१६ चैत २०८०, शुक्रबार

स्याङ्जाको ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’

स्याङ्जा । लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयहरुको मुहारमा खुसी छाएको छ ।

खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताए । एक गाग्री पानीका लागि आधा घण्टाको बाटो हिँडेर जानुपर्ने समस्याको समाधान भएको छ ।

गाउँभन्दा झण्डै १ सय ९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट लिफ्टिङ मार्फत गाउँभन्दा माथि रहेको ट्याङ्कीमा सङ्कलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ताराबहादुर थापाले बताए । विसं २०७५ फागुनबाट निर्माण कार्य शुरु भएको उक्त योजना २०७६ असार मसान्तमा सम्पन्न भई शुक्रबारमात्रै उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाद्वारा निर्मित ‘ताप्के खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले एक करोड १८ लाख रुपैयाँ रकम उपलब्ध गराएको थियो । त्यस्तै जनश्रमदान ३३ लाख १४ हजार रुपैयाँ गरी कूल एक करोड ५१ लाख १४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष थापाले बताए ।

उक्त खानेपानी पाइपमार्फत घरघरमा धारा जडान गरी सञ्चालनमा आएसँगै १७० घरधुरीका १ हजार १ सय १ जना बासिन्दा प्रत्यक्ष लाभान्वित भएको आयोजनाका सचिव लक्ष्मी रानाले बताईन् । खानेपानी योजना मर्मतसम्हार तथा संरक्षणका लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने आयोजनाका अध्यक्ष थापाले बताईन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो आयोजनाको उदघाट्न गर्दै विकासका दृष्टिले पछाडि परेका स्थानलाई प्राथमिकतामा राख्दै योजनाहरु सञ्चालन गरिएको बताए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्