१६ चैत २०८०, शुक्रबार

‘लोकल’ कुखुराको व्यावसायिकपालन

बागलुङ । उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकपालन गरिरहेका छन । बागलुङ नगरपालिका–३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आएका छन । सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन शुरु गरेका थिए । उनको ‘फार्म’ मा अहिले तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन ।

चार महीनाको अवधिमा रु एक लाखभन्दा बढीको भाले बिक्री गरेको सापकोटाको भनाइ छ । “मासुसँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उनले भने, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।” काठमाडौँ, हेटाँैडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको संख्या पनि बढ्दो छ । “अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, सापकोटाले भने, “स्थानीय जातका कुखुरापालनमा बिस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन ।

सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुका रुपमा कुखुरा बढी खपत हुन्छ । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु सात सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ थियो । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक १५० भन्दा बढी अण्डा दिन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएको हुँदा पाँच÷छ महीनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित खोप, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ ।

“बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन”, सापकोटाले भने । कुखुरापालनबाट मासिक रु ३५ देखि ४० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने योजना उनको छ । कुखुरापालनका लागि शुरुमा उनले रु चार लाख लगानी गरेका थिए । काठमाडौँबाट स्थानीय जातको कुखुराको चल्ला ल्याएर व्यावसायिक रुपमा पाल्न शुरु गरेको सापकोटाले बताए ।

‘सापकोटा कृषि फार्म’ सञ्चालनमा ल्याएका उनले व्यावसायिक कुखुरापालनसँगै बाख्रापालन र तरकारी खेती पनि गर्दै आएका छन । ‘फार्म’ मा अहिले १६ वटा बाख्रा छन । तीन रोपनी क्षेत्रफलमा तरकारी खेती छ । पढाइमा स्नातक गरेका सापकोटाको तरकारी खेती भने पुरानै हो । “नयाँ सीप र प्रविधिअनुसार तरकारी खेती गरिरहेको छु”, उनले भने, “दुई वटा हाइटेक टनेलमा तरकारी खेती छ ।” सापकोटालाई कृषि पेशामा श्रीमती जमुना, आमा लक्ष्मी र बुबा बद्रीले पनि सघाउँदै आएका छन ।

कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक कृषिमा लागेको सापकोटाको भनाइ छ । व्यवसाय बढाएपछि अन्य व्यक्तिलाई पनि रोजगारी दिन सकिने योजना उनले बनाएका छन । सदरमुकाम नजीकै रहेकाले कुखुरा र अन्य कृषि उत्पादन बेच्न कुनै समस्या छैन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्