१० हेक्टर खेत बाँझै 

म्याग्दी । यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन । हालसम्म जिल्लाभर कूल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जमीनमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको कूल क्षेत्रफल दुई लाख २९ हजार ७०६ हेक्टर रहेकामा कूल खेतीयोग्य जमीन ३० हजार ८५६ हेक्टर अर्थात १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ । त्यसमध्ये १९ हजार ४८३ हेक्टर अर्थात आठ दशमलव चार प्रतिशत क्षेत्रफलमा खेती गरिएकामा तीन हजार ८९८ हेक्टर जमीनमा मात्रै धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरो र भू–क्षयबाट ११ हेक्टर जमीन नोक्सान भएको छ भने एक हजार ६८१ हेक्टर अर्थात आठ दशमलव छ प्रतिशत जमीन मात्रै बाह्रै महीना सिञ्चित हुने गरेको छ । यसैगरी चार हजार ३२५ हेक्टर अर्थात २२ दशमलव एक प्रतिशत मौसमी सिञ्चित जमीन रहेकामा ७५ हेक्टर जमीन बाँझै छ ।

म्याग्दीका कूल कृषक परिवार संख्या २२ हजार ४८० रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये तीन हेक्टर क्षेत्रफलको जमीन रियलस्टेटले ढाकेको छ । पछिल्लोे जनगणनाअनुसार म्याग्दीको कूल एक लाख १३ हजार ६४१ जनसंख्यामध्ये ८९ हजार ९२० अर्थात ८२ दशमलव दुई प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । गत वर्ष कूल धानखेती हुने जमीन सबैमा खेती गरिएकामा यस वर्ष शून्य दशमलव पाँच प्रतिशत अर्थात १० हेक्टर जमीन बाँझै रहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा समेत छिट्टै रोपाइँ हुनुपर्ने भए पनि यस वर्ष समयमा पानी नपरेका कारण ढिलो रोपाइँ भएको थियो ।

समयमै पानी नपर्नु, सिँचाइको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाइँ नभएको किसान बताउँछन । म्याग्दीमा मार्सी, लुम्ले, जेठोबूढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय