४ बैशाख २०८१, मंगलबार

तेह्र दिने सुत्केरी महिलाको दुवै मृगौला फेल

पर्वत । पर्वतमा तेह्र दिने एक सुत्केरी महिलाको दुबै मृगौला फेल भएका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीकी २३ वर्षीया विशाका परियारका दुवै मृगौलाले काम गर्न छाडेको हो । 

कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मृगौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मृगौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताईन् । कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेको भन्दै धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरेको थियो तर बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेकोले बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर गरेको थियो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताईन् । तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मृगौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मृगौला फेल भएको देखिएको थियो ।

अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ । आमाको दुवै मृगौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् । विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन । एक/एक दिनको अन्तरमा उनका मृगौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताईन् ।

चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मृगौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ ।

डायलाइसिसबाट पनि मृगौलाको समस्या समाधान नभएमा उनको दुवै मृगौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । तर मृगौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन् । 

विशाकाका श्रीमान विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन् । उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाखालाई बचाउनका लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकी छिन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्