खतरामा ‘लुम्बिनी’

बुटवल । लुम्बिनी क्षेत्रमा बनिरहेका औद्योगित संरचनाले लुम्बिनी खतरामा पर्दै गएको छ । यस क्षेत्र मुलुककै बढी प्रदुषित हुने क्षेत्र बनेको छ । यहाँ भईरहेको विकास निमार्ण, आसपासमा बनेका औद्योगित संरचना र भारतीय सीमावर्ती क्षेत्रका उद्योगका कारण समेत लुम्बिनी खतरामा परेको हो ।

विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले आग्रह गरिरहेको छ । तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण एवं प्रदुषण रोकिएको छैन । यहाँ रहेका उद्योग र बन्दै गरेका विकास निर्माणले प्रदुषण उच्च बनाएको हो । भारतीय सीमावर्ती क्षेत्रका उद्योग समेत लुम्बिनीका लागि चुनौति बनेका छन्।

लुम्बिनीको महत्वपूर्ण प्रमाण अशोक स्तम्भ क्षयिकरणले यो अत्याधिक जोखिममा रहेको पुष्टि गरेको छ । सन २०१३ मै युनस्कोले जापानिज बैज्ञानिकमार्फत अशोक स्तम्भको अध्ययन गर्दै क्षयीकरण भइरहेको प्रतिबेदन नेपाललाई बुझाएको थियो । पिलरमा प्रदुषणको धुलो टासिदाँ क्षति भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो । आधा दशक हुँदा समेत अशोक पिलर संरक्षणका लागि उपाय थालिएको छैन । धुलोमा जिप्सम नामक केमिकल उत्पादन भई अशोक पिल्लरमा टासिने गरेको देखिएको छ ।

गुरुयोजना विपरीत लुम्बिनीमा कैयौं संरचना निर्माण भएका छन । विकास कोषमा राजनीतिक नियुक्ती पाउने पदाधिकारीको स्वार्थका कारण त्यस्ता संरचना जथाभावी थपिने गरेका छन । यी संरचनालाई युनेस्कोले मापदण्डविपरीत भन्दै आएको छ । अन्नपूर्णपोष्ट दैनिकमा लक्ष्मण पोखरेलले समाचार लेखेका छन ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिएका हुन । 

कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि निर्देशन दिएका हुन । उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय