१६ चैत २०८०, शुक्रबार

राजनीतिले थलिएका शिक्षालय

राजनीतिले गति समेट्छ । प्रगति देख्छ । उन्नतिको हिसाब राख्छ । गति, उन्नति र प्रगति देखिएन भने त्यो राजनैतिक सिद्धान्त, विचार वा जनमत परिवर्तनतर्फ भड्किन्छ । राजनीति नितीशास्त्र हो । विज्ञानशास्त्र र अर्थशास्त्र अध्ययनशास्त्रसँगै सामान्य प्रशासन पनि हो । राजनीतिक व्यवस्थाले राष्ट्र, जनता, देशको आमूल परिवर्तन र देशको शैक्षिक अवस्थाको ऐना समेत हो । हाम्रो देशको शिक्षा र त्यससँग सम्बन्धित पक्षलाई हेरौँ । राजनीति कस्तो छ भन्ने छर्लङ्ग हुन्छ । विश्वले बुझेका राजनीतिले पुँजीवाद, समाजवाद दुवै पक्षलाई राम्ररी समेटेको छ । जसले आफू अनुकुलको वस्तुनिष्ठ शैक्षिक जगलाई उठाएको देखिन्छ । 

हामीकहाँ हुने राजनीति त्यसको उल्टोपाल्टो छ । शैक्षिक गुणस्तर आफैमा खस्केको छ । अवैज्ञानिक, अव्यवहारिक, वेरोजगार उत्पादनको थलो, त्यसमा पनि नैतिक आचरण विर्गेपनि खोट दोषको हिसाब किताब नराखिने कोरा दिमागको अधुरा जनशक्ति सर्टिफाई गरिरहेको छ । यो शिक्षाले जन्माएको जनशक्ति देशको आमुल परिवर्तनका सवालमा सोच्न भ्याउँदैन । बरु उसको व्यक्तिगत जीवनस्तरमा परिवर्तन खोज्छ । देशको अर्थतन्त्रमा फेरबदल ल्याएन, त्यसको साटो, नेता र नेतृत्वको आर्थिक अवस्था मजबुत बनाउने रहर खोज्छ ।  पारदर्शिता, सुशासनको साटो, भ्रष्ट्राचार, अनियमिततामा राजनीति जोडिएर उदाँगो उभिएको छ । हाम्रो राजनीतिले देशको शैक्षिक जग बलियो बनाएन । त्यसलाई खल्बल्याएर निमोठ्ने कामहरु गरिरह्यो । हामीकहाँ नैतिकताको राजनीति छैन । न्याय र समानता बुझेका राजनीतिज्ञ पनि छैनन् र सिक्ने सिकाउनेहरुपनि सामाजिक शार, तत्व जानेबुझेका पाईदैनन् । 

राजनीति के हो ? कसले गर्ने हो ? किन गर्ने हो ? कहाँ गर्ने हो ? किन गर्ने हो ? कसका लागि गर्ने हो ? राजनीतिले सुख कसलाई दिने ? यस्ता धेरै प्रश्नहरु मगज खल्वल्लिने गरि हल्लिरहेका हुन्छन् । त्यसको खास व्यवस्थापन गर्ने मानसिकता अझै राजनीति गर्नेभन्नेहरुमा कदापि छैन । नेपालमा अहिले ‘राजनीति’ शब्दलाई सकारात्मक भन्दा पनि नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति बढेको छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा जसरी कमी छैन त्यसरी नै अनावश्यक मान्छेहरुले भद्दा राजनीति गरिरहेको हेर्दा, भविष्य विनाको गोरेटोमा राजनीति अल्झेको छ ।  वास्तवमा, स्वच्छ र निस्वार्थ, दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य निर्धारण गर्छ । यो मान्यताको जगमा अहिलेको राजनीति अडिएको पनि छैन ।  अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ । शिक्षाको विकास विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ । आज शिक्षालयहरुमा अनावश्यक राजनीति व्याप्त छ । राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्वाध रुपमा सञ्चालन हुन पाएका छैनन् । यो राजनीति के हो भन्ने नजानेका वा जानेर पनि स्वार्थका घटकहरुको मनोवाद्ले ल्याएको एक सकस हो ।

शिक्षालयमा नैतिकताका पाठ पढाइनुपर्ने हो । नैतिक शिक्षा पढाउने गुरुहरु आफै नैतिकवान चरित्रले ओथप्रोत हुनुपर्ने हो । शिक्षा लिने भन्दा पहिला शिक्षा दिनेहरुको नैतिक आचरण, बानी व्यवहार, बुद्धिमता, धैर्यता, विवेक, समझदारिता, साझेदारिता, एकता यस्ता सवालहरुको बहस र छलफल व्यवहारिक ढंगले हुने स्थान शिक्षालय हुनुपर्ने हो । विडम्बना हाम्रा बीचमा भएका शिक्षालयहरु ति पनि जो सरकारी छन्, त्यहाँ बेढंगको राजनीति मौलाएको छ । आशा र भरोसा गरेका मान्छेहरु कपटपूर्ण खेलको अभ्यासमा व्यस्त छन् ।  भविष्यका कर्णधारका नरम र कलिला मानसिकतामा जबरजस्ती नकारात्मक प्रभावहरु थोपरिदिईन्छ । सही र सत्य आ—आफ्नै दाबीमा ठीकठाक छन् । आफू ठीकठाक भएकाहरु राज्यकोषबाट तलब खाएर विद्यार्थीको भविष्यमाथि खुलेआम खेलवाड गरिदिन्छन् । त्यसलाई सबैले स्यावासी दिनुपर्ने जिम्मा आजको राजनीतिले लिएकोे छ ।  

टाठाबाठाको भूलभुलैयामा विद्यार्थी पनि आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा पनि विभिन्न रुपका आफ्नै भविष्य बिर्गोहरुको छद्म आन्दोलनमा हाम्फाल्ने प्रवृत्तिका छन् । कतिपयलाई वास्तविकताको मर्मबारे छेऊ–पुच्छर थाहा छैन । देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिककर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा खट्किएको छ । हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्धेदृष्टि राखेर च्याँखे थाप्ने प्रवृत्ति हाबी भएको बग्रेल्ती उदाहरणहरु छन । शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु स्वाभाविकै हो । तर राजनीतिलाई समुह वा व्यक्ति स्वार्थसँग टाँसेर तमाम वालवालिकाको भविष्यप्रति उदासिन बन्ने शैक्षिक व्यत्तित्वहरुको राजनीति, लाजको भारी भन्दा केही होईन । त्यो सचेत चिन्तन र मानसिकता विरुद्धको विकार मात्र हो । 

शिक्षक, कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा आवश्यकता र चाहना अनुसार विधिसम्मत बन्नुपर्ने भिन्नै नीति नियमहरु छन् । त्यसको पालना र व्यवस्थापन गर्ने विधिपूर्वक बनेका व्यवस्थापन समितिहरु छन् । उनीहरुपनि आफ्नो सिमाभन्दा माथि उठेर विवाद सिर्जना गरेर त्यही ओहदामा टाँसिइरहनुको औचित्य नैतिक रुपमा हुँदैछन । आज हाम्रा शिक्षालयहरुमा अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? कारण व्यक्ति, गुट, समुह उपसमुहको स्वार्थसँग जोडिएको राजनीति जो कुसंस्कारका रुपमा कलिला कर्णधारहरुको भविष्य निर्माण गर्ने थलोमा निलज्ज दाँई खेलिरहेको छ । शिक्षालयका अभिभावक, शिक्षक, कर्मचारीलाई आफ्नो योग्यता, क्षमता अनुसार दक्षता प्रदर्शन गरी विवेकपूर्ण निर्णयहरु लिनलाई स्वार्थी राजनीतिले प्रभाव पारेको छ । आफैं नीति/नियम बनाउने र त्यसलाई मिचेर काम गर्न विवश पार्ने प्रवृत्ति अपरिपक्व राजनीतिको मात्र दोष होईन । राजनीतिको आडमा शिक्षालय छिरेका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको पनि खोट हो ।  

शिक्षण पेशालाई चरित्रवान बनाउन नसक्नुमा अरु कुनै कारण छैन । निष्ठा, प्रतिष्ठा, उत्तरदायित्व, जवाफदेहिता र नैतिक जिम्मेवारीमा बदलिएको नीच आचरणको प्रभाव हो । शिक्षक पेशागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मुल्याङकन गरिने परिपाटिले, व्यवस्थापन समिति आपूm अनुकुलको रोज्छ, खोज्छ । नीजि स्वार्थका कुरा छाडौं । विद्यालय वर्षको घटीमा २२० दिन खुल्नुपर्ने प्रावधान भएपनि ९० दिन पढाइ भएमा ठूलो उपलब्धि भएको ठान्नु परेको छ । कारण शिक्षालयमा हावी भएको गैह्र राजनीतिक वातावरण र त्यसले थिचोमिचो पारेको निरिह परिणाम जसलाइ स्वीकार गरेको आजको वर्तमान हो । 

राज्यले व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन नगर्नु । राज्य सत्ताको आडमा विधि, नीति र नियममाथि ठाडो नियन्त्रण गरिनु । राजनीतिकर्मी आफ््नो अधिकार र कर्तव्यको अज्ञानतामा बस्नु । शिक्षामा राजनीति गर्ने होइन सब्बैले भन्ने तर राजनीति गर्नपनि नछाड्ने । ‘यार नभन्न यार’ भने जस्तो आजको शिक्षालय राजनीतिकरणको अवस्था छ । जानी–जानी शिक्षालयमा राजनीति गरेर शैक्षिक वातावरण खलबल पार्नेे कुत्सित नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउनु र नियमनकारी निकायले ल्याउन सक्नु पर्दछ । त्यसो नहुनु शिक्षालयका जिम्मेवारहरुलाई भडखारोतिर हाल्नु हो । 

