१६ चैत २०८०, शुक्रबार

पोखराका मतदाताले बाँदरसगं भोट साट्दै

कास्की । पोखराका कृषकले आफ्नो खेतीबाली बाँदरले नष्ट गर्ने र निकै दुख दिने गरेकोले बाँदरको समस्याको समाधान गरिदिन एक स्थानीय उम्मेदवारलाई आग्रह गरेका छन् । पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

नेपाली काङ्ग्रेसद्वारा शुक्रबार आयोजित घरदैलोका क्रममा स्थानीयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए । भलाम र डाँडाखोरका झण्डै ३ सय घरमा घरदैलो गरेका काङ्गेस उम्मेदवार खेमराज पौडेलले धान काट्दै गरेका कृषकसँग पनि भेट गरी मत मागेका थिए ।

धान थन्क्याउने चटारोका कारण काममा नै व्यस्त देखिएका भलाम खोर र शेराखेतका कृषकले बाँदरको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । आफूहरूले बाँदरको समस्या धेरै ठाउँमा सुनाए पनि समाधानका लागि कसैले पहल नगरेको उहाँहरुको गुनासो थियो ।

काङ्ग्रेसको दोस्रो चरणको कार्यक्रमअन्तर्गत पोखरा–२० भलाममा घरदैलो कार्यक्रम गरेको कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो । पार्टीले पोखरा महानगरपालिकाका वडा नं ७, ९, ११, १६, ३३ लगायतका वडामा निर्वाचन लक्षित कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्