१५ चैत २०८०, बिहीबार

रामपुरका एक युवाले थाले विषादीहित तरकारी खेती 

पाल्पा । तरकारी खेतीमा विषादीको प्रयोग बढेका बेला पाल्पाका एक युवाले विषादीरहित तरकारीखेती शुरु गरेका छन् । मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले असर पार्न थालेपछि रामपुर नगरपालिका–१० धन्सारेका राजेन्द्र भण्डारीले अर्गानिक तरकारी खेती थालेका हुन् ।

कृषकले पर्याप्त आम्दानी लिन तरकारी बालीमा अन्धाधुन्ध विषादी प्रयोग गर्दा स्वास्थ्यमा असर पारिरहेको हुँदा विषादीरहित तरकारी लगाउन थालेको उनले बताए । “तरकारीको बोटले भुई छोड्न नभ्याउँदै विषादी प्रयोग गर्नेको सङ्ख्या धेरै छ्, यसले स्वास्थ्यमा असर पु¥याउने भए पनि जानी जानी विषादी प्रयोग भइरहेको छ”, भण्डारीले भने । 

उत्पादन न्यून भए पनि विषादी प्रयोग नगर्ने उनले बताए । घरायसी वस्तुलाई सङ्कलन गरी झोल मल तयार गरेर भण्डारीले बोटबिरुवामा प्रयोग गर्दै आएका छन् ।

“गाउँमा खेर गएका वनमारा, तितेपाती, असुरोलगायत वनस्पतिबाट झोल मल तयार पारी बोटबिरुवामा छर्कने गरेको छु, यसले उत्पादन राम्रै भएको छ”, उनले भने । उनले विशेषगरी गोलभेँडा खेती गर्दै आएका छन् । 

गोलभेँडाले बजार पाएकाले यसतर्फ जोड दिएको उनले बताए । गोलभेँडासँगै काँक्रा, करेला, घिरौला, सिमी, बोडीलगायत तरकारी समेत भण्डारीले लागेका छन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा विषादीरहित गोलभेँडाको उत्पादन भइरहेको छ । विषादी प्रयोग नगर्दा उहाँको घरमा गोलभेँडा खरीद गर्न आउनेको सङ्ख्या अत्यधिक छ । भण्डारीले प्रतिकिलो गोलभेँडा घरबाटै रु ३५ मा बिक्री गरिरहेका छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), कतार, बहराइन र बङ्गलादेशमा १३ वर्ष काम गरेर भण्डारी स्वदेश फर्किएका हुन् । “विदेशको मरुभूमिको सिकाइ गाउँघरमा काम लागेको छ”, उनले भने ।

रामपुर बजारदेखि टाढा भएकाले व्यवसाय गर्न समस्या भएको उनले बताए । स्थानीय बजारमा धेरै तरकारी खपत नहुने हुँदा व्यवसाय बढाउन समस्या भएको हो । प्रशस्त जग्गा भएको हुँदा ठूलो क्षेत्रफलमा अर्गानिक तरकारीखेती गरेर उनि नमूना व्यवसायीका रुपमा चिनिन चाहान्छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्