नाच्ने डाँडामा पहिलो पटक तीज महोत्सव

बागलुङ । जिल्लाको गलकोट नगरपालिका ७ मल्मको नाच्नेडाँडामा पहिलो पटक तीज महोत्सव हुने भएको छ । ऐतिहासिक नाच्ने डाँडामा हरेक वर्ष नेपाली हिन्दु नारीहरुको महान पर्न हरितालिका तीजको अवसरमा नाच्नेडाँडा संरक्षण समाजले मेलाको आयोजना गर्दै आएको थियो । यस वर्ष भने समाजको आयोजना र सिद्धेश्वर शिवालय सेवा समितिको सह–आयोजनामा भदौको १५ र १६ गते तीज महोत्सव गर्न लागेको समाजका अध्यक्ष कोपिला खड्काले जानकारी दिईन ।

परापुर्वकालदेखि नै यहाँ तीज मेला सञ्चालन हुँदै आएको खड्काले बताईन । सदियौंदेखि तीज मेला हुँदै आएको यहाँ पहिलो पटक यो वर्ष तीज महोत्सव हुन लागेको हो । सो अवसरमा सामुहिक दर खाने कार्यक्रम पनि तय गरिएको अध्यक्ष खड्काले जानकारी दिईन । महोत्सवलाई व्यवस्थित र सफल बनाउन १ सय १ सदस्यीय महोत्सव मुल समारोह समितिको गठन गरिएको छ । यस्तै ज्ञान बहादुर थापाको संयोजकत्वमा आर्थिक संकलन, थम्मन थापा सन्देशको संयोजकत्वमा सुचना तथा सञ्चार, हुम बहादुर बस्नेतको संयोजकत्वमा अतिथि समन्वय, लोक बहादुर थापाको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन, राज कुमार दर्जीको संयोजकत्वमा वाद्यवादन, झम बहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सरोज थापाको संयोजकत्वमा प्रचार प्रसार, चिरञ्जीवी मरासिनीको संयोजकत्वमा सचिवालय समिति र दुर्गा बहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार उपसमिती गठन गरिएको छ । 

कार्यक्रमको तयारीलाई तीव्र बनाईएको छ । ‘लोपोन्मुख कला संस्कृति हाम्रो शान’ भन्ने मुल नारासहित समाजले मल्मको ऐतिहासिक नाच्ने डाँडाको संरक्षण, सम्वद्धन गर्दै परम्परागत तीज विशेष कार्यक्रमलाई जीवन्त राख्न प्रत्येक वर्ष तीज मेला गर्दै आईरहेको छ । महोत्सवमा बृहत खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता, ज्येष्ठ महिला, सक्रिय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन, खुल्ला सामुहिक नाचगानसँगै राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको जमघट हुने समाजका सचिव कोपिला थापाले जानकारी दिईन ।

गल्कोट क्षेत्रकै ऐतिहासिक स्थलको रुपमा परिचित नाँच्ने डाँडामा झण्डै दुर्य सय वर्ष पहिलेदेखि तीजको दिन महिलाहरु जम्मा भएर नाच्ने गाउने गर्दै आएको बुढापाका बताउँछन । परम्परागत तीज भाकाहरुको संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परागत कला संस्कृतिप्रति आकर्षण गर्न कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरिएको छ । यहाँ झण्डै दुई सय वर्ष पुरानो सिद्वेश्वर धार्मिक स्थल रहेको छ । महोत्सवमा मन्दिरमा ब्रतालु महिला दिदीबहिनीहरुको लागि पूजाआजाको समेत प्रवन्ध मिलाईने सिद्वेश्वर शिवालय सेवा समितिले जनाएको छ ।

थम्मन थापा ‘सन्देश’ को सहयोगमा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय