१६ चैत २०८०, शुक्रबार

कामरेड्सका आफ्नै अनुहार गद्दार !

संसारमा दुईथरी वर्गको उपस्थिति छ । एकाथरी गरिखाने वर्ग छ । अर्कोथरि कजाई खाने वर्ग । गरिखाने वर्गको पक्षमा कामरेडहरुको राजनीति, राजनैतिक सिद्धान्त, त्यसको आड भरोसामा जनमत र अहिले सत्ता पनि छ ।  मजदुर, गरिब किसान, श्रमजीवी, र सर्वहारा वर्ग त्यसलाई भनियो, जो आज पनि आफ्नो परिश्रममा बाँचेको छ । पसिनामा विश्वास गर्छ ।

राजनीति इमानी र बैइमानी दुवै तरिकाले गर्न सकिने रहेछ । इमानी राजनीति भनेको दर्शन, सिद्धान्तअनुसारको व्यवहार । बेइमानी भनेको अहिलेको राजनीतिक परिदृश्य । राजनीतिले समग्र मानव जातिको जीवन परिवर्तनको भावना उद्धेलित बनाउँछ । अभावमा विद्रोह जन्माउँछ । सिद्धान्त र दर्शनले गाइडेड भए, राजनैतिक नैतिकतासँग जनताले प्रश्न गर्देनन् । बेइमानी राजनीति जितेर आएको नैतिकवान सत्तालाई जनताले जोगाएर राख्छन् । जनताको आड, भरोसा र विश्वास आफुले बनाएको सत्तामा पक्का हुन्छ । आज टाउँको फुटाल्दै कम्युनिष्ट राज्य व्यवस्था चाहिन्छ भन्नेहरुनै वर्तमान सरकारको विश्वास पात्र छैनन् । कारण बेइमानी राजनैतिक चरित्रले नेता जोगाउन खोज्न जनता रहेनछ । जनतालाई यो थाहा भैसक्यो । 

राजनीतिमा निरंकुशताले सताएको समयमा जनविद्रोहको ज्वाला दन्काइयो । जनता जागे, हटाउन पर्नेलाई हटाए । गाउँ गाउँमा वर्ग संघर्षका घेराहरु कोरिए । वर्ग उत्थानका नारा प्यारा थिए । भावनामा उथलपुथल मानसिकताले वर्गिय मायाका तमाम संरचनाहरु निर्धारण भए । जन्मनाता भन्दा वर्गनाता अजर अमर भनेर प्रगतिवादी कक्षाहरु चलाइए । गरिखाने वर्गको उन्नयन, जनवाद, समाजवाद हुँदै साम्यवादसम्मका सैद्धान्तिक मूलयमान्यताहरु आम जनताले अध्ययन गरे । राम्रो माने, आदर्श ठाने तर आजको नेतृत्व दीग्भ्रमले त्यो अध्ययन असत्य अझै भइसकेको छैन । संसार भरका श्रमजीवीहरु एक ठाउँमा उभिने कसमहरु खुवाइयो । वर्ग संघर्षका विभिन्न स्वरुपहरुमा लामवद्ध हुँदै गर्दा स्वतन्त्रता संग्रामका तमाम इतिहासहरु पढेर जीवनको वलिदानी दिनेहरु निःशन्देह अजर विश्वसनीयताका सोझा पात्र बने । चिन्तन, चरित्र र परिवर्तनका पाटाहहरु बुझाउने, बुझ्ने कामरेडहरुको वर्गिय मुक्ति र दीर्घकालिन समाज परिर्वतनको कित्तामा जो जनता हिजो उभिए आज पनि नैतिक समर्थनमा उभिएरै बसेका छन् । हिजो सत्य भावनाले सोंच्नेहरुको चिन्तनले को कहाँ पुग्यो र कसले के गर्दैछ ? यो युगले सही हिसाब राख्यो भने कामरेड्सका आफ्नो अनुहार आफ्नै लागि गद्दार सावित भइरहेका छन् । 

वर्ग संघर्षमा उभिएर मुठ्ठी उचालेहरुहरुलाई बुझ्ने श्रमजीवी वर्गले साँच्चै सोंचेको थियो । यो नै हाम्रो उन्मुत्तिको परिणाम हो ? त्यसबेलाको मानकिताले भनेको थियो राजनीतिमा बलिदानीपूर्ण इतिहास रच्दा एकपटक हुने क्षतिको खास हिसाब हुँदैन । त्यो वर्ग आज पनि हिजो जस्तै अन्यायपूर्ण तरिकाले दविएको छ, दवाइएको छ । प्रश्नले यो उत्तर ठाउँ ठाउँमा खोजिरहेको छ । समाजवाद उन्मुख संविधानसमेत लेखेर आएका कम्युनिष्टहरुको  राज्यसत्तामा न्याय, समानता र समावेशिताको पालना हुन्छ कि हुँदैन ? श्रमजीवीको हितमा रहेको वा गरिखाने वर्गका पार्टि कम्युनिष्ट हो भन्दै गर्दा आज त्यो पार्टिका नेता, कार्यकर्ता र त्यसका प्रतिनिधिहरु गरिखाने श्रमिक, किसान, मजदुर वर्गको हितमा छन कि छैनन् ? श्रमजीवी र सर्वहारा वर्गको सैद्धान्तिक मूल्य र मान्यताबाट राज्य सञ्चालन भयो वा भएन ? हिजो समाजवादी राजनीतिशास्त्र पढाउनेदेखि पढ्नेहरु आज कहाँ के गर्दै छन् ? कामरेड्सका अघि यो प्रश्न उठाईदा उनीहरु भन्दैछन्, ‘यो व्यवस्था नै कम्युनिष्ट व्यवस्था हो । मान्नेले मान्नुस !, नमान्नेले जे सुकै गर्नुस् ।’ अच्छा ! लालकित्तामा उभिएर, सित्तैमा सत्ता पाएको कामरेड्सहरुको पापी जीवन फलिफाप हुने भएपछि, ‘गुहेंलाको रुखमा सुन्तला फल्छ । अब यही प्रचार गर्ने ! के अब पनि तिम्रो गद्दारिपनको छिनोफानो भइसकेको छैन र ? आफ्ना अनुहारहरु नक्कली गिदिले मसाज गर्दै गर्दा लज्जाको ढोका बन्द नहोला अब यो अर्ती बुद्धि गिद्धिसम्म पुग्ने गरी कसले भन्देला ।  

पथ्थरले रगडेर रंगीएका रक्तरञ्जीत पैतलाहरु, पाप्रिएर बिसेक नभइसकेको बेला, गिट्टी र सिट्टीका साथमा जीवनका उभौली÷उँधौली साट्नेहरुसँग गद्दार गरिएको इतिहास, एक माक्र्सवदी दर्शन अध्ययन गर्ने विद्यार्थीले भुल्छ भन्ने कहाँ छ र ? नैतिकवान माक्र्सवादी दर्शन र त्यसले सिकाएको नैतिक मूल्यमा सत्यता छ  । सत्यमा भ्रम देख्नेहरुले भौतिकवादी दर्शनको लेपमा रातो बर्को ओढेर लालसलाम नभनम् । तिम्ले बोक्ने रहर गरेका गैह्र माक्र्सवादी जत्था, जो आज कम्युनिष्टको मूल्य मान्यता बदनाम गर्दैछन् । यिनीहरुबाट गरिखाने वर्गको उन्नयन र उत्थान सम्भव छैन । कारण यिनीहरु माक्र्सवादको आडमा उही बदनाम सामन्तबादी संस्कार र बुर्जुवा चिन्तन अंगालेका कामरेडस्का लागि नैतिक धरातल विग्रिसकेको छ ।  

नेपालमा माक्र्सवाद अध्ययन गर्ने माक्र्सवादको विद्यार्थी कसरी जन्मिए ? यो प्रश्न उठ्न सक्छ । कसैको करकाप वा हो—हल्लाको रहरले कोही पनि मान्छे माक्र्सवादको विद्यार्थी भएको होईन । आजको जस्तो समाजमा जो—जो जहाँ बलियो देखिन्छ त्यसको पक्षधर भएर नाफा घाटाको कारोवारीहरुबीच वर्गीय मुक्तिका कुरा हुँदैन्थे । निधारमा दक्षिण छिमेकको रातो रंग र उत्तर छिमेकीको रातो टालो लाएर म माक्र्सवादको विद्यार्थी भएको पनि होईन । समाजमा देखिएका सबैखाले असमानता, असमझदारी र सामन्ती संस्कार चिन्तनको सिकार बन्न नचाहेर त्यो संस्कार संस्कृति र पद्धतिको अर्को सही विकल्प मात्र खोजेको हो । गरिखाने वर्गको पक्षमा र ठगि खाने वर्गको विपक्षमा मत जाहेर गर्दै सत्यताको खोजकर्ताका हिसावले मैले माक्र्सवाद अध्ययन गरेको हो । 

एक माक्र्सवादी विद्यार्थीले पढेको माक्र्सवादमा राज्यमा रहेका जनता, शासन, सत्तामा रहनेहरुद्धारा शासित हुन सक्छन् भन्ने कतै थिएन । जनताले मन पराएर निर्वाचित बनाएका जनप्रतिनिधिहरु जनताका शासक बन्छन् भन्ने पनि कहीं छैन । सत्तामा बस्नेहरु जनताका प्यारा सेवक र जनता राज्य व्यवस्थाका पहरेदार हुन्, भन्ने पो थियो । कम्युन व्यवस्थाका रक्षक र पालक जनता हुन्  । यही हैन पढेको पढाइएको ? अहिले ढाँटछलका चिप्ला कुरा गर्नेहरु, जनमतको दुरुपयोग गरि जनताको दुःख दर्दमा शयर गर्नेहरु, कम्युन सरकारका मान्छे हुनै सक्दैनन् । कम्युनिष्ट आदर्शले जनताका नेतालाई शासकको ठाउँमा पु¥याउँदैन । आज देश कंगाल भएको सबैलाई थाहा छ । श्रम गरेर बाँच्न सक्ने अवस्था देशका नागरिकमा छैन भन्ने पनि हिजैबाट थाहा थियो । तर वर्गिय मुक्ति र जनताद्धारा जनताले निर्माण गरेका, जनताका नेतृत्वकर्ता, त्यसमा पनि कम्युनिष्ट पार्टिका नेता, उनको नेतृत्वको राज्य व्यवस्था, के उही पुरानै सामन्ती संस्कारको दलदलमा फसेर यो हरिबैराग हुने होला ? यही चाल हुन्छ भन्ने सायद इमान्दार मतदाताले सोंचेका पनि थिएनन् ।  

देशमा कम्युनिष्ट पार्टिको दुईतिहाई सरकार छ । यो सरकार त मान्यताका आधारमा पनि  कृषिमा जीवनस्तर गुजारेका जनताको खेतमा, कृषकका गोठमा, गरिबका झुपडिमा, अस्वस्थ नागरिकका घर दलानमा, गरिबीको जीवनमा, अन्याय, अत्याचार र उत्पिडनको सारथी भएर उभिन्छ भनिन्थ्यो । कामरेडहरु ! भोका जनताले मतदान गरेर बनेको राज्यले उनै जनताको भोकमाथि अचाक्लि कर असुल्दैछ । गरिवी, दुःख, दर्द र आततायी जीवन शैलीमा सेल्फी खिच्दैछ । अन्याय, अत्याचार, शोषण, बलात्कार, असुरक्षामा नतमस्तक हँुदै जान्छ भन्ने मैले विश्वास राख्दिनथें । यो सरकार कर्तव्य र जिम्मेवारीबाट एकातिर लत्रेर गैह्र जिम्मेवार अभिव्यक्ति दिन्छ । राज्यसत्तामा पुगेर जनमतको बेवास्ता गर्ला भन्ने पनि लाग्दैनथ्यो । निर्वाचन हारेर प्रतिपक्षमा पुगेको पार्टिको नेताहरु कहाँ के बोल्छ भनेर त्यसको जवाफमा यो सत्ताको जिन्दगी हुर्केको छ । जनताको अफ्ठेराहरुमा साथ सहयोग होला भन्दा निम्छरा प्रवृत्तिहरु मौलाएर गएका छन् । जनताबाट भोट मागेर खडा भएको जनप्रतिनिधि, राज्यकोष आफ्ना पितृबाट आर्जेको बोनस् ठान्छ । त्यसको अपचलन गर्दै गरिव दुःखी जनताका अफ्ठेराहरुमा सामन्तवादी संस्कारको रचना गर्छ । मान, सम्मान, उठाई, बसाई, सुताईमा सहजता खोज्छ । यही धरातल बनाउन जनताले रगतको आहलमा आफूलाई सामेल गरेका होलान ? 

वर्तमान सरकार कुनैपनि विपक्षीका कारणले, कुनै लेखक, पत्रकारका समाचार, लेख आलेखले वा स्वयं पार्टिभित्र सच्याएर जाउ भन्दै आवाज उठाउनेहरुका कारण कमजोर भएको होईन । गैह्र कम्युनिष्टहरु, हिजोका दिनमा सत्ता र शक्तिका आडमा रम्ने रमाउनेहरु र आफ्नो पार्टिको नेतृत्वको सरकारको रक्षक म हुँ भन्न नजान्ने, कसरी हुन्छ हात थापेर बाँच्ने प्रवृत्तिको भिडले बदनाम बनाउँदै गएको हो । यही बेला कमाउने, रमाउने, शक्तिको आडमा राज्यको दुरुपयोग गर्ने, व्यक्तिगत स्वार्थका हिस्सेदारहरु सोही पार्टिका कार्यकर्ताको रुपमा छन् । उनीहरुलाई यो दिन आजै हो भन्ने छ, भोलीमा विश्वास छैन । मान्नुस्, छाडा सभ्यताबाट लोभको भिडमा उभिएकाहरु आजको अराजक पंक्ति हो जसले यो दुर्गती बनाइछाडेको छ । यहाँ थाहा पाएकाहरु नपाए जस्तो गर्नुपरेको छ । विग्रियो भन्नेका सुन्ने पनि कोही छैन । 

यसको परिणाम : आज आफ्नो पसिनाले गोठ बनाएका किसान आफै निर्माण गरेको राज्यको दैलामा पुगेर भन्छ, ‘मलाई सघाउनु प¥यो ।’ बाँजो बारी भएको किसानको छोरो परदेशबाट घरदेशमा सन्देश पठाउँछ, ‘मेरो देशमा कर्म गरेर खाने वाटो देखाउनु प¥यो ।’ हिजो उसको मतदानले शासक बनाउने मतदाता आज रोगी ज्यान लिएर सडक सडक हिंड्दै भन्छ, ‘मलाई उपचार खर्च दिए बाँच्थें ।’ पाखुरामा ताकत, जिउमा फूर्ति र चेतनाले भरिपूर्ण युवा भन्छ, ‘देशमा रोजगारको व्यवस्था गरिदेऊ, मलाई सास बेचेर लास बन्ने मन छैन ।’ यो दुर्दसा आज देख्न पाइने भए सर्वहारा वर्गको राज्य सत्ता यो देशमा आउँछ भनेर त्यसबेला कामरेड्सहरु सत्य बोल्देको भए त्यो माक्र्सवादी कथा म पनि पढ्ने थिएन । म जस्ता अरु माक्र्सवादी विद्यार्थीहरु पनि त्यसको सिको गर्दै कहिले सडकमा लाठी खाएर बेकार ज्यान दुखाउने थिएनन् । टाउको पुटाउने, अंगभंग हुनेदेखि हजारौंका संख्याका युवाहरु अनाहकमा ज्यान हाल्ने थिएनन् । यि कथा सुनेर आफ्नै अनुहार विरानो लाग्ने कामरेडस्लाई हिजो राता मान्छे भनेर काँधभरी उचाल्नेहरु आज पनि यो राज्य व्यवस्था व्यवस्थापनको चर्तिकला हेरेर कुरीकुरी हुनुको विकल्प के छ ? सत्यताको खेती गरेर असत्य फल्दो रहेछ भन्ने पटकथा हेरिहेरि मौनताको दोसाँधमा बसेका इमान्दार मान्छेहरु आज आफैदेखि आफै लजाउने दिन कसरी आयो ? एकपटक आफ्नो अनुहारको मुकुण्डो खेलेर वास्तविकता तर्फ चिहाउने फुर्सद भए एकपटक हेरेर मात्र देखाउ । आफ्नै जिउमाथि घिन लाग्ने छ । 

हँसिया र हथौडा अंकित रातो झण्डा कसले बनायो, कसले मेरो देशमा भित्र्यायो र को कसले यसको प्रचार गरेर त्यसका पछि लाग्नेहरुलाई के के दिलायो भन्ने चिन्ता मात्र होईन । सथ्य कुरा के कति कारणले त्यो आदर्शलाई आत्मसाथ गरियो र त्यसका लिडरहरुले त्यो आदर्श जीवन वाँकी राखे, राखेनन् ।  यत्ति चिन्तन मात्र हो । अव म जस्ता माक्र्सवाद पढ्नेहरु त्यही माक्र्सवाद अध्ययनका कारण आजका मान्छेहरु जस्तै सबै हुन्छन् भन्ने होईन । साध्य र साधनको अपव्याख्या गरेर देश, जनता र त्यसको मूल्य मान्यतालाई तिलाञ्जली दिनेहरुलाई हामी आफैले लरखराउन सक्नु पनि सत्यवादी व्यवहार हो । समाजमा आज सत्यलाई छिपाएर, लुकाएर त्यसको अपव्याख्य गरेर वा सत्तामा पुग्दा त्यसको दुरुपयोग गरेर आदर्श सिद्धान्तको तिलाञ्जली दिनु न्यून पूँजिवादी चरित्रको कर्तव्य हुन्छ । यसमा कुनै सन्देह छैन । माक्र्सवादी साधनाबाट आज सबै कम्युनिष्ट हौं भन्नेहरुलाई सजाएर ल्याइएको पक्कै होईन । यो देशमा शासनसत्ता मन पराउनेहरु, शक्ति र भक्तिका गुलाम, पुजारीहरु, आफ्नो निहित व्यक्तिगत स्वार्थका लागि गरिखाने वर्गको चर्को नारा लगाएर आएका डफ्फा सबै हो भन्नु छैन ।

आजको सरकार र त्यसको नेतृत्वका कम्युनिष्टधारी मान्छेहरु गैह्र माक्र्सवादी चरित्रका उपज हुन् । यत्ति भन्दा कसैले गुञ्जायस मान्नु पर्दैन । यो परिपाटि ठिक छैन भन्दै यसकै आसपासमा रमाउने पनि कतिपय आफुलाई कम्युनिष्ट नै मान्ने गरेका छन् । समय सन्दर्भको भिन्न अस्तित्व वकालत गर्ने, समय सापेक्ष क्रान्तिकारी धारका रेटिहरु चलाउने र यही सत्तामा गलगठो जोडेर जीवन निर्वाहको पटोमा लाग्नेहरु पनि उत्ति काइदाका कम्युनिष्ट दावाहरु छन् । यो परिपाटि सही छैन पनि भन्छन् । अरु विकल्प समेत नदेख्तै यही गिथलिएको व्यवस्थाको आडालाएर सहमत जाहेर गर्छन् । यहाँ कोही कसैकको मन चसक्क नभएको राम्रो हुन्छ । माक्र्सवादले कहिल्यै पनि गरिवलाई गरिव नै राखेर उसका नाममा कमाई खाने बाटो बनाउन कोही कसैलाई सिकाएको छैन । त्यो अधिकार वर्ग संघर्षको नारा लगाउने मुखभित्र आलु कोचेर राखौं भन्ने आशय मात्र हो । मान्छे देखेर नदेखै झै गरोस वा मुखमा पिडालु कोचोस् । सत्य, सत्य नै हो । गरिखाने वर्गको हितमा खुल्ला मुख हुनेहरु बोल्दै जानुपर्छ । 

आजको हिसावकितावबाट मुक्त एक जना शासक मलाई देखाइदिनुस् तपाइको चस्केको र झस्केको मनको नैतिक जिम्मा मैले लिन्छु । होईन भने, व्यक्तिगत सम्पत्ति जोरजाम पार्ने, जनताको रगत पसिनाबाट आर्जित करबाट संकलित वजेटबाट व्यक्तिगत लाभ लिने, केही मुठ्ठीभर समुहको प्रयोजनका लागि राज्यसत्ता दुरुपयोग गर्नसक्ने हैसियत कुनै पनि माक्र्सवादी विद्यार्थी वा कम्युनिष्ट पार्टिका एक जना सदस्यलाई छुट हुँदैन । जे गरेका छन्, त्यसमा गलत त भएको छ तर के गर्ने ठीकै छ भन्नेहरु पनि भुत्तेविचारक हुन् ।  

नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुका स्वार्थका लागि राज्यको दुरुपयोग गर्नेहरु, गणतन्त्रको नारा लगाएर मुलुकलाई यो हविगतको इतिहास पढिरहनु पर्दैन । देश बनाउने होईन व्यक्तिको बेश बनाउनेहरु विभिन्न वहानामा राजनीतिमा आए र गए पनि । आज देशमा देखा परेको नयाँ राज्य सक्तालाई सत्यता र भ्रमका विषयमा माक्र्सवादी मूल्य मान्यताबाट हेर्दा कस्तो देखिन्छ ? जवसम्म आफ्नो सत्य अनुसार देखिदैन, तवसम्म पटकथाको कलाकारिताले सत्ता स्वार्थ चल्दै जाने छ । जव आफ्नै हातबाट आफ्नै अन्त्य हुने दिन आउँछ, आफैले गरेका कर्तुतहरुले आफ्नो दाहसंस्कार पनि आफ्नै हातबाट हुन्छ । कामरेडहरु राजदरवार, भाई भारदार, उल्लुका सरदार भइसकियो । अव यो आफ्नो अनुहार गद्दार कहिले देख्ने ? 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्