अमर अर्बाथोकमा घर घरमा खानेपानीका धारा

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका ५ अमर अर्बाथोक रातापानीकी मिना टण्डनलाई सधै खानेपानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोल्थ्यो । “विहानै ३/४ बजे उठेर खानेपानीको जोहो गर्न आधा घण्टा हिँडेर पधेँरोमा पुग्नपथ्र्यो” उनले भनिन, “पधेँरोमा पानी कम हुने, त्यसमा पनि पालो कुर्नुपर्ने अवस्था थियो ।” दैनिकरुपमा शौचालयमा प्रयोग गर्न, कपडा धुन, तरकारीमा सिञ्चित गर्न, गाईभैँसीलाई खुवाउन पनि समस्या हुन्थ्यो । घरका अरु काम थाति राखेर खानेपानीको जोहो गर्नमा नै विहान वित्ने गरेका दिन सम्झँदै उनले भनिन, “घरका सवै काम छाडेर पानी बोक्न जानुपथ्र्यो । सरसफाईका लागि त खोलामा जानुको विकल्प थिएन ।”

उनी मात्र होईन यहाँका अरु गृहणी पनि खानेपानीको समस्याबाट आजित थिए ।  “साधन हुनेले त बाईकको साईडमा ग्यालिन झुण्ड्याएर पानी बोक्थ्यौँ” स्थानीय केशव सुनारले भने, “नानीबाबुहरु स्कुलबाट आएपछि झोला थन्क्याएर डोकोमा गाग्री लिएर पानी बोक्न जानुपर्ने हुन्थ्यो ।” पहिले घर तथा अन्य निर्माणका लागि खज्र्याङ्ग खोलाबाट ट्याक्टरमा पानी ल्याउनुपर्र्ने बाध्य हुने गरेको स्थानीय सावित्रा श्रेष्ठले सुनाईन । तर अहिले रातापानी–स्किम लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएसँगै अवस्था फेरिएको छ । घर–घरमा धारा जडान भएपछि यहाँका स्थानीय दङ्ग छन । नेपाल सरकारको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तरगत अमर अर्बाथोकका १ सय ९५ घरधुरीमा धारा जडान गरिएको जिल्ला खानेपानी कार्यालयका निमित्त प्रमुख ईन्जिनियर कमल पन्तले जानकारी दिए ।

आर्थिक वर्ष ०७१/७२ को क्रमागत बजेटअन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीको १ करोड ७५ लाखको अनुमानित लागत र स्थानीयको जनश्रमदानमा खानेपानी आयोजनाको निमार्ण भईरहेको लिफ्टिङ्ग खानेपानी उपभोक्ता समिति  अध्यक्ष घनप्रसाद श्रेष्ठले जानकारी दिए । रातापानीबाट करिब तीन किलोमिटर माथि थुम्कामा ट्याङकीमा पानी जम्मा गरी वितरण गरिएको छ ।

आयोजनाको शनिबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले आयोजना सञ्चालनमा आएपछि अर्बाथोकवासीको दैनिकीमा सहज हुने बताए । उनले बिजुलीबाट लिफ्टिङ्ग गरिने भएकोले बिजुलीमा समस्या नभएसम्म खानेपानी आपुर्तिमा समस्या नहुने बताए । यस्तै गाँउमा खानेपानीको चर्को समस्या रहेको समयमा लिफ्टिङ्ग खानेपानी योजनाले गाँउलेलाई धेरै राहत मिलेको वडाध्यक्ष लिलाबहादुर बलालले बताए ।

कार्यक्रममा ट्याङ्की निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय पुण्यप्रसाद अर्याललगायतका सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय