१६ चैत २०८०, शुक्रबार

लुम्बिनीमा अन्तराष्ट्रियस्तरको त्रिपिटक च्यान्टिङ सुरु

कपिलवस्तु । बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तराष्ट्रियस्तरको त्रिपिटक वाचन (च्यान्टिङ) बिहिवारदेखि सुरु भएको छ । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन पाठ सुुरु गरिएको हो  । लुम्बिनीस्थित पुण्य बगैंचा रहेको मायादेवी मन्दिर छेउको उत्तरतिर बिहिबारदेखि त्रिपिटक बाचन सुरु गरिएको आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थविरले बताए । कार्तिक २८ गतेदेखि सुरु भएको च्यान्टिङ ३० गतेसम्म सञ्चालन हुनेछ ।

भिक्षुमैत्री महास्थबिरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुवात गरेका छन् । दोस्रो दिन कम्बोडिया, कोरिया र म्यान्मारका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नेछन् भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहिबार देखि सुरु भएको कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले च्यान्टिङ उद्घाटन गर्दै अन्तराष्ट्रिय स्तरको यो कार्यले लुम्बिनीको गरिमा र महत्वलाई बढाएको बताए । सम्राट अशोकले लुम्बिनीसंगै कपिलबस्तुको २ स्थानमा अशोक स्तम्भ राखेको ठाँउ पहिचान भइसकेको मुख्यमन्त्री पोख्रेलको भनाई छ । कनक मुनि बुद्धको जन्म स्थल निगालिकोटमा प्रदेश सरकारले कनक मुनी बुद्धको प्रतिमा राख्ने र नवलपरासीको रामग्रामबारे अध्ययन प्रक्रिया अगाडि बढाइएको उनले बताए । “उक्त स्थानमा प्रदेश सरकारका तर्फबाट बुद्धकालिन सम्पदाहरुको अध्ययन गर्ने संग्रहालय बनाउने योजना छ, यसका लागि अध्ययन प्रक्रिया अघि बढेको पनि छ,” मुख्यमन्त्री पोखरेलले भने ।

कार्यक्रममा लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेसनल अमेरिकाका अध्यक्ष वाङवो डिसेको नेतृत्वमा १ सय १९ विदेशी भिक्षु लुम्बिनीमा सहभागी जनाएका छन्  । म्यानमार, भियतनाम, थाइल्यान्ड, श्रीलंका, मलेसिया, ब्राजिल, जापान र अमेरिका लगायत देशका भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता रहेको आयोजक समितिका सचिव हेमबहादुर विष्टले धरातल  अनलाईनलाई जानकारी दिए ।

‘२५ मुलुकका पाँच सयभन्दा बढी विदेशी भिक्षु/भिक्षुणी त्रिपिटक च्यान्टिङमा सहभागी हुन आएका छन्,’ लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक च्यान्टिङ आयोजक समिति अध्यक्ष महास्थवीरले भने, ‘त्यत्तिकै संख्यामा नेपाली भिक्षु, गुरुमा र अनागरिका पनि सहभागी छन् ।” बौद्ध धर्मग्रन्थ त्रिपिटकको लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा भएको उनको भनाइ छ  । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्