पहिरो प्रभावितहरुको तीज : न घर, न दर !

गुल्मी । घरसंगै रहर बगे । महिना दिनदेखि टेण्टमै । निम कुमारी सिंजालीको मनमा हर्क छैन् । उनको परिवार अहिले अस्थायी शिविरमा बसेको छ । सिंजालीको घर मात्रै पहिराले लगेन । माइती पनि टेण्टमै छन् । ‘घर माइत दुवैतिर बिजोग कसरी माइत जाने’ उनले धरातल अनलाईनसँग भनिन, ‘न घर न दर, त्यसैले त्रिपाल मुनी छोरीलाई पनि बोलाएको छैन् ।’ उनले घर नै नभएपछि छोरीहरुले पनि बोलाउने आश मारेको बताइन् । उनको माइत पनि लुम्पेककै कसिङथलामा पर्छ । त्यो स्थान पनि पहिरो प्रभावित भएकाले माइती पनि टेण्टमै बसेको बताइन् । ‘घरसंगै भएको अन्न र गाइभैसी पहिरोले लग्यो’ सिंजालीले भनिन, ‘के खान छोरी चेलीबेटी बोलाउने ।’

गाउँमा दरभन्दा डर धेरै

गाउँ र शहरलाई तीजले छोईसकेको छ, चारैतिर रमझम  । माइती जानेको लर्को छ । तर सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकका महिलाहरुलाई तीजले छोएको छैन् । सिङदी गाउँमा लिला तरामुको विहे गरेको २० बर्ष भए । धेरै बर्षको तीज माईतमै रमाईलो गरी बित्थ्यो । अहिले कुनै सुरसार छैन ।

सत्यवति गाउँपालिका ३ ठुलो लुम्पेकका बिस्थापित महिला । तस्विर : टोपलाल अर्याल/धरातल

मनमा खुसी नभएपछि चाडवार्डको कुनै अर्थ नहुने तरामुले बताईन । ‘आकाशमा कालो बादल देखे कता गएर ज्यान जोगाउने चिन्ता छ’ उनले धरातल अनलाईनसँग भनिन, ‘लुम्पेकमा अहिले दरभन्दा डर धेरै छ ।’ सिद्ध प्राविको प्रध्यानाध्यापक ज्ञानमाया तरामुले गाउँमै पनि वारपार गर्न जोखिम रहेको बताइन् । लुम्पेक बाहिर माइत भएकासंगै गाउँमै पनि ठुलो–ठुलो पहिरो भएकाले हिडडुल गर्न समेत मुस्किल पर्ने तरामुको भनाई छ । 

मिठो मसिनोकोभन्दा पसिनोको चिन्ता

गाउँमा धेरै महिला छन् । पुरुष परदेश र कामकै लागि बाहिर । स्थानीय सिद्ध प्राविका शिक्षक दुर्गा बहादुर तरामुले दिदि बहिनीहरुलाई माइतको मिठो मसिनोभन्दा आफ्नै पसिनोको चिन्ता धेरै भएको बताए । उनले रात र पानी परेमात्रै शिविर जाने नत्र दिउँसो घाम लागेको बेला गाउँमै आएर घर गोठ मर्मत गर्ने, बचेको अन्नपात स्याहार्ने, वस्तुभाउलाई घाँसपात गर्नुपर्ने बाध्यता महिलाहरुलाई छ । भिमा तरामु पनि अहिले माईत गईनन् । घरमा बस्न मिल्दैन । सानी छोरी र गोठका वस्तुभाउ छोडेर जाने उपाय छैन् । उनले छिमेकमा मादल बज्ने गरे पनि मनमा खुसी नभएकाले तीज न्यास्रो भएको बताइन् । 

कहिल्यै नहार्ने दिदि बहिनीले हारे

ठुलोलुम्पेक धेरै जनजाति भएको गाउँ हो । यो समुदाय त्यतिकै पनि मनोरञ्जनात्मक हुन्छन् । बिगतका बर्षहरुमा लुम्पेकी दिदि बहिनी तीजमा भाग नलिएका ठाउँ थिएनन् । सिङदी बजारी आमा समुह प्रख्यात नाम हो । ‘गाउँदेखि जिल्लासम्म यो समुहले नपुगे खल्लो मान्थे, धेरै तीज प्रतियोगीतामा हारेको रेकर्ड छैन’ टोल सुधार समितिका संयोजक दानमाया तरामुले भनिन, ‘अहिले प्रकृतिले हरायो गाउँनै शोकमा छ ।’ तरामुले अहिले गाउँमा समन्वय समितिले शिविरमै एक दिन खीर खुवाउने बाहेक अरु कुनै कार्यक्रम नभएको बताइन् । पहिरोले ठुलोलुम्पेकमा पाँच र लिम्घामा आठ गरेर १३ जनाको ज्यान गएको छ । भने झण्डै १३ सय जना बिस्थापित भएका छन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय