८ बैशाख २०८१, शनिबार

पानपाते ठुली

तीज करिब करिब दैलोमै आईपुग्यो । दिनभर मेलापात घाँस दाउरा गर्ने साँझ हातमुख जोडी चुलोचौको सकेर आँगन ठुला भएका घरमा जम्मा भएर मनका बह पोखने जमाना गए । ‘दैलामुनी स्कुल थियो पढाएनन बाबाले, छोरी भन्न पर्दैन यस्ता जावाले’ भन्दै गाउथे मेरा दिदीबहिनीले । मादल कहाँ पाउनु पानी बोक्ने ग्यालेन बजाउथिम हामी भुराहरुले । सबैलाई एकै डालोमा नराखौँ तर श्रीमान विदेश जान एयरपोर्ट नपुग्दै लालाबालाको पढाईको निहुँ  पारेर श्रीमती शहरतिर झर्न थाले ।  घर–घरमा टिभी आए, हातहातमा बडेबडे स्क्रीनटच मोवाईल आए । तिनै टिभी र मोवाईलमा अनेकथरी तीजका गीत बज्छन ।

टिकटक र म्युजिकल्लीमा भिडियो बन्छन । लघुवित्त वंगलादेशमा जस्तै यहाँ सफल भएन । सबै हुने खाने कहाँ छौ र ? म जस्तो हुँदा खाने सुकुम्बासीका पनि त चाहना हुँदा रहेछन । म जस्ता हुँदा खानेका चाहनामा अरु खेल्दा रहेछन । यही लघुवित्तका ऋणले मेरा धेरै आफन्ती र छिमेकीको घर व्यवहारमा समस्या परेको झलझली देखेको छु । लघुवित्तबाट लिएको मध्ये करिबब ८० प्रतिशत ऋण व्यवसायमा हैन पुरानै ऋण तिर्न,  खानपान र गहनापातमा खर्च भएको देखिन्छ । ऋण गरी गरी विदेश भएका श्रीमानलाई फकाईमनाई गरेर बनाईएका गहना र झिलिमिली कपडाका फोटाले आजभोली निलो फेसबुकको भित्तो रातै देखिन्छ । कहिले यो समुह, कहिले त्यो समुह, कहिले यो टोल, कहिले त्यो टोल, यो पार्टी, त्यो पार्टीको नाममा महङ्गा पार्टी प्यालेसमा दरपार्टी दैनिक हुन्छन । यसलाई प्रगति मान्नुपर्ने बाध्यता आईलागेछ ।

साँच्ची म अब सुपारे ठुलातिर जानुपर्ने कता पो पुगेँ, यस्तै पारा भएर होला मलाई धेरैले तोरीलाहुरे भन्छन ।  यसो भनम न म काशीतिर जानुपर्ने मान्छे कुतीतिर हिडने प्रकारको छु । आफ्नो बानिप्रती मेरो केही गुनासो छैन, हुन त मेरो बानी नै त्यस्तै छ । सुपारे ठुलालाई चिन्न पानपाते ठुलीलाई पनि चिन्नै पर्छ । आज गाँउ घरतिर जाँदै गर्दा बाटैमा पानपाते ठुली दिदी भेटिन पुगिन् । वैशमा त लरक्क लर्केको कपाल, मझौला आँखा, न काली न गोरी पुर्णिमामा चन्द्रमा  बलेजस्तो मुहार विछट्टै राम्री थिईन । पानको पात जस्तो ओठ भएर्की उनी घरकी जेठी पनि भएकोले उनको नाम पान पाते ठुली  रहेको भन्थे । ती दिन वितेछन यी दिन आएछन पुक्क हुने गाला चाउरी परेछन । त्यस्ती दिदिको रुपरंग पुरै परिवर्तन भएको देख्दा म अचम्म परे । उमेरले म भन्दा ५÷७ बर्ष जेठी न हुन । तर जीवनमा उनलाई सोचेजस्तो नभएर होकी अलि बुढी नै देखिन्थिन । हाम्रा घरमा लैना बकेर्ना भैंसी छैनन करे म दुःखी कहाँ पसेर कालो चिया खाएर जालास आईज  भन्दा अर्को दुःखी नजाने कुरै भएन ।

२०५२ सालदेखि पान पाते दिदि र सुपारे ठुलाको माया प्रेम सुरु हुँदा हामी भुराभुरी नै थियौँ । अझ भनौँ न हामीलाई उनीहरुको मायाप्रेममा कुनै सरोकार थिएन । सुपारे ठुला पनि कम्तीका गतिला हुन र ? गाँउभरी चर्चा उनैको हुन्थ्यो । ज्यान पनि खाईलाग्दो नै, चालचलन पनि उस्तै राम्रो, जतिबेला पनि गरिब दुःखीका सहयात्री हुन्थे । आजभोली म जस्तो भुईफुटालाई उहाँका बारेमा त्यति थाहा नहुने तर अझै पनि गरिब दुःखी शोषित पिडीतकै लागी लडछु भन्छन रे । तर अलि घेराबन्दीमा भएकोले मन हुँदाहुँदै पनि भनेजस्तो काम गर्न सकिएन भनेर बेलाबेला दुखेसो पोख्ने गरेको हल्ला सुनिन्छ, साचों झुटो उनैले जानुन । पानपाते दिदीले ए केटा चिया ला भनेसी पो झसँग हुन पुगेँ । चिया हातमा लिए पिउन थाले । चिया सकेपछि फेरि आउँला दिदी भनेर निस्किए । 

घरमा पुगेर तिनै दिनहरु सम्झिँन पुगे । उनले भनेका कुराहरु एकएक केलाउन थालेँ । सुपारे ठुलालाई दिदीले जातिविती माया गर्थिन । ठुलाको लागि भनेर उनले कति दुःख गरिन गरिन् । सुपारे ठुलाले जनयुद्ध सुरु गर्दा पानपाते ठुली कालिकोट पुगेर प्रहरीका बन्दुक खोसेर सहयोग गर्थिन । सुपारे ठुलाकै लागि भनेर खाएका पिटाई, भोगेका शारीरिक मानसिक यातनाको हिसाब गर्ने हो भने त माक्र्सको ‘पुँजी’ भन्दा पनि ठुलो किताब बन्छ होला । जेलभित्रै सुरुङ्ग खनेर आफू र साथी बचाइन् । कहिले चितवन पुगेर माईतीले दिएका नाककानका गहना बेचेर ठुलाको पार्टीलाई आर्थिक सहयोग गरेको हाम्ले पनि सुनेका थियौँ ।  घरमा हुँदा घरका आटोपिठो, भुटेको मकै, जौको सातु पटुकीमा बोकेर बनमा लगेर खुवाउथिन ।

सुपारेले पनि मायाममता देखाउथे हुन त नजिक भाको भए अझैपनि माया गर्दा हुन । ती दिन सम्झेर आँसु झार्दा हुन । तर २०६५ मा सुपारे ठुला ठुलै पदमा पुगेपछि पानपाते ठुली नजिक पर्न पाईनन । मान्छेको मन न हो कस्मेटिक सामाग्रीको प्रयोगले चिरिच्याट्ट परेकातिर उनको मन जान पुगेर होकी पानपाते ठुली कसैगरी सुपारेको नजिक पर्न पाईनन । नौ दिन नदेखे नौलो, बीस दिन नदेखे बिर्सने हाम्रो चलन छ पानपाते ठुलीलाई बीस दिन हैन बीसौ महिना नदेखेर होकी आजभोली सुपारे ठुलाले बिर्सेजस्तो छ । ठुलाले विर्से पनि पानपाते ठुलीले पुरानो मायालाई विर्सेकी छैनन ।

२०६३ फागुन १ गते सुपारे ठुला काठमाडौँ खुलामञ्चमा सार्वजनिक हुँदा उनले लालसलाम गरेको ठुलै फोटो ठुलीको कोठामै राखेकी छन सायद यो पुरानो मायालाई नविर्सेको प्रमाण हो । आजभोली दिदीका आफ्नै दुःख छन । आफ्नै व्यवहार छन । उनले आफ्ना धेरै चाहना मनैभित्र मारिसकिन् । एकबारको जीवन हो त्यो पनि बम बारुदले हर्न नसकेको अहिले जिएको उनको जीवन नाफाको जीवन हो । अब उनलाइ सुपारे ठुलाको जीवनमा जोडिएर दखल दिने  चाहना पनि त छैन । अब पानपाते ठुलीको  एउटै ईच्छा छ, एक पटक सुपारे ठुलालाई भेटेर ‘के छ ओए सुपारे ठुला, पुरानो मायालाई नभुलु भनेर उनकै अगाडी धोको फेरेर रुने ।’ पानपाते ठुलीको ईच्छा पुरा होला की नहोला ?
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्