७ बैशाख २०८१, शुक्रबार

भारतीय प्रशासनको निर्देशनपछि तीर्थयात्री फर्किंदै

श्रीनगर । अमरनाथ यात्रामा आएका तीर्थयात्री हतारमा घर फर्कन थालेका छन्। भारतीय प्रशासनले गरेको आग्रहसँगै पूजा र प्रार्थनाका लागि त्यहाँ पुगेका यात्रु सकभर छिटो घर फर्किन थालेका हुन्। अधिकारीले अप्रत्यासित रूपमा तीर्थयात्रा रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँ पुगेका हिन्दु तीर्थयात्रीहरू, उक्त क्षेत्रमा रहेका विद्यार्थी शनिबार हतारमा आफ्ना घरतर्फ जान हजारौँको संख्यामा बस स्टेशनमा पुगेका थिए। सरकारी निर्देशनले स्थानीयमा पनि त्रास र भ्रम उत्पन्न भएको बताइएको छ।

जम्मु(कश्मीर राज्य सरकारले शुक्रवार एक निर्देशन जारी गर्दै ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको थियो। भारतको केन्द्र सरकारले कश्मीरमा केही साताअघि थप १० हजार सुरक्षाकर्मी तैनाथ गरेको र आतंकवादी आक्रमण हुनसक्ने भन्दै गरेको पछिल्लो निर्देशनले स्थानीय बासिन्दामा भय उत्पन्न गराएको हो। यहाँका बासिन्दाले अवस्था लामो समयसम्म खराब हुने त्रासले खाद्यान्न, औषधि, इन्धनसमेत जम्मा गर्न थालेपछि स्थानीय बजारमा सामान किन्नेहरूको भीड बढेको छ। आफ्नो परिचय नखुलाउने शर्तमा एक उच्च प्रहरी अधिकारीले भने, ‘हामीलाई बृहद् स्तरको कानुन व्यवस्थाका लागि तयार रहन भनिएको छ र यसका लागि हामी तयारी अवस्थामा छौँ।’

जम्मु कश्मीरमा विगत ३० वर्षदेखि मनोवैज्ञानिक युद्ध चलिरहेको छ। ‘यहाँका मानिस मारिरहेको कुरातर्फ विश्वले आँखा चिम्लेर बसेको छ। उनीहरूलाई हामीमाथि के भइरहेको छ भन्ने कुराको कुनै मतलब छैन’, श्रीनगरका ५५ वर्षीय व्यापारी नाजिर अहमदले भने, ‘शनिवार बिहानदेखि मैले मानिस गेडागुडी, चामल र पिठो किन्न हतारिएको देखिरहेको छु। मानिस के हुन लागेको भन्नेमा चिन्तित छन्।’

सन् १९४७ मा स्वतन्त्र भएपछि भारत र पाकिस्तानले कश्मीरलाई विभाजन गरेका थिए। त्यसयता कश्मीरकै विषयमा यी आणविकशस्त्र सम्पन्न दुई छिमेकीबीच तीनपटक युद्ध भइसकेको छ। भारतले यस क्षेत्रमा सक्रियसशस्त्र विद्रोहीलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाउँछ। पाकिस्तानले भने यसलाई खण्डन गर्दै आएको छ।

कश्मीर उपत्यका र विद्यमान पाकिस्तानसँगको सीमाना ९एलओसी०मा गरेर लाखौँको संख्यामा सैनिक तैनाथ छन्। कश्मीर विश्वमै धेरै सेनाको उपस्थित रहेको क्षेत्र मानिन्छ। अनुगमन समूहका अनुसार भारत प्रशासित कश्मीरको द्वन्द्वमा विगत ३० वर्षमा ७० हजार मानिसको ज्यान गइसकेको छ। युद्धमा अधिकांश सर्वसाधारणको ज्यान गुम्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ। (रासस/एएफपी)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्