गुल्मीमा मनाइयो १५ औं राष्ट्रिय कफी दिवस

गुल्मी । गुल्मीमा १५ औँ राष्ट्रिय  कफी दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’ भन्ने नारासहित सदरमुकाम तम्घासमा कार्यक्रम गरेर दिवस मनाईएको हो ।

कफीको बोटमा पानी हालेर परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली कार्यक्रमको उद्घाटन गरे । दिवसको अबसरमा प्रथम राष्ट्रिय कफी कपिङ प्रतियोगिता पनि सम्पन्न भएको छ । १३ वटा जिल्लाका १५ वटा स्याम्पल रहेको प्रतियोगिहरु मध्येबाट प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्कृत गरिएको थियो । 

कफि खेतीको ईतिहास

वि.स.१९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरे पश्चात नेपालमा कफी खेती सुरुवात भएको पाईन्छ । यस वर्षमा नेपालमै पहिलो पटक कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमै केन्द्रिय कार्यक्रम राखेर कार्यक्रम गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले धरातल अनलाईनलाई बताए । 

गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । स्याङ्जामा ३ सय २४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । स्याङजा पश्चात काभ्रे र नुवाकोटमा बढी कफी खेती गरिने खनालले जानकारी दिए । 

बोर्डले गरेको अध्ययनले नेपाल भर करिब ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने निश्कर्ष निकालेको थियो । त्यसमध्ये ६१ हजार २ सय २८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए । नेपाल भर हाल २ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ । 

यसवर्ष ५ सय ३० मेट्रिक टन कफि उत्पादन

नेपालबाट ०७५/०७६ मा ५ सय ३० मेट्रिक टन कफि उत्पादन भएकोमा ८४ दशमलव १३ मेट्रिक टन निर्यात भएको तथ्याङकमा उल्लेख छ । नेपालबाट निर्यात भएको कफीबाट झण्डै ९ करोड ९६ लाख मुल्य स्वदेश भित्रिएको छ । 
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले पनि गुल्मी, अघाखाँची, प्युठान, पाल्पा र स्याङजा जिल्लालाई कफी सुपर जोनको रुपमा विकास गरी कफीमा व्यवसायिकता बढाउने प्रयास गरेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले जनाएको छ ।

कफि उत्पादनको हिसाबले स्याङजा पहिलो स्थानमा रहेको पाइएको छ । यहाँ बार्षिक ४६ मेट्रिक टन कफि उत्पादन हुने गरेको छ । नुवाकोटमा ३८ मेट्रिक टन र गुल्मीमा ३७ मेट्रिक टन कफि उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।

कफी खेतीमा संलग्न किसानहरुको आधारमा भने कास्की प्रथम, गुल्मी द्धितिय र काभ्रे तेस्रो स्थानमा छन । गुल्मी १ सय ७८ हेक्टर जमिनमा कफि खेती गरिँदै आएको छ । गुल्मीको आपचौर र भण्डारी डाँडामा बिशेष गरी कफी खेती हुँदै आएको छ । 

गवारो रोगको रोकथामको प्रयास

कफी खेती गर्ने किसानहरुलाई कफीका बोटमा सेतो गवारो रोगले सताउने गरेको सन्र्दभमा सेतो गवारो रोगबाट कफीका बोटहरुलाई बचाउनका लागि बिभिन्न उपचारात्मक कार्यहरु गर्न लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कफी जोन गुल्मीका प्रमुख उमानाथ भण्डारीले बताए । 

गुल्मीमा कफी सम्बन्धी बिभिन्न परिक्षण एवम् अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम पनि राखिएको छ । जिल्लाको रुरु गाउँपालिकाको वडा नम्बर–४ बलेटक्सारको भण्डारी डाँडामा  कफी अनुसन्धान कार्यालय समेत स्थापना भएको छ । कार्यक्रम मार्फत  कफी सम्बन्धी अनुसन्धान, जात परिक्षण, रोग कीरा सम्बन्धी अनुसन्धान हुँदै आएको छ ।
 
कफीको नयाँ मुल्य कायम 

कफी दिवसको अवसर पारेर मंसिर १ गते आईतबारदेखि लागु हुने गरी कफीको कच्चा पदार्थको मुल्य तोकिएको छ । फ्रेस चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी रु ८५ रुपैयाँ, पार्चमेन्ट कफी ग्रेड ‘ए’ प्रतिकेजी रु ४ सय २५ रुपैयाँ र ग्रेड ‘बि’ प्रतिकेजी रु ३ सय ७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ड्राइ चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी रु १ सय ४० रुपैयाँ र ग्रेड ‘बि’ प्रतिकेजी रु ९० रुपैयाँ तोकिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय