१५ चैत २०८०, बिहीबार

मापदण्ड विपरित वडा सदस्यलाई अनुदान 

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका ११ का वडा सदस्य गणेश पुलामीले ‘गोठ सुधार कार्यक्रम’ को अनुदान काम नै नगरी लिएका छन । गाउँपालिकाले सञ्चालन गरेको ‘गोठ सुधार कार्यक्रम’ को अनुदान काम सम्पन्न गरेपछि वडाको सिफारिसमा कृषकलाई दिने मापदण्ड छ । तर मापदण्ड विपरित वडाबाट सिफारिस भएपछी जनप्रतिनिधिले सो अनुदान पाएका हुन ।

३० हजारको गोठ सुधार कार्यक्रम अन्तरर्गत असारमै भुक्तानी भएको छ । ‘अनुदान लिएपछि बनाए पनि हुन्छ’ भन्दै वडा सदस्यले अरु तीन जना कृषकलाई पनि अनुदान दिलाएको खुल्न आएको छ । अनुदान बुझेका कृषकले पनि गोठ सुधारको काम सुरु नै गरेका छैनन । आव ०७५÷७६ मा वडाबाट छुटिएको उक्त अनुदानमा अनियमितता भएको भन्दै वडावासीहरुले विरोध समेत गर्दै आएका छन । कामै नगरी अनुदान खाने भन्दै जनप्रतिनिधिहरुले मनोमानी गरेको स्थानियहरुले आरोप छ ।

नगरको कृषि शाखा अन्तरर्गतको कार्यक्रममा वडा न ११ का ४ जनालाई अनुदानमा छनोट गरिएको थियो । स्थानिय नुम वहादुर पल्ली, मित्रलाल पन्थी, वावुराम आचार्य र वडा सदस्य गणेश वहादुर पुलामीलाई वडाले छनोट गरेको वडाध्यक्ष कपिल आलेले वताए । “खोर सुधार र गोठ सुधारको कार्यक्रमको एकमुष्ट भुक्तानी भएको हो” उनले भने, “मैले अनुगमन गर्न पाएन फोटाको आधारमा सिफारिस गरेको हुँ ।” कामै नगरी अनुदान पाएको भन्दै स्थानियहरुले जानकारी गराएको भएपनि आफुले प्रत्यक्ष नदेखेको आलेको भनाई छ । उनले थपे, “जनप्रतिनिधिले काम नगरी अनदान लिनु गलत हो ।”

शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले एक महिना भित्र काम नगरेमा कारवाही गर्ने बताए । “भुक्तानी भएको एक महिना समय हुन्छ” उनले भने, “त्यसबेलासम्म काम नभएमा कारवाहीको प्रक्रियामा अघि बढ्छ ।” वडा सदस्य पुलामीले आफुले गोठ सुधार काम नगरेको स्वीकार गरेका छन । केहि दिनमै काम गर्ने भनेको भएपनि काम गर्न नसकिएको उनले धरातललाई बताए । पुलामीले आफुले गलत नियतले अनुदान नलिएको बताएका छन । उनले काम गर्ने भने पनि ट्याक्टर नआउँदा काम गर्न नसकेको बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्