श्यामकलालाई ३ लाख ३३ हजार सहयोग

काठमाडौँ। मेरुदण्ड भाँचिएर उपचार गराइरहेकी अर्घाखाँचीको छत्रदेव ७ कि श्यामकला पाण्डेको उपचारका लागि ३ लाख ३३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । श्यामकला पाण्डे बचाउ अभियानले संकलन गरेको ३ लाख ३३ हजार ४६ रुपैयाँ उनको उपचार भइरहेको सुष्मा कोइराला मेमेरीयल अस्पताल साँखुमा पुगेर हस्तान्तरण गरिएको हो । 

पाण्डेका छिमेकी सुजन न्यौपानेले ‘श्यामकला बचाउ अभियान’ सुरु गरेपछि दुवईमा बलराम न्यौपाने र गीता पाण्डे तथा कतारबाट बुद्धभूमी कपिलवस्तु सेवा समाजका महासचिव राजेन्द्र पाण्डेको पहलमा उक्त रकम संकलन भएको थियो । १२ जेठमा घाँस काट्दै गर्दा रुखबाट लडेर मेरुदण्ड भाँचिएकी पाण्डेको आर्थिक स्थिती कमजोर भएका कारण उपचारका लागि छत्रदेवबासीले सहयोग अभियान चलाएका हुन । 

रकम बुझेपछि श्यामकललाले आफू पहिला बोल्न पनि नसक्ने अवस्थामा रहेको र अहिले सबैको सहयोगको कारण बोल्नसम्म सक्ने अवस्थामा रहेको प्रतिक्रिया दिईन । पहिला हात खुट्टै नचल्ने उनका हातहरु चल्न थालेका र खुट्टा नचलेपनि छुँदा थाहा पाउने अवस्था आएको अस्पतालले जनाएको छ ।  छोरी एक वर्षकी हुँदा श्रीमान गुमाइसकेकी उनले स्थानीय भगवती प्राविमा कार्यालय सहयोगीको रुपमा काम गरेर गुजारा चलाउँदै आएकी थिइन । 

आमाको मेरुदण्ड भाँचिएपछि बिबिएस चौँथो वर्षमा अध्ययनरत उनकी छोरी अनिताको परिक्षा पनि छुटेको छ ।  ‘बाबुलाई पनि देख्न पाइन, आमाको अवस्था पनि चिन्तालाग्दो छ’ छोरी अनिताले भनिन, ‘कर्मले ठग्यो, भाग्यलाई दोष दिनु बाहेक विकल्प छैन ।’ आफन्त र सहयोगीहरुको सहयोगका आधारमा उपचार गराएकी उनको २८ जेठमा राष्ट्रिय ट्रमा सेन्टरमा अप्रेसन भएको थियो । यसअघि पनि ४ लाख पाँच सय रुपैयाँ संकलन भएको र उनको उपचारका लागि मात्रै ५ लाख रुपैयाँ खर्च भएको अनिताले बताइन । “डक्टरले केही समयपछि फेरी अर्को अप्रेसन गर्नुपर्छ भन्नुभएको छ” उनले भनिन, “तर अहिलेसम्म सहयोगबाट बँचेको पैसाले अप्रेसन गर्न पुग्दैन होला ।” 

अनिताले सबैसँग आफ्नो आमाको जीवन बचाउनको लागि आर्थिक सहयोगको अपेक्षा गरेकी छन । सहयोग गर्नका लागि अनिताको नाममा एनएमबी बैंकको खाता नम्बर ०४७००६२५३९७०००१२ रहेको छ । प्रत्यक्ष सहयोग गर्नेहरुका लागि ९८५७०४९३३३ वा ९८६७१९२७२८ नम्बरमा सम्पर्क गर्न उनका आफन्तले अनुरोध गरेका छन । संकलित रकम लिएर गुल्मीबाट अभियन्ता सुजन र कतारबाट राजेन्द्रसहित भानुभक्त मरासिनी, कृष्ण प्रसाद पाण्डे, तारा प्रसाद फुल्लेल, लक्ष्मण पन्थी, महेन्द्र श्रेष्ठ, शोभाखर न्यौपाने, युवराज पाण्डे, हिमाल पाण्डे, राजु पाण्डे, शिवदेव पाण्डे, सचिन पाण्डे, तेजेन्द्र शमसेर पाण्डेलगायतका सहयोगीहरु अस्पताल पुगेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय