प्राकृतिक विपत्ति र पश्चिम बागलुङको सास्ती 

प्रकृति कसैको पहुँचमा हुँदैन । प्राकृतिक विपत्ति जो कोहीलाई, जहाँकही र जस्तोसुकै बेला आइपर्न सक्छ । प्राकृतिक विपत्ति अप्सोचका घटना हुन् । विपत्ति नपर्नसम्म मान्छे त्यही विपत्तिलाई अप्रत्यक्ष निम्तो गरिरहेको हुन्छ । सुन्दर प्रकृतिलाई, अप्राकृतिक तवरले गरिने दोहन, छेडछाड र त्यसको अनुचित प्रयोजनले यस्ता विपत्ति निम्तन्छन् । 

अघिल्लो वर्ष भाद्र २९ गते राति बडिगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमाक्षेत्रमा मध्यपहाडी लोकमार्ग निर्माण गर्दैगर्दा भिषण पहिरो गयो । निसी, भूजि र तमानखोला मिसिएर बगेको बडिगाडखोला थुनेर त्यहाँ कृत्रिम ताल पनि बन्यो । जसको नाम तुरतुरे पहिरो भन्दा भन्दै तालपनि तुरतुरे रह्यो । पहिरो जानु प्राकृतिक नियम थियो । कारण विकाससँगै विनाश भनेर भन्छौं । प्राकृतिक स्रोत साधनको अप्राकृतिक छेडखानी नै हो । पहिरोले बडिगाड थुनेर बनाएको कृत्रिम ताललाई एकखालको मानसिकताले सौभाग्य पनि ठान्यौं । 

अर्कोतिर त्यसको सहि संरक्षण वा सदुपयोगका हिसावले दीर्घकालिन योजना बनेनन् । अहिले त्यो अप्राकृतिक ताल बडिगाड खोलाकै बाढिले भत्कायो । ताल फुट्यो भनेर अहिले सञ्चार माध्यमहरुमा खबरहरु छन् । गत बर्ष भाद्र महिनाको अन्तिममा खोलाको वहाव कम भएको समय थुनिएर बनेको तालको भविष्य पक्कै थिएन । अहिले ताल रहेन भनेर खास चिन्ता गर्नुपर्ने पनि देखिदैन । एक बर्ष हिंउँद जानसम्म केही समय डुँगा सयर गराइयो, स्थानीयलाई रोजगारीका कुरा गरियो तर त्यो रोजगारीको दीर्घकालिन सोंच स्थानीय सरकारले पक्कै सोंचेन । ‘आए आँप गए झटारो’ नेपाली उखान छ, ताल थियो डुँगा शयरका कुरा आए, ताल गयो, पुरानै जग्गामा खेति किसानीका कुरा अब, चल्नेछन् । 

तुरतुरे पहिरो, त्यसले खोला छेकेर बनाएको ताल एउटा सामान्य विषय हो । हामीले खोजेको प्राकृतिक विपत्तिपछि त्यसले मानवीय जीवनमा पार्ने प्रत्यक्ष प्रभाव र त्यो प्रभावको व्यवस्थापकीय पक्ष हो । विपद कुनै योजना होईन तर विपतपछिको उद्धार, राहत, बस्ती स्थानान्तरण, बसोवासको व्यवस्था तत्कालका योजना हुनुपर्दछ । त्यसले पार्ने केही दीर्घकालिन समस्याहरु हुन्छन्  । त्यस विषयको योजना पनि दीर्घकालिन सोंचसहित आउन सक्नुपर्दछ । अहिले देशमा तीन तहको राज्य सञ्चालनमा छ । संघीय संरचनाबाट राज्य व्यवस्थापन चुस्त दुरुस्त र छिटो छरितो जनताको पहूँचमा पुग्छ भन्ने मान्यता यो व्यवस्थाले राख्छ । त्यो राज्य व्यवस्थाको सोंच आवश्यकता र समस्याको नजिकबाट राख्नुपर्ने हो । त्यो अझै भएको पाइएको छैन । 

ताल बगेपछि मध्यपहाडी लोकमार्ग सडकमा क्षति भयो । तालको भविष्यप्रति सही समयमा विश्लेषण गरिएन । तालको दीर्घकालिन व्यवस्थापनमा कुनै योजना बनेनन् । ताल संरक्षण पनि भएन त्यसको दीर्घकालिन आयु समेत विश्लेषण नगरिँदा अहिले त्यसको नोक्सान बेहोर्नु परेको छ । तालबाट बगेको पानीको वहावले २ सय मिटर हाराहारीमा सडक पुरै बगाएपछि त्यसको विकल्पको बाटो के भन्ने अब नयाँ चिन्ता जन्मिएको छ । 

ताल सामान्य अवस्थाबाट फुट्दा त्यसले बडिगाड गाउँपालिकालगायत गुल्मीको भु—भागसम्मको क्षतिको संवेदनशीलताका विषयमा अध्ययन अनुसन्धान र सचेतीकरणको पूर्व अभ्यासहरु भएको पाइएको थिएन । मन्द गतिमा तालको पानी बडिगाडमा बग्दै गर्दा, तल्लो क्षेत्रमा कुनै क्षति नहुनु सुःखद कुरा हो तर चुनौतीको सवालमा योजना नबन्नु, दुरदृष्टि नराखिनु दुःखद पक्ष थियो । 

अब पश्चिम क्षेत्रले एकपटक फेरि सास्ती बेहोर्न बाध्य छ । प्रकृतिसँग कस्को के लाग्छ भनेर यहाँको राज्य निकाय मौनताको दोसाँधमा उभिने दिन पक्कै होइन । हिजोका दिनमा दीर्घकालीन योजना बनाउन सकिएन भनेर आलोचनात्मक चेतसहितको नयाँ चिन्तन अब अपरिहार्य छ । जहाँ सडक बगेको छ, त्यस आसपासमा बैकल्पिक बाटो ल्याउने ठाउँ देखिदैन । अर्थात समय धेरै लाग्ने छ । एकातर्फ अघिल्लो वर्षको पहिरो आफैमा जोखिमपूर्ण छ । अर्कोतिर पहिरोले सडक बगाएको स्थानमा ठूलो चट्टानी पहाड छ । खोलाको वारीपारि सहज रुपमा बैकल्पिक सडक यहाँनेरबाट बनाउन सकिन्छ भन्ने ठाउँ देखिन्न । 

के अब, पश्चिम बागलुङको ढोरपाटन, तमानखोला र निसीखोलाका जनतालाई तत्काल सडकको बैकल्पिक व्यवस्था गरिदिने सक्षमता यहाँका तीनवटा स्थानीय तहले राख्न सक्लान ? के गण्डकी प्रदेशले वर्तमान संकटमुक्त योजना ल्याउन सक्छ ? वा संघीय सरकारबाट सञ्चालित राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग आयोजनाले समस्याको बैकल्पिक व्यवस्था तत्काल गर्ला ? प्रश्नहरु आफैमा असहज छन् । 

हिजो तुरतुरे पहिरोले आधा महिना सडक अवरुद्ध बनाउँदा, सही समयमा मध्यपहाडि लोकमार्ग आयोजनाले सडक खुलाउने हिम्मत नगरेको इतिहासले दावी गर्छ । स्थानीय निर्माण व्यवसायीहरुको हिम्मतले सडक खोलियो । लामो समय प्रक्रियाका कुरा गरेर आयोजनाले पैसा नदिएको गुनासो पनि उत्तिकै थियो । त्यतिञ्जेलसम्म भिमगीठे, दर्लिङखोला, राजकुत, देविस्थान हुँदै बुर्तिबाङसम्मको बैकल्पिक सडक स्थानीय चारबटा तहले लाखांै खर्च गरेर खोलेका थिए । 

असोज महिना भएकाले त्यहाँबाट यातायातका सवारी चल्न केही सम्भव भयो । त्यसवेला लगानी गरिएको सडकलाई हिउँदमा थप व्यवस्थापन गरेर अहिलेपनि सञ्चालन गर्नुपर्छ भन्ने चिन्तन यहाँका राज्य निकायले कहिल्यै गरेनन् । ‘खोली त¥यो, लौरी विस्र्यो ।’ जस्तो कहानी देखियो । अहिले सडक अवरुद्ध भएपछि मध्यवर्खामा खाद्यन्न संकट, औषधि उपचारमा समस्या, यातायात सेवाबाट जनता प्रत्यक्ष प्रभावित हुने भएका छन् । त्यसबेला खोलिएको बैकल्पिक सडक थप व्यवस्थापन नहुँदा अब सहज सञ्चालन हुने अवस्था पनि छैन । 

समयमा विकल्पको सोंच राखेको भए, भिमगीठे, दर्लिङ, राजकुत हुँदै सालझण्डी ढोरपाटन सडकबाट निसीखोलाको देविस्थानसम्म मध्यपहाडी लोकमार्गमा जोडने सडकको व्यवस्थाकीय पक्षमा स्थानीय पालिकाले योजना बनाउन सक्थे । प्रदेश सरकारले बजेट फ्रिज गराइरहँदा त्यसलाई विकल्पको सडक मान्ने दीर्घकालिन योजना बन्नुपर्दथ्यो । त्यो भएन ।अर्को ढोरपाटन नगरपालिका आफैले पनि भिमगीठेहुँदै मालारानी, सिमलचौर, पात्लेपुलसम्मको अर्को सडक सञ्जालको योजना गत हिंउदमै बनाउन सक्ने सम्भावनामा छलफल गरेको पाइएन । कारण अव यो बर्खा पश्चिम बागलुङलाई यातायात, खाद्यन्न, तरकारी, नुनतेल, औषधि उपचारमा पक्का शास्ति झेल्नुको विकल्प आउला ? आशा गर्ने तर भरोसा चाही गरिहाल्ने अवस्था छैन । 
 
बडिगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेताल फुटेसँगै त्यसको वहावले मध्यपहाडी लोकमार्गको करिव २ सय मिटर सडक बगाएको छ । लोकमार्ग सडक बगेसँगै बागलुङ पश्चिमको सडक सञ्जाल अवरुद्ध भएको छ । बैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि यहाँका जनतालाई सास्ती हुने देखिएको छ । 

ताल फुटेपछि अहिले करिव ५० प्रतिशत पानी खोलामा बगेको छ । करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन ।  सडक अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका विषयमा आयोजनाका इञ्जिनियरहरुसँग परामर्श भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताउनुहुन्छ । उता बडिगाड गाँउपालिकाका अध्यक्ष मेयरसिह पाइजाले सडक अबरुद्द भएपनि अरु नोक्सान नभएको बताउनुभएको छ । रातीदेखि नै सञ्चार माध्यमहरु र प्रहरीटोलीले तटीय बस्तिमा सावधानी अपनाउनका लागि अनुरोध गरेका थिए । समयमा नगरिएको दीर्घकालिन सोंच र विकल्पको बाटो पहिल्याउन सक्ने दृष्टि भएन भने, सृष्टि थामिएला तर नागरिकका समस्या समाधान हुदैनन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय