८ बैशाख २०८१, शनिबार

सांसद केसीको पहलमा कोल्ड स्टोरदेखी कृषिसम्ममा अनुदान !

कपिलवस्तु । प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको पहलमा कपिलवस्तुको पश्चिमी क्षेत्रमा विभिन्न विकासे योजनाहरु सञ्चालनमा छन । गत वर्ष केसीले दुई कोल्ड स्टोर निर्माणको योजनादेखी कृषकहरुलाई अनुदान तथा सिंचाईको सहजताको लागि योजनाहरु ल्याउन सफल भएका छन ।

कपिलवस्तुकै गौरवको योजना रहेको आरटिओ रोड कालापत्रे र स्तर उन्नतीको काम सुरु भएको छ । लामोसमयसम्म सुरु हुन नसकेको यो योजनाका लागि गतवर्ष बजेट विनियोजन भई काम सुरु भईसकेको हो । आरटिओ रोडको सुन्दरीडाँडा–वालापुरखैरीका लागि रु २० करोड बजेट विनियोजन भएको छ ।  

यस्तै रुद्रपुर जगदिशपुर आरटिओ सडक कालोपत्रे, सुन्दरीडाँडा–वानियाभार–शिवपुर सडक कालोपत्रेका लागि रु १ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष ०७५।७६ मा कृषितर्फ शिवपुर हाटबजारलाई रु २० लाख, हल्लानगर हाटबजार स्तरउन्नति लागि रु २० लाख बजेट विनियोजन भएको थियो । यी दुई योजनाको काम पनि सम्पन्न भईसकेको छ । 

नेपाल आर्दश शिवपुरलाई कृषि शिक्षा विकास, आर्गनिक कृषि फर्म हल्लानगर, कृषि स्मार्ट गाउँ उमरी गाउँलाई बजेट विनियोजन भएको छ । उनकै पहलमा सिजन सहकारी कोल्ड स्टोर र गुमानसिंह कोल्ड स्टोर निमार्ण हुने भएको छ । यसका लागि एक कोल्ड स्टोर निमार्णका लागि रु ४ करोड अनुदान प्राप्त भएको छ । त्यस्तै बाख्रापालन, कुखुरापालन, भैसीपालन, माहुरीपालनका लागि पनि प्रदेश सरकारबाट अनुदान प्राप्त भएको छ ।

शिक्षातर्फ प्रदेश ५ सरकारले नेपाल आर्दश बहुमुखी क्याम्पसलाई रु २० लाख र समयथान वहुमुखी क्याम्पसलाई रु २० लाख बजेट विनियोजन गरेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पटक–पटक आग्रह गरेपछि क्याम्पसको स्तरउन्नतीको लागि बजेट विनियोजन भएको सांसद केसीले बताए । सरकारले प्रतिनिधि सभा ३ (१) मा रहेका २३ वटा मदरसाहरुलाई रु ५० हजारदेखी रु १ लाखसम्मको अनुदान दिएको उनले बताए । विभिन्न विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, डिजिटल कक्ष निमार्णका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । 

जिल्लाको पश्चिम क्षेत्रमा रहेको शिवगढी मन्दिरको डिपिआर निमार्ण गरिएको छ  । प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटमा मन्दिरको डिपिआर निमार्ण गरिएको उनले बताए । यस्तै उमरी गुफाका लागि रु ५ लाख, दुर्गा मन्दिर नयाँवस्ती संरक्षणमा रु ५ लाख बजेट विनियोजन भई काम समेत सम्पन्न भईसकेको केसीले बताए । सोनवागढमा सांसद केसीकै पहलमा उत्खनन तथा फोटोग्राफीसमेत सम्पन्न भएको छ । शिवराज नगरपालिका ३ मैनारमा सिंचाई लिफ्टको योजना अघि बढेको उनले जानकारी दिए । बहुवर्षिय योजनामा रहेको उक्त सिंचाई योजनाको गत वर्ष डिपिआर तयार भएको थियो । यो सिंचाई योजनाको बाँकी काम यो वर्ष सुरु हुने उनको भनाई छ ।

भु–संरक्षण तथा नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले विशेष चासो दिएको सांसद केसीले बताए । प्रदेशले विभिन्न नदीले कटान गरेका ठाउँलाई नियन्त्रण गर्न गत वर्षदेखी नै प्रदेश सरकारले सक्रियता देखाएको उनले बताए । सुरही नदीको कटान रोक्न गत वर्ष करिब रु १ करोडको बजेटमा उमरी, वनकटवा, हल्लानगर र पटपर क्षेत्रमा नियन्त्रणको लागि काम गरिएको सांसद केसीले बताए । जनताका अपेक्षाअनुसार विकासका गतिविधिलाई तीव्र पारिएको उनको भनाई छ । उनले कृषि, सिंचाई र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिएको बताए । गत वर्ष विकास पुर्वाधारलाई प्राथमिकता दिएको बताउँदै उनले अब सिंचाई र कृषिलाई प्राथमिकता दिने बताए ।
    
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्