७ बैशाख २०८१, शुक्रबार

दृष्टिबिहिनको उपचारमा प्रदेश सरकारको ६० प्रतिशत सहयोग : मन्त्री बराल 

गुल्मी । प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले दृष्टिविहिनको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । ५ नम्बर प्रदेशका करिब ३० हजार दृष्टिबिहिन नागरिकहरुको उपचारको लागि स्थानीय र प्रदेश सरकार र नेत्र ज्योति संघको सहयोगमा शल्यक्रिया गरिने उनले बताए ।

गुल्मीको सदरमुकाम तम्घासमा भएको नेपाल नेत्र ज्योती संघ प्रदेश ५ को प्रथम अविधेशनको उद्घाटन गर्दै मन्त्री बरालले ती दृष्टिविहिन नागरिकको उपचारका लागि प्रदेश सरकारले ६० प्रतिशत, स्थानीय सरकारले २० प्रतिशत र २० प्रतिशत नेपाल नेत्र ज्योती संघले सहयोग गर्ने बताए । उनले रकम अभावमा नागरिकले उपचारबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार लागि परेको बताए । सबै रोगको प्रदेश भित्रै उपचार गर्न सक्ने गरी अस्पतालहरुको स्तरउन्नती गर्न प्रदेश सरकार सक्रिय रुपमा लागेको उनको भनाई छ । प्रादेशीक अस्पताललाई पहिलो तहको एम्बुलेन्स राख्ने व्यवस्था प्रदेश सरकारले गरेको भन्दै अकालमै ज्यान जाने अवस्थाको अन्त्य गर्ने बरालले बताए ।

देशका बिभिन्न ठाउँमा देखिएको डेगुं रोग नियन्त्रण बाहिर नरहेको बताउँदै उनले उपचारमा कुनै समस्या नरहेको बताए । डेगुं रोगलाई महामारीको अवस्थामा फैलन नदिन प्रदेश सरकार सचेत रहेको उनले बताए । मन्त्री बरालले प्रदेश भित्र  प्रर्याप्त औषधी र जनशक्ति रहेको भन्दै उपचारमा कुनै समस्या नहुने बताए ।  

सुरक्षाविनै जिल्ला भ्रमण

जिल्लाका कार्यक्रमहरुमा सहभागी हुन आउँदा केन्द्रिय मन्त्रीसरह सुरक्षाको स्कटिङमा आउजाउ गर्ने मन्त्री बरालले यसपटक भने त्यो सुविधा पाएनन । उनी प्रदेश सरकारको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै सुरक्षाको स्कटिङ बिनानै जिल्लामा आए र कार्यक्रमको उदघाटन गरे र कार्यक्रम सफलताको कामना गर्दै बुटवल फर्किए ।

प्रमुख जिल्ला अधिकारी एवम सुरक्षा समितिका प्रमुख यदुनाथ पौडेलले मन्त्री सवार हुने भएपछि सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताए । उनले सुरक्षामा कुनै समस्या नभएको दाबी गरे । यता यसको जिम्मा रहने जिल्ला प्रहरीले स्कटिङ गर्नुपर्ने अवस्था नरहेको बताउँदै सुरक्षा अबस्थालाई मजबुत बनाईएको जनाएको छ । सोमबार मात्रै जिल्ला प्रहरी कार्यलय गुल्मीको प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले केन्द्रिय स्तरको मन्त्री र प्रदेशका मुख्यमन्त्री जिल्लामा आउँदा सुरक्षाको स्कटिङ रहने बताउँदै प्रदेशका मन्त्रीहरुलाई सुरक्षाको स्कटिङ नहुने बताए । 

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकिय सचिव पवन कुमार कुँवरले मन्त्रीहरु जिल्लामा जाँदा कानुन मन्त्रालयमा जानकारी गराउने गरेको र सोही अनुसार सुरक्षा हुने गरेको बताए । उनले मन्त्रीहरुलाई सुरक्षा दिने कर्तब्य र दायित्व जिल्ला सुरक्षा समितिको रहेको बताए । –तिलाचन पाण्डे

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्