कहिले उठ्लान सीमानामा ढलेका सीमा स्तम्भ ?

कपिलवस्तु । भारतीय सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको बिजयनगर गाउँपालिका छेउमा रहेका  सीमा स्तम्भहरुको अवस्था अहिले जीर्ण रहेको छ । विगत ३ महिना अघि आएको बाढीले ढालेको सीमा स्तम्भ अझैसम्म पनि उठ्न सकेको छैन् । गाउँपालिकाको वडा नम्बर ५ र ६ का २ खोलामा आएको बाढीले त्यहाँ स्थित ५ वटा सीमा स्तम्भ ढलेको थियो । 

विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८।७ र आधी किमी उत्तर पिलर नं. ५७८।१० पानीमा लडेको छ । गाउँपालिकाको वडा नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७।७ र ५७७।९ ढलेका छन् । ५७७।९ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७।७ को आधा भाग पानीमा डुबेको छ । विजयनगर गाउँपालिका १, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थानियको भनाई छ  ।

विजयनगर गाउँपालिका ६ का मुकेश थापाले सरकारले सीमा स्तम्भको संरक्षण गर्न नसकेको बताउनुभयो । “विजयनगर क्षेत्रमा मात्र ५ वडा स्तम्भहरु जीर्ण तथा ढलेका छन ढलेका स्तम्भको संरक्षण हुन नसकेमा अर्को पटकको वर्षातमा स्तम्भ बगाउने डर छ । सरकारले सीमा स्तम्भ संरक्षणका लागि चासो देखाएको छैन ” उहाँले धरातल अनलाईनसँग भन्नुभयो ।  दैनिक जसो सीमा क्षेत्रमा नेपाल प्रहरी पुग्ने गरेको भएतापनि निरीक्षण गरेर फर्कन वाहेक केहि गर्न सकेको छैन । “हामी दैनिक जसो सो क्षेत्रमा पुग्ने गर्दछौँ”  एक प्रहरीले भने । बर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ । सीमास्तम्भ निर्माणका लागि दुइदेशीय टोलीकै आवश्यकता पर्ने भएकाले सोको लागि केन्द्रीयस्तरकै पहल आवश्यक  छ । 

विजयनगर गाउँपालिका ५ का वडाध्यक्ष अनवर मुसलमानले निरिक्षण गर्न गएको भएपनि कुनै कदम भने चाल्न नसकेको बताउनुभयो । “सीमा क्षेत्रको कुरा हो यसलाई सामान्य लिनुपनि भएन” मुसलमानले भन्नुभयो, “तर सीमा स्तम्भ पुन निमार्ण गर्न ढिलाई गर्न हुँदैन ।”  सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुइ देशीय केन्द्रीयस्तरको सर्वेक्षकसहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिलाई भएको हो । शसस्त्र प्रहरी गुल्म कृष्णनगर क्षेत्रमा मात्र २ सय ८९ सीमा स्तम्भ रहेका छन जसमा एउटा जङ्गे पिल्लर रहेको छ भने उक्त पिल्लर पनि जीर्ण रहेको छ । केहि स्तम्भ हरु नया बनेका छन केही पुराना जीर्ण छन जो विभिन्न कारण मर्मत हुन नसकिरहेको शसस्त्र प्रहरी कृष्णनगरका डिएसपि शुशिल शाहीले बताउनुभयो ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले स्तम्भको अवस्था बारे वुझ्न सुरक्षा अधिकारीसहितको टोली पुगेको बताउनुभयो । दुवै देशका पदाधिकारी बसेर स्तम्भ उठाउनुपर्ने थापाको तर्क छ । “स्थानिय निकायले मात्र चाहेर भएन मैले धेरै पटक प्रयास गरेको हुँ” थापाले भन्नुभयो, “भारतीय पदाधिकारी र नेपालका अधिकारीहरुले यसमा ध्यान दिन आवश्यक छ गाउँपालिकाले सहयोग गर्न तयार छ ।”  जिल्लाकै विकट क्षेत्र रहेको जैवावैराठमा रहेका केहि स्तम्भहरु जीर्ण रहेका छन । ति स्तम्भलाई पुनर्निमार्ण गर्न आवश्यक देखिन्छ । दुई देशका सीमामा ४६ मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सीमास्तम्भ र २ सय ६० साना सीमास्तम्भ गरी कुल ५ सय ३२ सीमा स्तम्भ छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय