७ बैशाख २०८१, शुक्रबार

सिकलसेलका बिरामीको पिडा : ‘कसैले तयार पारिदिए खाने हो, नत्र भने भोकै बस्नुपर्छ’

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लामो समयदेखि सिकलसेल एनिमिया रोगबाट पीडित छिन । हाडजोर्नीमा कडा खालको दुखाई हुँदा घरको कुनै पनि काम गर्न नसक्ने पीडा सुनाउँदै उनी भन्छिन, “जोर्नीहरू बेस्सरी दुख्छन, घरमा खाना पकाउन समेत सक्दैन अरु काम गर्न त झन के सक्नु ?”

त्यस्तै सोही वडाकी २५ वर्षीया रूपाकुमारी थारू पनि सिकलसेल भएकै कारण केही पनि काम गर्न नसक्ने अवस्थामा छिन । “घरको केही पनि काम गर्न सकिँदैन”, उनले भने, “कसैले तयार पारिदिए खाने हो, नत्र भने भोकै बस्नुपर्छ ।” सोही ठाउँकी ४७ वर्षीया सुन्दरी चौधरीको समस्या पनि उस्तै छ । औषधी खाए पछि केही समय सञ्चो हुने र फेरि दुख्न सुरु हुने उनको भनाइ छ । “औषधि त खाइरहेकी छु”, उनले भनिन “औषधि खाएको केही समयसम्म ठीक हुन्छ, त्यसपछि फेरि सताउन थाल्छ ।” 

त्यस्तै सानै उमेरदेखि उक्त रोगले सताएका सोही ठाउँका २७ वर्षीय शरद चौधरी सँगैका साथीहरुले विभिन्न पेशा व्यवसाय गरेर टन्न पैसा कमाइरहँदा उनी भने केही पनि गर्न नसक्ने अवस्थामा छन ।

जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसमा ती रोगिहरूले अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क औषधि खाइरहेका छन तर समयमै औषधि नपाउँदा समस्या हुने गरेको उनीहरूको गुनासो छ । 

सरकारले यस्तो रोग लागेका विरामीहरुलाई एक लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यतिले उपचार खर्च नपुग्ने उनीहरुको दुःखेसो छ । आफुहरुले केही पनि काम गर्न सक्ने अवस्था नभएकोले सरकारले उचित भत्ताको व्यवस्था गरिदिनु पर्ने उनीहरुको माग गर्दै आएका छन ।

धेरै थारूहरूमा सिकलसेल ऐनिमिया रोग हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगको पहिचान हुन नसकेको थारू अगुवाहरूको भनाइ छ । अहिले उक्त प्रतिष्ठानसहित तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र गढवा गाउँपालिकामा मात्रै सिकलसेल जाँच गर्ने उपकरण छ । 

सवै स्थानीय तहमा सिकलसेल जाँच गर्ने उपकरणको व्यवस्था मिलाउनुपर्ने थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले बताए । यो रोग निराकरण गर्न नसके थारू जाति नै सङ्कटमा पर्न सक्ने समेत अगुवाहरूको भनाइ छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्