१६ चैत २०८०, शुक्रबार

प्रदेश ५ मा बढ्यो चुनावी सरगर्मी, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

बुटबल । प्रदेश ५ का दश स्थानमा हुने उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ । एउटा प्रदेशसभासहित ९ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । प्रदेशका दाङ, बाँके, कपिलवस्तु, प्युठान, रोल्पा, गुल्मी र अर्घाखाँचीमा उपनिर्वाचन हुँदैछ । 

निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै प्रदेशका विभिन्न जिल्लामा हुने उपनिर्वाचनका लागि राजनीतिक दलभित्र पनि चहलपहल बढ्न थालेको छ । देशभर ५० पदका लागि हुन लागेको उपनिर्वाचनमा दाङमा एकजना प्रदेशसभा सदस्य अन्तरगत प्रदेशसभा सदस्य ३ (ख) र घोराही उपमहानगरपालिकाको वडा नं १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ जसका लागि ६ जनाको उम्मेदवारी परेको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ जहाँ सिके राउत समुहको जनमत पार्टीसहित १२ जनाको उम्मेदवारी परेको छ । 

गुल्मीको रुरु गाउँपालिका वडा नं ६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । यहाँ ३ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै प्यूठानको ३ स्थानमा उपनिर्वाचन हुँदैछ । प्यूठान नगरपालिकाको वडा नं १ को वडाध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । प्यूठानकै ऐरावती गाउँपालिका वडा नं १ मा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि २ जनाको उम्मेदवारी परेको छ भने वडा नं २ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै रोल्पाको थवाङ गाउँपालिका  वडा नं १ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । 

प्रदेशको बाँकेमा पनि उपनिर्वाचन हुँदैछ । बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि ५ जनाको उम्मेदवारी परेको छ । 

अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नं ३ को वडाध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् ।

प्यूठानको ऐरावती गाउँपालिकामा वडा नं १ का लागि ३ जनाको उम्मेदवारी परेपनि अध्यक्ष पदका उम्मेदवार अर्जुन थापाले उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं १ का लागि हुने निर्वाचनमा पनि ४ जनाको उम्मेदवारी परेकोमा भद्रकुमारी झाँक्रीले उम्मेदवारी फिर्ता लिएकी थिईन् । 

आ–आफ्नो पार्टीबाट उम्मेदवारी दिएका क्रियाशील राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनको लागि चुनावी कसरत सुरु गरेका छन् ।  सबै निर्वाचन क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गराएसँगै मतदाताको घरमा भोट माग्न केन्द्रित भएका छन् । मतदातालाई परम्परगत शैलीको एजेण्डा लिएर मतदाता रुझाउने प्रयत्नमै उम्मेदवार केन्द्रित छन् ।

प्रदेश ५ मा उपनिर्वाचन हुने यी निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उपनिर्वाचनमा सबै क्षेत्रमा निर्वाचन नहुने भएकाले जिल्ला तहका नेता कार्यकर्ताको नजर उपनिर्वाचन हुने क्षेत्रमा नै केन्द्रित छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्