गाउँपालिकाले रोजगार दिन थालेपछि विदेशबाट फर्कन थाले युवा

डोजर प्रयोग कम गर्न ५० लेन्थवर्कर 

गुल्मी । इस्मा गाउँपालिकाले डोजरको प्रयोग कम गर्न ५० जना लेन्थवर्कर (सडक हेरालु) भर्ना गरेको छ । बर्षातले क्षति पु¥याएका सडक सञ्जाल नियमित गर्न लेन्थवर्कर नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । गाउँपालिकाले गत बर्षदेखि २० जना लेन्थवर्करलाई बर्षभर नै नियमित सडक मर्मतका लागि राखेको छ । यो बर्ष थप ३० जना भर्ना गरिएको छ । गाउँपालिकामा लेन्थवर्करको लागि ६४ जनाले निवेदन दिएका थिए । अब ५० जना लेन्थवर्कर मार्फत आइतबारदेखि सडक मर्मतको काम सुरु गर्ने योजना रहेको बस्नेतले बताए । 

बाटो र आटो दुबै चल्ने

इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बिपन्न परिवारको जिबिकोपार्जनसंगै सडक नियमित बनाउने योजना अगाडी बढाएको बताए । गत बर्ष दशैमा मात्रै सडक मर्मत गर्दा गाउँपालिकाले २० लाख बढी खर्च गरेको थियो । ठुला मेसिनको प्रयोगले एउटा ब्यक्तिलाई मात्रै फाइदा हुने भएकाले लेन्थवर्करको संख्या बढाएको बिष्टले बताए । ‘लेन्थवर्कर मार्फत काम गर्दा बाटो र आटो दुवै चल्ने सोंचेका छौँ’ उनले धरातल अनलाईनसँग भने, ‘गत बर्ष मेसिन प्रयोग गर्दा २० लाख खर्च भो, अहिले त्यो पैसा ५० परिवारसम्म पुग्ने छ ।’ उनले लेन्थवर्करको अवधी थप गरेर ठुला मेसिनको प्रयोगलाई निरुत्साहित गर्दै अधिकतम रोजगार सिर्जना गर्ने गरी सडक मर्मत गर्ने बताए ।

धेरै बिदेशबाट फर्किए

गाउँपालिकाले नियुक्त गरेका ५० जना लेन्थवर्करमा ५२ प्रतिशत बिदेशबाट फर्किएका छन् । भारतसँगै खाडी मुलुक मलेसिया, कतारबाट फर्किएका युवाहरुले गाउँपालिकामा आवेदन दिएका थिए । ‘परिवारसंगै काम गर्ने अवसर पाएँ, म जस्तै थुप्रै युवाले परदेशको गुलाम गरेका छन्, मलेसियाबाट फर्केका इस्मा गाउँपालिका ४ का इश्वर बिष्टले धरातल अनलाईनसँग भने, ‘चाड पर्वको मुखमा ५० जनाको घरमा गाउँपालिकाले खुसी दिएकोे छ ।’ नियुक्ति लिएका ५० जनामा १४ जना महिला रहेका छन् ।

पुरस्कार र दण्ड 

गाउँपालिकाले लेन्थवर्करको लागि दण्ड र पुरस्कारको व्यवस्था गरेको छ । सडक मर्मतमा नियमित, अनुशासन र तोकिएको काम समयमै पूरा गर्ने लेन्थवर्करलाई पुरस्कृत गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । उनले गत बर्ष पनि तीन जनालाई पुरस्कृत गरिएको बताउँदै राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र ठग्ने तथा मदिरा सेवन गर्नेलाई कारवाही गर्ने गरी पदमुक्त गरिने जानकारी दिइन् । साथै लेन्थवर्कर कर्मचारी प्रति उत्तरदायी बनाइएको छ । जनप्रतिनिधीसँग भोटको धम्की दिएर काम नगर्ने प्रवृतिको अन्त्य गर्न अहिले सबै कामको व्यवस्थापन कर्मचारीले गर्ने खत्रीले बताइन् ।

पहिलो चरणमा तीन महिना 

गाउँपालिकाले पहिलो चरणमा तीन महिना लेन्थवर्कर भर्ना गरेको गाउँपालिकाका प्रवक्ता गनु प्रसाद अधिकारीले जानकारी दिए । उनले सुरुमा मुख्य सडक र त्यसपछि शाखा सडक मर्मत गर्न अहिले लेन्थवर्करको सेवा अवधी तीन महिना बनाइएको बताए । तीन महिनापछि कामको प्रभावकारीता मुल्याङकन गरेर थप निर्णय गरिने अधिकारीले धरातल अनलाईनलाई बताए । एक जनाको लागि अहिले १३ हजार पाँच सय मासिक पारिश्रमिक तोकिएको छ । कामको प्रभावका आधारमा १० प्रतिशतसम्म पारिश्रमिक थप गरिने प्रवक्ता अधिकारीले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय