१६ चैत २०८०, शुक्रबार

ओइ सरकार !

सकसे गाउँको केटो हो  । शहरका रहरको बिगबिगिमा सकसेलाई नगन्नेहरु मनग्ये होलान । तर सकसेलाई रहरेका शहरमा के–के हुन्चन् सप्पै था’छ । सकसेले हल्ला सुन्यो । गाउँमा सरकार आउने रे । अरे, सरकार त आफै गाउँ–गाउँमा छन् भन्ने चाला पाएको सकसेलाई गाउँमा सरकार आउने हल्ला चलाउने प्रति कन्चट तात्यो । मूला ! गाउँ–गाउँमा सिंहदरवारको गीत गाउने सकसेलाई, खुब नयाँ कुरा भने भन्या होला भनेर, खास वास्ता गरिएन । दिउँसो मन्दल, बर्खामास बाटोमा जमेको हिलो उछिट्याउँदै दुई चार थान गाडि सकसेका आँखा अघितिरबाट उभोतिर हुईकिए । अरे ! को चाँही भुईचम्फे रै’छ ? बर्खा जमेको हिलो कुच्दै सकसेको गाउँभरी रइँदालो मार्ने ? सकेसेलाई फेरी काउकुति लाग्यो । एकाविहानै एउटाले सरकार आउँच् भन्थो । को चाई रै’च । सकसेलाई जान्न मन लायो ।  

उपल्लो गाउँ ठाडो हुईकेको चार पाँग्रेलाई दनक दिन मन लायो सकसेलाई । छोटो चोर बाटो पर्केर माथ्लो गाउँको टापु गएर सकसेले नजिकबाट हेर्यो । त्यो पाङ्ग्राले लतार्दे घिसार्दै, फलामको डब्बामुनि थुनिएका थुनाहाहरुलाई पहिचान गर्ने सोंच सकसेलाई जागेकै हो । सकसे गन्तव्य पुग्यो, त्यो पाङ्ग्रो तल्लो गाउँको खोल्सामा जमेको हिलोमा लदीबुडी खेल्दैथ्यो । हिलो र पाङ्रो खुब मज्जाले रइँदालो मारेको मेरा गाउँलेले हेरेका हेरै भए । मेरो गाउँको बलियो माटो हार खएन, त्यत्नै रोक्दियो र ति सरकारी मान्छेहरु फलामको थुनुवा डब्बाबाट छुट्करा पाए ।

सुकिला मुकिलाहरु एकाएक हिलोमा पत्लुङ उचाल्दै उकालो लाए । सकसे गइपुगेको दुम्कोसम्म पुग्दा त बरा ! हालत खराब भएको थियो । को चई रैच भनेको त ? उनै नमस्कारेहरु ! दुई चार थान भतुवा साथ लिएर सरकार गाउँछिरेका होच । किन आ’का भनेर एउटा लंगुरेलाई सकसेले सोध्यो । एकाएक परिचय ठोक्यो । म मेर साबको स्वकीय सचिव । चिन्नुहुन्च ? यसो ठहराएर हेरेको तै हिजो गाउँमा सापटी नतिर्ने मुरदार होच । टोलभरी बरबराउने भतुवाले आज चिल्लो गाला बनाको रच । ठूलो टाउँकोमा ढल्के टोपी, हातमा कालो मोट्टो कापी साँतेको, बरबरबरबर बतुराइरने उसको बानी कर्ही नगाको र’च । ओए सकसे के छ, सन्चै छस् भन्च । उम भनेर टारें । गाउँका दिदिबहिनीहरु गतिलो लुआ लाएको देखेर होला त्यो बेइमानलाई नमस्कार ठोके । उसले खुब ठूलो मुन्छे पल्टेर अरुको चिनाजानी गराउँदै गयो । उहाँ मेर साव भन्च । म, उहाँको नीजि सचिव भन्छ, उ मेर सावको सल्लाहकार भन्च, उ सेकुरिटि भन्च, उ राजनीतिक सल्लाकार भन्च, उ प्रेस सल्लाकार भन्च ।  मेरा बा ! हेर त मगुवाहरुको रजाई !!

गाउँका मान्छेले पनि के–के न पाइएला जस्तो, भएभरका खोराँ सुतेका कुख्रा काटे, घैटाँ राखेका सोमरस निकालेर गिलासाँ टकारे, गाउँको लोकल चावल छैन ? त्यो ढल्के टोपीले अडर ठोक्यो । अर्धवैसे दिदिले ‘होलानी बाबु भन्दै लोकाचार लतारिन ।’ सबैले मेरा गाउँलेले बनाको मीठा–मीठा परिकारहरु, लादी बस्नेमा कोचारिदिए । अनी डकार्दै मेरले भन्यो, ‘यहाँ आमा समुह छैन ?’ एउटी बुढि आमाले पर बाट भनिन्, ‘आव हाम्रो ज्यानमा बल परान हुँदासम्म गाउँभरी नाचियो, आइमाईकेटाटी जम्मा पारेर गित गाउँदै मादल ठोक्दै हिडयो, अलिअलि कोष पनि हुन्थ्यो । आजकलका छोरी बुहारीहरु त्यसो गर्न छाडे बाबु !’ मेरले भने, ‘आमा समुह भा, यसो भवन सवनको योजना पार्न हुन्थो, कोही नाच्ने गाउने भा देखाउनु परो, केही सहयोग नी हुन्च । ’ आमैले भनिन् छैन बाबु ! अव म बुरी नाचेर के होला बैंसका मान्दैनन् ।’ कुरा चल्दै गर्दा ढल्के टोपीले भन्यो, ‘अव यहाँ खास केही छैन उतै कार्यक्रम तिर आउनु केही सहयोग हुने भए उतै हुन्च ।’

सबै जराकजुरुक उठ्न लाए, मास्टरनी दिदि उठेर भनिन्, ‘मेरसा’ब यो गाउँको जनताले सारै दुःख पाए, याँको स्कुलाँ यसो भवन पार्न परो ।’ मेरले ठाडो जवाफ दिए, ‘ए तपाइ याँको शिक्षक हो ? ल ल राजनीति नगर्नु राम्ररी बालबच्चा पढाउने, भवन सवनका कुरा हाम्ले गर्चम ।’ मास्टरर्नी दिदि पनि एकाएक सन्किचन् कि क्याओ, फेरि थपिन, ‘हिजो भोट माउँदा सब्बै गर्चम भोट हाल्नु भन्ने अहिले हाम्रा कुरा नसुन्ने ? भात खाँदासम्म यो छ त्यो छ भन्ने, एक छिन बसेर यहाँका दिदिवहिनीको दुःख नसुन्नी यस्ता गए हुन्च । ओए ! कोही नजाव है तिनका मञ्चतिर ।’ यत्तिकैमा मेरको स्वकिय सचिव भन्ने गरेको ढल्के टोपीवालाले भन्यो, ‘तपाई त सरकारी जागिर खाएको मान्छे, के हो ? सरकार आउँदा त्यसो गर्ने जागिर खाने मन छ कि छैन ?’ मास्टरनीले ठाडै जवाफ फार्काईन, मैले त पढेर परीक्षा दिएर जागिर खाको तिम्ले नी, कुरा लाउनी, भएर ? गफ लाउनी भएर, मत विद्यार्थी पढाएर जागिर खान्चु तिमी के गछौं गाउँ डुलेर, जनताको राजश्व यत्तिकै खान लाज लाग्दैन ? मुख भरीको जवाफ पाएपछि ढल्केको अनुहार रातोपिरो भयो, पागल होच, यस्ताले के पढाएका होलान भन्दै निस्क्यो । सकसेले त्यत्रो विराम देखेपनि मनमा लाग्यो, वहा सरकार ! तेरो बदनाम ! सार्वजनिक मगन्तेहरु जनताको भोट मागेर त्यो पदमा पुगेसी उनै जनतालाई थर्काउँदै हिड्ने । एकछिनमा दुईचार जना चाप्लुसेहरु कानेखुसी गरे, केही मान्छे जम्मा भए ।

माला, महिला र मञ्च हाम्रा मञ्चका सोभा होचन् । त्यो मञ्चमा महिला देखिएनन् । महिला नै नभए माला कस्ले ल्याउने, माला र महिला नभएको मञ्च, विचरा महामहिमहरु ! त्यहाँका दुई चार थान पुरुषहरुले खादा र अविर लगाएर सम्मान गरेजसो गरे । भाषणमा महिलाहरुलाई थकाइयो, बढि जान्ने भए भनेर जवरजस्त आरोपित बनाइयो । सकसेलाई त्यो पटककै मन परेन ।  

सकसेर्लाइ मनमनै लाग्यो । थुईक्क गणतन्त्र नारा लगाउने म भाते । समानता र समावेसिताको आवाज उठाउने म बकम्फुस् । जनताको जीवन फेरिन्च भन्दै कम्युनका देशी विदेशी कथा हाल्ने मेरो मुख । आज आफैप्रति आफैलाई लज्जाबोध भएको छ । संघीय व्यवस्था, टोलटोलका सिंहहरु र तिनलाई बनाएका खोरहरु, जस्लाई गाउँको सिंहदरबार भन्चन् । म जस्ता सकसेको दुःखमा केही ननाप्नेहरु मैले गरेको दुःखमा बाँच्छन् रे भन्ने गाँईअगुईंअ मैलेनी सुनेको छु । मैले हातपाखुरा बजारेर, पसिना निचोरेर गतिलो खान सक्दिन, तर मेरो शरिरबाट निचोरिएको पसिना ‘कर’ का नामबाट तिनै दरबारमा बस्नेहरुले नास्ताको चिकन मःमः, डुल्दा, बस्दाको भत्ता नामबाट खान्चन् रे । आज त्यही सरकारलाई गाउँमा देख्यो, भोग्यो सकसेले ।

जस्ले जे व्यवस्था भनेनी सकसेको सकस कसैले मेट्न सक्नै कोही माइकालाल भेटिएन् । कर्म गरेर सजिलोरी खाने दिन पनि कहिल्यै आएन । सकसेले यस्तै यस्तै सोच्दै गर्दा स्मरणका त्यो दिनको याद आयो । काठको बीचभागमा चार पाँचवटा बडेमानका टाउकाहरु झुण्ड्याइएको थियो । छेउँछाउँमा राता कपडामा हंसिया हथौडा अंकित थियो । मान्छेका फोटा झुडाए भन्दा अलि माथि ‘संसारका मजदुरहरु एक हौं ।’ भन्ने नेपाली अक्षर ठूलो गरि देखाइएको थियो । सकसेको मनमा पिर प¥यो । त्यो दृश्यपछि गहभरी आँशु लरखराए । आफु जस्ता मान्छेहरु अझै तिनै कुलंगारका अघिपछि देख्दा, मजाक जस्तो लाग्दथ्यो । जनताको दुःखमा सुखभोग गर्ने त्यो ढल्केटोपी, मैले जनताको नामबाट केही लिंदैन भन्दै भाषण गर्ने मेरले राखेका ति अनावश्यक भतुवाहरु अनी ! अनी ! हिजो मास्टरनी दिदिलाई फकाएर गाउँभरीको भोट लिएर त्यो पदमा पुगेपछि गरिरहेको व्यवहार हेर्दा भावुक भयो सकसे । यस्तालाई त के गर्नु ? मुरमुरिदै सकसे घरतिर लाग्यो । सकसे घर पुगेलगत्तै ति भातमाराहरु गाडि चडेर सकसेको गाउँभरी कालो धुवा उडाउँदै फर्के । सकसेलाई मात्र होइन आज सकसेका गाउँलेलाई असाध्यै पीर परेको छ । पीरको पन्ना पल्टिदै जाँदा अर्कोपटक हिसाव किताव मिलाउने सल्लाह पो हुँदैछ । ओई सरकार ! पख्लास् ? 

#सकसे


सकसेको कलम धरातल अनलाईनको व्यङग्यात्मक साप्ताहिक स्तम्भ हो । यो स्तम्भ पढिसकेपछि जस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । Email : [email protected]

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्