राजनीतिक आडमा गुण्डागर्दी

बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी प्रावधान रहीआएको छ । तर बाँकेमा कतिपयले सानका लागि हतियार राख्ने गरेका छन् । कतिपयले पारिवारिक सम्पत्तिका रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स)र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेको प्रहरीले भेट्टाएको छ ।

सुरक्षा खतरा भएको भन्दै बर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का डिलदेखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन् । यहाँको तथ्याङ्क हेर्दा करीब एक हजारभन्दा बढी थान हतियार इजाजत लिएर व्यक्तिगतरूपमा राखेका छन् । यद्यपि अहिले प्रहरीलाई ती वैधानिक इजाजत पत्रधारी हतियार नै सुरक्षाको चुनौती बन्दै गएका छन् । बाँके प्रहरीलाई यस्ता हतियारका वाहक को हुन् ? उनको सम्पर्क नम्बर कति हो ? के गर्छन् ? भन्नेबारे सामान्य जानकारी र चासोसमेत भएको देखिँदैन, त्यसका कारण राजनीतिक दलको संरक्षण र हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने तथा जबर्जस्ती ठेक्का आफ्नो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ ।

काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति पक्राउपछि राजनीतिक आडमा ‘अपराधकर्म’ हुने गरेको तथ्य भेटिएको प्रहरीको दाबी छ । बाँकेमा राजनीतिक दलसम्बद्ध युवादेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्ति संलग्न रहेका प्रहरीले जनाएको छ । 

हतियारको आडमा रु पाँच करोडभन्दा बढीका ठेक्का डिल भएकै विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले गनापुरबाट शाहसहितका छ जनालाई हतियारसहित पक्राउ गरेको थियो । शाह पक्राउ परेपछि भएको प्रहरी अनुसन्धानका क्रममा राजनीतिक आडमा अपराधकर्म हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

बाँकेमा साना तथा ठूला हतियारका आडमा दादागिरी चलेको गुनासो आएपछि प्रहरीले कडा अप्रेशननै चलाएको थियो । सोही क्रममा शाहसहितका व्यक्ति गनापुरको नमस्ते रिसोर्टबाट हतियारसहित पक्राउ परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हतियारको आडमा जिल्लाका विभिन्न क्षेत्रमा गुण्डागर्दी चलेका थुप्रै उजुरी र गुनासा प्रहरीसमक्ष आएका छन् ।

यसैअन्तर्गत सभापति शाहको टोलीले पनि हतियार देखाएर ठेक्कापट्टा हात पार्ने दाउ गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । नगर सभापति भनिने ठेकेदार सन्दीपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साबिक नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालतले तीन÷तीन वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका व्यक्तिसँग सन्दीपजङ्गको उठबस देखिएको छ । उनका अनुसार चेतन हत्याकाण्डमा पनि सन्दीपको समेत नाम जोडिएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शाहीका अनुसार तरुण दलका कोषाध्यक्ष केशर खड्काको विगत बुझ्दै जाँदा थुप्रै आपराधिक घटनामा संलग्न भएका तथ्य भेटिएको छ र अहिले उनीमाथि पनि निगरानी बढाईएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय