८ बैशाख २०८१, शनिबार

पाल्पाका १२ विद्यालय शुन्य दरबन्दीमा सञ्चालित

पाल्पा । जिल्लामा संचालनमा रहेका केहि मावि विद्यालयहरुमा विषयगत शिक्षकहरु नहुँदा पनि कक्षामा पठनपाठन हुदै आएको छ । विषयगत शिक्षकको अभावमा पठनपाठन हुँदा विद्यालय तथा विद्यार्थीहरुलाई समेत पठनपाठनमा समस्या परेको विद्यालयको गुनासो रहेको छ । 

जिल्लाका  १२ माध्यमिक विद्यालयहरु शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वयन इकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा रहेको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी दिनुभयो । जिल्लाको तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सबैभन्दा बढी शून्य दरबन्दी विद्यालय रहेका छन् । तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन मावि, निस्दी, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा आएको हो ।

शून्य दरबन्दीमा रहेका विद्यालयलाई शिक्षकका लागि शिक्षण सहयोग अुनदानका रुपमा बजेट प्राप्त हुँदै आएको बेल्बासेको दाबी छ । विसं २०७६÷७७ मा शिक्षा विकास तथा समन्वय एकाइमा बजेट प्राप्त भएको थियो । विसं २०७५÷७६ मा स्थानीय तहमा नै केन्द्रीय सरकारले शिक्षण सहयोग अनुदान पठाएको हो ।

शिक्षण अनुदानको रकम मावि तहमा रहेका शिक्षकहरुलाई तलब प्राप्त भए पनि आधारभूत तहका शिक्षकले अनुदान कार्यक्रमबाट बञ्चित हुनुपरेको छ । वि.सं २०६६ देखि दरबन्दी थप गर्ने काम भएको छैन । पछिल्ला वर्षमा माविका कक्षा सञ्चालनमा आएका विद्यालयमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन गराउने शिक्षकका लागि पारिश्रमिकको जिम्मेबारी विद्यालयले बेहोर्नुपर्ने बाध्यता रहेको छ ।

 शून्य दरबन्दीमा सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । तर, मावि नहुँदा अन्यत्र पठाउँदा बढी समय लाग्ने भएपछि ग्रामीण क्षेत्रका माविमा गाउँपालिका र विद्यालयको आन्तरिक खर्चबाट मावि शिक्षकहरु लाई  तलव भत्ता उपलब्ध गराइदै आइएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्