६ बैशाख २०८१, बिहीबार

छुवाछुत उस्तै, तन्दुरुस्तै !

प्रकाश सपुतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भन्ने गीत चर्चाको शिखरमा पुग्दै थियो, यता मेरो मन च्यातिएको थियो एउटा विभेदको घटनाले । अनि मैले एउटा सानो फेसबुक स्टाट्स लेखेँ त्यो कुरीतिको विरुद्घमा, त्यो अमानविय कार्यको विरुद्घमा । कतिपय बराजुहरुको मुटु नै च्यातिएछ । 

केहि महिना अगाडी गुल्मीको एक ज्येष्ठ नागरिक सेवा केन्द्रमा समय विताउन पुगेका दलित वृद्घवृद्घालाई ‘गुन्द्री पर सार, खाने बेला भो पर सर, केराका बोक्रा टिप’ भनियो । सेवा केन्द्रमा तलब दिएर राखेको कर्मचारीले ‘दलितका भाँडा माझ्दिन, आफूले खाएको आफै माँझ’ भनेपछि एक दलित वृद्घाले काम गर्ने मान्छे राखेपछि सबैका भाँडा माझ्नुपर्छ भनी आवाज उठाईन् । त्यसको जवाफमा ‘तिमीले भन्यौ,  कामीलाई भाँडा नमझाएर भान्से बनाउने त ?’ भन्ने जवाफ आयो । ब्राहमणबादको असली रुप देखाइयो ।

मेरो प्रतिप्रश्न सार्वजनिक ठाउँमा दलितलाई घृणा, तिरस्कार र अपमान गर्ने तिम्रो संविधान ऐन कानुन विरोधी अमानविय कार्यलाई मुर्दावाद नभनेर जिन्दावाद भन्ने त ? घटना सकियो । मैले मन थाम्न नसकेर स्टाटस लेखेँ । पीडा त सेवा गर्न भनेर बोलाइएका ज्येष्ठ नागरिकलाई दिईयो । त्यसमाथी भएको घटनालाई लुकाउन यति प्रयत्न गरियो कि मैले लेखेको स्टाटस, मिडियामा आएका समाचारको चर्को गरी खण्डन भए । अहिलेसम्म पनि विभेद भएको थिएन भनेर समाचार लेखाइँदै छ । 

तिम्रो आँखा अझै पनि खुलेन है तिमीले जतिसुकै पढेपनि विभेद गर्न हुँदैन भन्ने कहिले सिकेनौ । परिवर्तनका कुरा गर्यौ तर आफु कहिल्यै परिवर्तन नै भएनौ ।

त्यो घटना एउटा उदाहरण मात्र हो, जसले ‘सबै  विभेदकारीहरु एक हौँ’ भनि भएकै हैन भनेर ढाकछोप गरियो । तर सत्यले कहिले हार्दो रहेनछ त्यसको केही दिनपछि एक अबोध ५ महिने बालकलाई सोही स्थानकै मन्दिरमा टिका लगाउन लगियो तर अरु समुदायका सबै बालबालिकाले रातो टिका लगाएर घर फर्किदा त्यो सानो बालक खाली निधार घर फकिन बाध्य तुल्याइयो । 

नेपालको संविधान ऐन कानुनलाई नै ठाडो चुनौती दिदैँ ती मन्दिरका पुजारी कुर्लिरहे । ‘तैले जे गर्न सक्छस् गर, म मर्न पनि तयार छु जागिर पनि छोड्न तयार छु तर दलितलाई  टिका लगाइदिन्न’ भनेर । यी चरम विभेदका घटनाहरुलाई हेर्दा समाजमा जातिय विभेद जस्ताको तस्तै छ । सार्वजनिक स्थानमा समेत समानता छैन, दलितहरुलाई अझैपनि मानिस गनिदैन भन्ने प्रष्ट हुन्छ । यी घटना नेपालको वर्तमान संविधानको धारा १८ समानताको हक, धारा २४ छुवाछुत तथा भेदभाव विरुद्घको हक, धारा ३८ महिलाको हक, धारा ३९ बालबालिकाको हक, धारा ४० दलितको हक, धारा ४१ ज्येष्ठ नागरिकको हक र धारा ४२ सामाजिक न्यायको हक विरुद्घका छन् साथै संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ विरुद्घमा छन् । यस्तो अमानविय कार्यको जति निन्दा गरे पनि कमै हुन्छ ।

बाहुनहरु मेरा आफन्तहरु हुन् । मेरा बुबाआमा, दाजुभाई, दिदिबहिनीहरु प्रति मेरो उच्च सम्मान छ । कतिपय बाहुन दाजुभाइहरुको  माया, ममता सहयोग पाएकै हो  । मैले पनि सामाजिक कार्यमा धेरै ब्राहमण समुदायका मानिसहरुलाई सहयोग गरेकै छु । कतिपय अवस्थामा आफुसँग पैसा नहुँदा पनि सापटी खोजेरै भएपनि उहाँहरुको दुःखमा साथी बनियो । तर धैरै मान्छे  बाहुनको कुलघरनामा जन्मे भन्दैमा दलितहरुलाई अहिले पनि मान्छे नगन्ने कुसंस्कारले जलिएर सार्वजनिक स्थानमा समेत आजकोे दिनमा पनि मानवता विरोधी कार्य गर्ने गरिरहने ति महान् समाजसुधारका ठेकेदारहरु प्रति म अत्यन्तै दुःखी हुँदै उनिहरुको त्यो घृणित कार्यको भत्सर्ना गर्न चाहन्छु । 

हामी पनि तिमीहरु जसरी यो धर्तीमा पाइला टेक्यौ, यसरी नै टेकेका मान्छे । तिमीहरुलाई सहजै बाँच्ने, सम्मानका साथ जिउने अधिकार छ भने हामीलाई पनि त होला । तिमीहरु त्यो कुरा किन सोच्दैनौ ? विचरा, तिम्रो आँखा अझै पनि खुलेन है तिमीले जतिसुकै पढेपनि विभेद गर्न हुँदैन भन्ने कहिले सिकेनौ । परिवर्तनका कुरा गर्यौ तर आफु कहिल्यै परिवर्तन नै भएनौ । मलाई धिक्कार लाग्छ एउटै धर्तीमा तिमीहरुसँग जन्मेकोमा । कति दादागिरी तिम्रो, कति हेप्न सकेको, कति कठोर तिम्रो मन, कति निर्दयी पुजारी बा मत अचम्ममा परेँ के मन्दिर हाम्रो होइन र ? मेरो बावुलाई अरुका बच्चाले जस्तै टिका लगाउने अधिकार छैन ? किन बञ्चित गर्यौ ? के तिमीले छूटै संविधान वनायौ त्यहाँ विभेद गर्न पाउनुपर्छ हाम्रो इच्छाको कुरा हो भनेर ? तिम्रो शासन तिम्रो सिन्डिकेट कहिले सकिन्छ ?

विस्तारै भनेको के हो अहिलेलाई ठिकै छ राम्रै छ चलिरहेकै छ भन्न खोजेको हो ? नभए यो कुरीतीलाई हटाउने समानतामुलक समाजको स्थापना गर्ने दायित्व त सवैको होला नि । विस्तारै हुन पनि त आज छलफल बहस हुनुपर्ला !

तिमिले गरेको सो घृणित कार्यको जति निन्दा गरेपनि कमै हुन्छ । हो तिमिले भन्दै छौ एक्कासी समाज परिवर्तन गर्न गाह्रो भो । आज भन्दा ५० वर्ष अगाडी पनि त्यस्तै थियो आज पनि त्यस्तै छ । के हेरेर बसेको त आजसम्म ? कतिपय राम्रै पढेलेखेका मान्छे शिक्षक वुद्घिजीविहरुले समेत भनेको सुन्छु विस्तारै हून्छ तर मलाई त त्यस्तो लाग्दैन । विस्तारै भनेको के हो अहिलेलाई ठिकै छ राम्रै छ चलिरहेकै छ भन्न खोजेको हो ? नभए यो कुरीतीलाई हटाउने समानतामुलक समाजको स्थापना गर्ने दायित्व त सवैको होला नि । विस्तारै हुन पनि त आज छलफल बहस हुनुपर्ला ! गल्ती गरेको मान्छेलाई यो कार्य गलत हो दण्डनीय हो भनेर भन्नुपर्ने होला अपराधीलाई सजाय दिनुपर्ला नि !

छुवाछुत समस्या नै होइन यो उठाउने कुरै होइन, गर्न पाउने हाम्रो अधिकार हो जस्तो गरी चुपचाप बस्ने, घटना घटे दबाउने लुकाउने उल्टै पिडितलाई थर्काउने गरेपछि कसरी विस्तारै हुन्छ ? यो भन्नु नै विभेदलाई मलजल गर्ने परिपाटी हो । अर्को कुरा ती समाजका मान्छे जसलाई हामी राम्रै मान्छे भन्छौँ, नमस्कार पनि गछौँ, भोट पनि दिन्छौँ समाज रुपान्तरणको चर्का भाषण पनि गर्नुहून्छ । तर घर गएपछि एउटा नयाँ पुस्ता जो भर्खर जन्मेको छ उसलाई समाजको त्यो कुसंस्कारको बारेमा थाहा पनि छैन उसैलाई त्यो विभेदको  दिनरात अभ्यास गराईरहनुहुन्छ । आफुभन्दा ठुलो दलितको बच्चा घरमा आयो भने तँ भन्न सिकाउनुहुन्छ । उसकै बाबाका साथीहरु आए अंकल काका भन्न सिकाउनुहन्न दाई भन्न सिकाउनुहन्छ ।

सानो आएपनि दाई ठुलो आएपनि दाई, सानी आए पनि देइ ठुली आए पनि देई भन्ने, अलग्गै पानी दिन लाउने, आँगनको छेउमा बसाएर खान दिई भाडा सुकाएर मात्र भित्र राख है वाबु भनी क, ख नसिक्दै विभेद सिकाउने मान्छेहरुले आज पनि विस्तारै (स्लो मोसन) मा समानता हुन्छ भनेर बुझ पचाइरहेका छन् ।

गाउँमा २ जना भाईले गैरदलित समुदायका छोरीहरु विहेवारी गरे । उनका हजुरबुवा आमा बोलेनन् ठिक छ पुराना मान्छे । आमा बालाई पिर परे होला त्यो पनि मानौं तर उनिहरुसंगै हुर्केका नयाँ पुस्ता दाजुभाई दिदिवहिनीहरु त बोलचाल गर्नुपर्ने आउजाउ गर्नुपर्ने होइन, खै त ? तिनीहरु पनि कतै बाटोमा संयोगले भेट भए मन्टो बटार्दै हिडिन्छ ! कसरी विश्वास गर्ने अर्को पुस्ताबाट छुवाछुत हट्छ भनेर ? छुवाछुतलाई पुस्तान्तरण गर्ने, संरक्षण, संर्वद्घन गर्ने कार्यमा समाजका धैरैजसो किसान, शिक्षक, विद्यार्थी, कर्मचारी राजनितिक दल, जनप्रतिनिधिहरु, जेठावराजुहरु, पुजेरी बा सवै एकजुट भई लागेको घाम जस्तै छर्लङ्ग छ ।

गैरदलित समुदायले दलितहरुलाई लगाउने एउटा आरोप छ, दलित भित्र नै छुवाछुत छ । हो त्यो सत्य पनि छ तर कतिपय दलितहरुले त्यस्तो गलत कार्य गरे भन्दैमा अरुले पनि त्यही कुकार्य गर्नुपर्छ त ? दलितहरु धेरै अशिक्षित पनि छन् । चेतनास्तर पनि कम छ । तिमीहरुको पनि त्यस्तै हालत भएको हो ? समाजमा आफुलाई सभ्य शिक्षित अब्बल दाबि गर्नेले यस्तो तर्क गर्नु अरुले नियम कानुन उलङ्घन गरे मैले पनि गर्न पाउनुपर्छ भनेजस्तै हो । दलितहरुमा अहिले  धैरै सुधार  भएको छ । विहेबारी आउजाउ पनि  चलेकै छ  अब तिमीहरुले पनि त्यो हिम्मत गनुपर्छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिलासहित दुई महिला वडा सदस्य र दुई वडा सदस्यको निर्वाचनमा गोप्य मतदानको प्रकृयाद्वारा प्रत्येक सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने दुई/दुई जना निर्वाचित हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार आज नेपालका प्रत्येक गाउपालिका वा नगरपालिकामा कम्तिमा पनि ७/८ जना दलित वडा सदस्यहरुको उपस्थिती छ । पहिलो कुरा त उनीहरु ऐन कानुन नियमसंग परिचित छैनन् । केहि अलिअलि जानेकाहरुलाई भुमिकाविहिन खाली ताली पड्काउने बेलामा मात्रै सहभागी गराइन्छ । आफुले आफ्नो स्वार्थमा मात्रै त्यहाँका ठुलाठालुहरुले प्रयोग गर्दा दलित समुदायका मुद्दा ओझेलमा छन् ।

दलितका प्रतिनिधि भएर भत्ता मात्रै खान बसेको हो की समुदायका समस्या पर्दा बोल्ने, उनीहरुको पिडामा मलमपट्टी लगाउने प्रयास गर्नुपर्ने हो ? तपाईहरु त्यहाँ रहनु र नरहनुको फरक पनि आफ्नो समुदायलाई दिलाउने होला नि हजुर ।

मैले केहि गाउँपालिकाको निती तथा कार्यक्रम अध्ययन गर्दा खाली कृषी, पशुपालन, पर्यटन मात्रै भेटिन्छ । सदियौँदेखि पछाडी पारिएको समुदाय जसले भोट दिएर त्यहाँ पु¥यायो, समाजको अग्रगतीका लागी दिनरात परिश्रम गरिरहेको श्रमजिवी दलित समुदायको विकास, उत्प्रेरणा र शसक्तिकरणका कुनै पनि कार्यक्रम नपरेका गाउँ–नगरका निती कार्यक्रम हेर्दा गाउँ–गाउँका सरकारहरु अझ असमावेशी बन्दै गएको पुष्टी हुन्छ । छुवाछुतका घटनाहरु नेपालका गाउँ–गाउँमा दिनदिनै घटेका छन् । मैले सुनेको छैन स्थानीय सरकारले पिडितलाई न्याय दियो । उल्टै कतिपय घटनामा पिडकको संरक्षणमा जनप्रतिनिधी नै दिनरात मिटिङ्ग गरेको देखिएको छ । यसबाट ‘गाउँ–गाउँमा सिंहदरबार’ आम उत्पीडित समुदायलाई हर्ष न विष्मात भएको छ । नेपालमा कसका लागी समृद्घि आउने हो थाहा छैन ।

अझ रमाइलो कुरा जसले समाजमा परिवर्तन गर्न ज्यु ज्यान हत्केलामा राखेर जातीपाती मान्दिँन, मुर्ती पुजा गर्दिन भन्दै दलितहरुलाई बलिदान गर्न उक्साए आज तिनीहरुकै गाउँ नगरका निती कार्यक्रम बजेटमा मन्दिर बनाउने संरक्षण गर्ने र भजनमा नाचेको भिडियो फेसबुकमा राखने गरेको देख्दै छु । यी फुटेका आंखाले के देख्नुपर्छ, कठै मेरो सोझो समुदायलाई भ्रममा पार्ने ति क्रान्तिकारीहरुलाई देखेर घृणा जागेर आउछ र भन्न मन लाग्छ, सत्तामा पुग्न मात्रै यतिका किन नाटक गरेको हो  हजुर ? अलि अलि त लाज पनि लाग्नुपर्ने । 

दलित समुदायका कतिपय आशा गरिएका मानिसहरु चरम व्यक्तिगत स्वार्थमा मात्र सिमित रहँदा समुदायका समस्या पिडा जस्ताको तस्तै छन् । ऐनमै व्यवस्था गरेर दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएपनि खै त दलित समुदायका जनप्रतिनिधि, सांसद, मन्त्रीहरुले आफ्नो समुदाय चरम अन्यायमा पर्दा कुरा उठाएको अनि न्याय दिलाउन लागेको ? दलितका प्रतिनिधि भएर भत्ता मात्रै खान बसेको हो की समुदायका समस्या पर्दा बोल्ने, उनीहरुको पिडामा मलमपट्टी लगाउने प्रयास गर्नुपर्ने हो ? तपाईहरु त्यहाँ रहनु र नरहनुको फरक पनि आफ्नो समुदायलाई दिलाउने होला नि हजुर ।

अझ दुःखको कुरा आफै आफ्नो समुदाय चरम पिडामा परिरहेको बेला कतिपय दलित जनप्रतिनिधीहरु म त सवैको प्रतिनिधी भन्दै हिड्छन् । कसले भन्यो तपाई सवैको होइन भनेर, तपाई सवैको साझा प्रिय बन्नुस हाम्रो पनि शुभकामना छ । तर त्यही समुदायको जुठो खाएर त्यहाँ पुगेपछि कम्तीमा पनि त्यो समुदायको आशु पुछ्नुपर्छ । अरुले निरन्तर थिलोथिलो पारेर दलित समुदायलाई हरेक तरिकाबाट आक्रमण गरिरहँदा रमिता हेरेर वस्ने छुट तपाईलाई छैन । हो अन्यायमा  झगडा नै गर्नुपर्छ भन्ने छैन । संविधान ऐन कानुनका कुरा गरेर अनुशासित कानुनी तरिकाले पनि त कुरा उठाउन सकिन्छ नि । कतिपय दलित नेताहरुको मुखमा थुक समेत नआएको देख्दा समाजको उत्थान भन्दा पनि आफ्नो कसरी उत्थान हुन्छ भनि लागेको प्रष्ट भयो । यस्ता मान्छेहरुसँग के आश गर्ने खै समाजले ?

समाजमा छुवाछुत जस्ताको तस्तै छ शहरमा दलितहरुले बास पाउदैनन्, गाउँमा मन्दिरमा टिका लगाउन पाउदैनन्,  गाउँ नगरका प्रत्येक वडाहरु, टोल–टोल, वस्ती–बस्तीमा चरम शोषण छ । म सवै परिवर्तन, न्याय र समानता चाहने आम बुवाआमा, दाजुभाई, दिदिबहिनीहरुसंग अपिल गर्न चाहन्छु नैतिकता हराएको र मानवता विर्सिएको यो अन्धो समाजको  विरुद्घ तपाई हामी सवै मिली आवाज उठाऔँ, केहि गरौँ । समतामुलक, समृद्घ समाजको स्थापना गरौँ ।

 

प्राप्त प्रतिकृयाहरू

sanjay लेख्नुहुन्छ (२०७६ चैत २८ शुक्रबार ४:५९ pm )

@ Pradip, त्याे समय भनेकाे कहिले हाे ?? यस्ताे अमानवीय विभेद र छुवाछुत चल्दै र भाेग्दै आएकाे त सयाैं वर्ष भइसक्याे त ।

Pradip लेख्नुहुन्छ (२०७६ श्रावण २८ मंगलबार १०:१५ am )

समयले सबै परिवर्तन गर्छ, समय भन्दा अगाडी जनु उचित हुन्न बुझ्नु !यो तपाईं को पक्षमा छ

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्