४ बैशाख २०८१, मंगलबार

सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न गण्डकी प्रदेश सरकार तयार छः गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पूँजि निर्माण र परिचालनमा सहकारी क्षेत्रको भूमिका अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ ।     

राष्ट्रिय सहकारी बैंक पोखरा शाखाले मंगलवार आयोजना गरेको संहकारी संघहरुको प्रवद्र्धनमा राष्ट्रिय सहकारी बैंकको भूमिका विषय एक दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।     

सहकारी क्षेत्रले सदस्यहरुसंग भएको पूँजिलाई परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान गर्न सक्ने भएकाले पूँजि निर्माण र परिचालनका लागि सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनका क्षेत्रमा गर्ने कामको योजनासहित आएमा सहकारीसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी बैंकमा प्रारम्भिक सहकारी संस्थादेखि महासंघसम्म सदस्य बन्ने भएकाले बैंकले गर्ने कार्यले समग्र सहकारी अभियानलाई प्रभाव पार्ने धारणा व्यक्त गर्नु भयो ।     

त्यस्तै भागीहरुले सहकारी संघहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकले वित्तीय क्षेत्रका साथै नेतृत्व विकास, क्षमता विकास र नीति तथा कार्यविधि निर्माणमा सहयोग गर्नु पर्ने सुझाव दिएका थिए ।     

गण्डकी प्रदेश अन्तरगत गठित जिल्ला सहकारी संघहरु तथा विभिन्न विषयका जिल्ला स्तरीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु गरी ८५ जनाको सहभागिता रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्