५ बैशाख २०८१, बुधबार

पिडितलाई अस्थायी आवास, कति संकलन भयो राहत ?

गुल्मी । विद्यालयमा आश्रय लिएर बसेका पहिरो पिडितहरुका लागि शसस्त्र प्रहरीले अस्थायी आवास निमार्ण गरेको छ । पहिरोले घरबारविहिन भएका जिल्लाको सत्यवती गाउँपालिकाका पिडितलाई सदरमुकाम तम्घासको शसस्त्र प्रहरीको टोलीले अस्थायी आवास (टेन्ट) निमार्ण गरेको हो ।

राहत स्वरुप आएका अस्थायी आवासका टेन्टहरु स्थानीयले निमार्ण गर्न नजानेपछि निमार्णमा शसस्त्रले सघाएको शसस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) विनोदराज खनालले बताए । उनले प्रभावितहरुलाइै टेन्टको प्रयोग गरी अस्थायी आवास गर्ने तरिकाहरु पनि सिकाएको बताए । विद्यालय सञ्चालनमा आएपछि विद्यालयमा आश्रय लिएका परिवारहरुका लागि सुरक्षित स्थानमा अस्थायी आवास पनि निर्माण गरिएको छ ।

स्थानियको आग्रहमा टेन्ट निर्माणको लागि शसस्त्र प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेको डिएसपी खनालले बताए । यसअघि पनि प्रहरीले दुई दर्जन बढी अस्थायी रुपमा टेन्ट प्रयोग गरेर घरहरु निर्माण गरेका थिए ।     पहिरोबाट ३ सय ७ घर परिवारका १२ सय ६० विस्थापित भएका छन । उनीहरुका लागि अस्थायी शिविर सञ्चालन गरिएको छ । प्रभावितहरुको लागि अस्थायी आवासमा बस्नका लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु सहित हस्तातरण गरिदैँ आएको छ । 

बिभिन्न संघसंस्थाको सक्रियतामा विद्यालयमा बस्दै आएका पहिरो पिडितहरुको लागि आवश्यक १ सय २० वटा सेट किचनकिड (४६ वटा आइटम भएका सामाग्रीहरु) प्रभावितलाई बितरण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्टलगायतका आवश्यक सामाग्रीहरु हस्तातरण गरिएको उनले बताए ।

कति संकलन भयो राहत ?

पहिरो पिडितहरुको खातामा झण्डै डेढ करोड नगद राहत संकलन भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ र ४ को विपद व्यवस्थापनका लागि १ करोड २३ लाख रुपैयाँ संकलन भएको सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहेक जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ । विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाहरुले पिडितहरुका लागि सहयोग गरेका छन् । सहयोग प्राप्त हुने क्रम अझै चलिरहेको भण्डारीले बताए । नगद, खाद्य, लत्ताकपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । 

सवैभन्दा बढि भौतिक क्षति वडा नं ३ ठुलोलुम्पेकमा भएको छ । नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ । ठुलोलुम्पेकका लागि तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ । पहिरोमा परि १३ जनाले ज्यान गुमाएका थिए भने ठूलो मात्रामा जनधनको क्षति भएको थियो । 

      
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्