्थित जर्मनी राजदूताबास मार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । अब, छिट्टै जर्मनीकोतर्फबाट प्रस्ताव पेश हुन्छ”, उनले भने । म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यो प्रस्तावप्रति मन्त्रालय र प्राधिकरण दुवै सकारात्मक देखिएको बताइन्छ । 

उनले भने, “कसलाई जिम्मा दिने भन्नेबार सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्णय हुन्छ ।” गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जिटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानिर्देशक पोखरेलका अनुसार गौतमबुद्ध विमानस्थ सञ्चालनका लागि कुन देशको कस्तो कम्पनीलाई जिम्मेवारी दिने भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने गरी पर्यटन मन्त्रालयमा एक एकाइ गठन गरेर काम अघि बढाइनेछ ।

म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको बताइएको छ । आगामी डिसेम्बर महिनासम्म निर्माण सम्पन्न गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने योजनाका साथ धमाधम निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन केही ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण सम्पन्न भएको करीब तीन महीनापछि मात्रै व्यावसायिकरुपमा सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए ।

विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि दुई साताअघि तेस्रोपटक समयावधि थपिएको थियो । आगामी पुस १६ गतेसम्म निर्माण सकिनेछ । प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने बताए
 
पोखरा क्षेत्रीय विमानस्थलको निर्माण तीव्र गतिमा

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र गतिमा अघि बढेको प्राधिकरणले जनाएको छ । निर्धारित समय सन् २०२१ जुन अघिनै सञ्चालनमा ल्याउने गरी काम प्रभावकारी रुपमा अघि बढेको आयोजनाले जनाएको छ ।
 
गौतमबुद्ध विमानस्थल सञ्चालनकै ढाँचामा पोखरा विमानस्थल सञ्चालन गरिनेछ । यस्तै बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि आवश्यक प्रक्रिया अघि बढेको छ । प्राधिकरणसँगको सम्झौता अनुरुप नेपाली सेनाले चार किल्ला तोक्ने र तारबार गर्ने काम गरिरहेको छ ।

विवादमा रहेको रुख कटानका लागि अहिले वन मन्त्रालयलाई पत्राचार गरिएको छ । निजगढ प्राधिकरणको मुख्य प्राथमिकतामा छ । अहिले विमानस्थलमा पर्ने जग्गाको मुआब्जा वितरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्