हाम्रा सबै शिक्षालयहरुमा यस्ता गलत हर्कतहरु बेलाबेला ठूला समस्याका रुपमा उचालिदै गएका पाईन्छन् । लामो समयदेखि राजनैतिक कोर्षमा रन्थनिएर थाकेको पश्चिम बागलुङको उत्तरगंगा माध्यमिक विद्यालय जिल्लाकै चर्चित राजनैतिक द्धन्द्धले थिचिएको एक नामुद उदाहरण हो । लामो कालखण्डसम्म आन्तरिक कलहबाट मुक्त हुन नसकेको यो विद्यालय अझैपनि नियमसम्वद्ध ढंगले आफ्नो खास धरातलमा आइसकेको छैन । बर्षौँसम्म विवाद र विवादका कारण अपारदर्शिताको प्रश्नहरुमुनी ओझेलिएकोे छ । विद्यालयमा व्यवस्थापन समिति गठन नभएको धेरै वर्ष भयो ।  विद्यालयले आफ्ना अभिभावकलाई प्रशासकिन पारदर्शिता अझै देखाउन सकिरहेको पाईदैन । सामाजिक परिक्षण विना आन्तरिक ढंगले गरिएका लेखापरीक्षणका कोर्ष कति पानी मुनिको ओभानो होला ? प्रश्नले आफैलाई प्रश्न गर्दागर्दा हैरान छ । यस्तो अवस्थामा प्रशासनले ढुक्क भएर अभिभावकका बीचमा विद्यालयको राम्रो विषय प्रचार कसरी गर्न सक्छ ।

व्यवस्थापन समिति नै नभएको विद्यालयमा व्यवस्थापकीय पक्ष कसरी सक्षम  र सवल होला ? यी तमाम सवालका एउटै कारण शिक्षालयमा घुसेको राजनैतिक क्यान्सर र निको हुन नसकेको दीर्घ रोग हो ।  यसलाई नियमनकारी निकायले जे जस्तो वेथिति भएपनि अंगालो हालेर बसेको छ । बनेका विधि, नीति र नियमलाई आफू अनुकुल परिभाषित गरेर अभिभावकका अधिकार कुण्ठित पारिएको छ । पक्षधरलाई यो तीतो सत्य जस्तो लाग्ला तर विद्यालय पक्ष भएर सौंचौं । प्रश्नहरुले स्वयंलाई गिज्ज्याउने छ । लाज शरमका केही ठाउँ राखिएको रहेछ भने, नग्न जस्तो पनि महसुस हुनेछ । यस्तै रोग यतिवेला बडिगाड गाउँपालिकाको भिमगीठेमा सल्केको देखिन्छ । विद्यालय भित्रैबाट विवाद र विमतिहरु राख्दाराख्दै बाहिरी सर्कलमा समेत शिक्षालयका बदनामहरु प्रचार गरिदैछ । आपसका खिचातानी र मतभेदलाई राजनीतिकरण रंग रोगन दलिंदैछ ।  

स्वार्थका लागि कसलाई के राम्रो, कसलाई के राम्रो आ–आफ्ना ठाउँहरुमा सम्मानजनक तर्क विकर्तहरु होलान तर घर ओदारेर ओढारको वास र महल डडाएर खरमनीको आश गर्नु शिक्षालयमा गरिएको अनावश्यक राजनीति कारण बन्ने छ । हिजोका तमाम उदाहरणहरुबाट पाठ सिकेर बेलैमा उपचार गर्ने संयमता, लचकता, समझदारी र साझेरारी सामाजिक संघ संस्थामा आवश्यक ठान्ने बुद्धिमानहरु सचेत रहनु उचित हुनेछ । नभए स्वयं आफ्नै कारण शिक्षालयमा विकृतिका रुपमा देखापरेका राजनैतिक आचरण, व्यवहार र गतिविधिहरु सकारात्मक हुने छैनन् । आज सवाल जवाफ गर्नेहरु, मेरो र तेरो गर्नेहरु सबै, सधै त्यो शिक्षालयमा रहिरहने अजर अमर होईनन् । नीजी विचार, विचारका तर्क र स्वार्थ समेत विद्यालयका हिसाबले साझा पनि होईनन् । नीजी सवाल बाहिर बसेर पनि गर्न सकिन्छ । भित्र रहेर बाहिरका कुरा नगरे स्वभायमान हुनेछ ।  राम्रो विचारको सम्मानजनक प्रशंसा र नकारात्मक प्रश्नहरुमा अवश्य सबैका विमति होलान । सधै सबैले जित्ने गरी आपसी सहमति, सहकार्य र साझेदारीले नै सामाजिक संघ संस्थाको दीगो विकास हुनेछ । एक्लै कसैले केही गर्नेवाला छैन र हुँदैन ।  शिक्षालय भनेको शिक्षा, चेतना, आचरण नैतिकता सिकाउने, शिक्षित दीक्षित गर्ने थलो हो । बेथिति भित्र्याउने र त्यसलाई प्रोत्साहन गर्ने थलो पक्कै होईन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्