निसिखोलाको सिङ्गो गाउँ अन्धकारमा

बागलुङ । बाढीले विद्युत आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत उत्पादन बन्द भएको हो । 

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत आपूर्ति बन्द छ । आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताउनुभयो । वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ ।

वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढामगरले बताए । “तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ”, बुढामगरले भने, “झण्डै चार महीना अन्धकारमा परिने भइयो ।” आयोजनाको बाँधसँगै मुख्य प्रसारण लाइनका आठ पोलसमेत भाँचिएका छन । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको उनले बताए । 

विकलाई बचाउन आग्रह 

दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि सहयोगको खोजी गरिएको छ । बागलुङ नगरपालिका–४ का ५२ वर्षीय रेशमबहादुर विकको उपचारका लागि परिवारका सदस्य र विश्वकर्मा समाजले सहायोगको खोजी गरेको हो । विसं २०६७ मा आफ्नै दिदी सुनिताले दिएको एउटा मिर्गौलाको भरमा बाँचेका विकको फेरि काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो ।

अहिलेसम्म झण्डै रु एक करोड खर्चिएका विकले पुनः अर्को प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको याचना गर्नुपरेको बताए । कम्तीमा छ महीना औषधि खाएर रक्त समूह मिलाउन सकियो भने विकले आफ्नै श्रीमती चन्द्रकलीको मिर्गौला प्रत्यारोपण गर्न सकिने चिकित्सकले सल्लाह दिएका छन । विश्वकर्मा समूहले अगुवाइ गरेर उनलाई सहयोग सङ्कलन थालिएको ओमबहादुर विश्वकर्माले बताए । 

मिर्गौला पीडितलाई राज्यले रु साढे चार लाखसम्म अनुदान दिने व्यवस्था गरेको छ । उक्त अनुदानले काठमाडौँमा बस्दा खानलाउन पनि नपुग्ने विक बचाउ अभियानका कृष्ण विकले बताए । अब कम्तीमा रु २५ लाख भएमा मात्र उनको मिर्गौला प्रत्यारोपण हुनसक्ने बताइएको छ । उपचारको क्रममा विकले यसअघि दुई घडेरी बिक्री गरेका छन भने घर धितो राखेर लाखौँ रकम ऋण लिएका छन । विकका दुई छोरा र एक छोरी छन ।

शव फेला

जिल्लाको बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्क तलको जंगल बागलुङ नगरपालिका सिगानामा गल्कोटका ४५ वर्षिय मिथुन जीसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चिप्लेटी बसपार्कबाट तल जाँदै गरेका एक जनाले निजको शव देखेपछी प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा गएर हेर्दा केहि दिन पहिलेनै मृत्यु भएर शव कुहिन थालेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक मिथुनका परिवार भारतको सिलंगबाट घर फर्किएको स्थानीयले बताएका छन् । मृतक मिथुनका तीन भाई मध्य एक भाई सवारी दुर्घटनामा परेर मृत्यु भएको र मृतक र अर्को भाई दुबैको मानसिक अवस्था राम्रो नभएको श्रोतले बतायो ।

यता शुक्रबार बिहान गल्कोट नगरपालिका ३ हटियामा सञ्लन हुन लागेको कामना बैँकको गार्डमा छानिएका गल्कोट नगरपालिका ७ मल्मका ४२ वर्षिय गोपाल दर्जीको दरमखोला र गौदीखोला दोभानमा शव भेटिएको घटनालाई मृतकका परिबारले बैँकले क्षतीपुर्ती दिनु पर्ने माग गदैँ शव बुझेनन् । निज दर्जीको शव गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमै रहेको बताईएको छ । मृतक दर्जीले घरमा फोन गरेर बैँकका प्रवन्धकसंग विवाद भएको कुरा बताएको परिवारजनको भनाइ छ । बैँकमा जडान गरिएको सीसीटीभी फुटेजमा निज दर्जी बिहान साढे ४ बजेको समयमा कोठाबाट निस्किएको देखिएको श्रोतले बतायो । मृतक यसअघि नेपाल बैँकको गार्ड रहेको र मानसिक अवस्था राम्रो नभएका कारण बैँकले हटाएको स्थानीयले बताएका छन् ।

रात्रिबसमा लुट

बिहिवार बागलुङ देखि काठमाडौँ जाने रात्री बसमा यात्रा गरेका एक युवकलाई बेहोस बनाएर लुटपाट गरिएको छ । बिहिवार राती दुइ बजेपछि बेहोस भएका बागलुङ नगरपालिका १२ अमलाचौरका किरण आचार्यको १२ घण्टासम्म होस नआएको परिवारका सदस्यले बताए । बेहोस अबस्थामै बसका चालक र सहचालकले बिरामीलाई सडकमा झारेर छाडिदिएका थिए । उनलाई बसपार्कको सुरक्षा टोलीले अस्पताल लगेको थियो । मनमोहन अस्पताको सघन उपचार कक्षमा उनको उपचार भैरहेको छ । 

श्रीमती बिरामी भएकोले भेट्न भन्दै उनी बिहिवार रात्री बसमा काठमाडौं हिडेका थिए । प्रभु बैंकको बागलुङ शाखामा कार्यरत ती युवा आइतवार कार्यालय आउने शर्तमा बिदा लिएर हिडेको शाखा प्रबन्धक अर्जुन शर्माले बताए । छोराको अबस्थाबारे थाहा पाएपछि बाबु मुक्तिराम आचार्यले धौलागिरी अञ्चल यातायात बस व्यबसायी समितिमा उजुरी गरेका छन । समितिका पदाधिकारीले तत्कालका लागि बिरामीको उपचारमा सहयोग गर्ने र होसमा आएपछि छलफल गरेर छानविन गर्ने बताएका छन ।

बसको ९ नम्बर सिटमा बसेका आचार्यलाई १० नम्बरमा बसेका यात्रीले समेत केही खुवाएको हुन सक्ने भन्दै ती यात्रुको पनि खोजी भैरहेको समितिका कर्मचारी रामप्रसाद अधिकारीले बताए । ‘तत्काल उपचार भैरहेको छ, होसमा आएपछि उहाँले बताउने कुरामा आधारित भएर छानविन हुन्छ’ उनले भने, ‘गाडिका चालक र सहचालकलाई पनि सोधपुछ गरेर प्रक्रिया अगाडि बढाउने हो ।’ बिहिवार बेलुकी ध १ ज ६१३ नम्बरको एसी बसमा उनी काठमाडौँ हिडेका थिए । बसपार्कमा पुगेपछि चालक र सहचालकले रक्सी पिएको भन्दै उनलाई जवरजस्ती उचालेर सडकमा फालिदिएका थिए ।

पटक–पटक फोन बजेको देखेपछि बसपार्क सुरक्षाकर्मीले फोन उठाएर परिवारलाई जानकारी दिएको बिरामीका बाबु मुक्तिराम आचार्यले बताए । त्यसपछि बसका चालकलाई परिवारले सम्पर्क गर्दा जड्याहा लाई जवरजस्ती निकालेको भन्न भ्याएपछि उक्त रहस्य खुलेको हो । मनमोहन अस्पतालका चिकित्सकका अनुसार कोलोफम नामक लागू पदार्थ सुँघाएर बेहोस बनाएको देखिएको छ । उक्त बिषाक्त लागू पदार्थको गन्धले बेहोस भएकोले कम्तिमा २४ घण्टासम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिएपछि परिवारले सोही अनुसार उपचार गराएका छन ।

यो घटनापछि परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी गंगबु काठमाडौँ उजुरी दिएका छन् । प्रहरीले उक्त घटना बारे छानविन गरी दोषी पत्ता लगाउने आश्वासन पनि दिएको छ । धौलागिरी अञ्चल यातायात व्यवसायी समितिमा पनि परिवारले घटना बारे जानकारी दिएका छन । समितिका अध्यक्ष उमेश केसीले चालक र सहचालक फर्केपछि सोधपुछ गर्ने आश्वासन दिएका छन । त्यस्तै बिरामीको उपचार गराएर सञ्चो भएपछि धेरै कुरा खुल्ने भएकोले हतार नगर्न आग्रह गरेका छन । रात्री बसमा टिकट काटेपछि थप मानिस नचढेकोले बस भित्रकै यात्रु वा चालक वा सहचालकको मिलेमतोमा घटना भएको हुन सक्ने समेत परिवारले शंका गरेका छन ।

उनको आडमा बस्ने यात्री वा बसमा यात्रा गरेका सबैको पहिचान भएमा घटना बारे थप अध्ययन र सोधपुछ गर्न सजिलो हुने भन्दै परिवारका सदस्यले समितिमा सबैको नामाबली पनि मगाएको बताए । ‘हाम्रो समितिको बसहरुमा अहिले सम्म यस्ता घटना भएका थिएनन, यो नौलो घटना भयो, त्यसैले हामी पनि छानविन गछौँ’ अधिकारीले भने, ‘यो दुःखद घटना हो ।’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय